स्वर्गीय सुब्बाको राजनीतिक यात्रा

|

सुनसरी : पार्टी र जनता माझ सरल, प्रतिवद्ध र स्वाभिमानी नेताका रूपमा परिचित धरान उपमहानगररपालिकाका प्रमुख तारा सुब्बा ५२ वर्षअघि तेह्रथुममा जन्मिएका हुन्। गत वर्षको स्थानीय तहको निर्वाचनमा उपमहानगरको प्रमुखमा निर्वाचित भएपछि-'जनताले विश्वास गरेर विजयी गराए, यो मेरो र पार्टीको मात्र होइन सम्पूर्ण धराने जनताको जीत हो।' सुब्बाले आफ्नो पाँचवर्षे कार्यकालमा धरानलार्इ नमूना उपमहानगरपालिका बनाउने गरी काम गर्ने अठोटसमेत लिएका थिए।

सुब्बा विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय थिए। उनी १३ वर्षको कलिलो उमेरमै पञ्चायती व्यवस्थाको विरोधमा विद्यार्थी आन्दोलनमा होमिए। उनी झापाको गोलधापमा अध्ययन गर्न झर्दाताका पञ्चायत व्यवस्थाविरूद्ध आवाज बुलन्द बन्दै थियो। उनी पनि यस आन्दोलनमा सक्रिय भएर नेपालमा प्रजातन्त्र पुन: बाहली गर्ने अभियानमा सरिक भए।

झापाबाट विसं २०३७ सालमा थप अध्ययन गर्न धरान हानिएका सुब्बा अन्तत धरानको स्थायी वासिन्दा भए। धरानमा रहँदा कम्युनस्ट राजनीतिमा सक्रिय रहेका सुब्बाले २०४६ तथा २०६२–०६३ को जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

विस २०४० सालमै अनेरास्वयवियु नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि युवा संघको राजनीतिमा प्रवेश गरेका थिए। युवा संघकको नगर कमिटीपछि जिल्ला कमिटी संयोजक हुँदै दुर्इपटक जिल्ला अध्यक्ष मात्र भएन दुर्इपटक नै केन्द्रीय सदस्य पनि बने।

विस २०४८ सालदेखि एमालेको धरान नगर कमिटी सदस्य बनेका सुब्बा त्यसयता निरन्तर नगर कमिटीमा रहेर जिम्मेवारी सम्हालेका थिए। २०६२/०६३ को जनआन्दोलनपछि सचिवको कार्यकारी पद सम्हालेका उनी पार्टीमा नगर सदस्य हुँदै उपसचिव, कार्यवाहक सचिव, सचिव हुँदै तेस्रो पटक धरान नगर अध्यक्ष बने।

विस २०५१ सालमा सुब्बाले खेलकुद विकास समिति सुनसरीमा कार्यकारी पद सचिवमा नियुक्ती पाएका थिए। त्यो बेला नेकपा एमालेले स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाएको बेला उनले नियुत्ति पाएका थिए।

विस २०५४ सालको स्थानीय चुनावमा धरान वडा नम्बर १७ मा वडा सदस्य जितेर तत्कालीन जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट सदस्यमा चुनिएका थिए। गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा सुब्बाले कांग्रेसका उम्मेदवार तिलक राईलाई चार हजारभन्दा बढी मतले पराजित गर्दै धरानको मेयरमा जीत हात पारेका थिए। धरान ११ मंगलबारे चोकमा बस्दै आएका सुब्बाको श्रीमती र एक छोरा रहेका छन्।

धरान उपमहानगरपालिकाका मेयरको निधन 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.