डाक्टर केसीका मागलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

|

काठमाडौं  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरू तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कामा नेता गौतमले अनशनरत डाक्टर केसीलाई कांग्रेसको कार्यकर्ताका रूपमा परिभाषित गरेर सरकारले गल्ती गरेको भन्दै तत्काल उनको जीवन रक्षा गर्न समेत माग गरे। 

नेकपाका नेताहरूले व्यक्त गरेका विचारले सरकार कति जिम्मेवार छ र नेकपाका नेताहरूमा दुई तिहाईको दम्भ कति रहेछ? भनेर जान्न सकिने उनको धारणा छ। ‘कुरा सुन्दा पनि हाँसो उठ्छ। स्वास्थ्य र शिक्षा जस्तो महत्वपूर्ण क्षेत्र सबल, राम्रो र गुणस्तरीय हुनुपर्छ भनेर डाक्टर केसीजस्तो सादगी व्यक्तिले सत्याग्रहको माध्ययमबाट आवाज उठाउनुलाई कुनै दलसँग जोडेर हेर्न मिल्छ?’ उनले थपे, ‘सरकारले कांग्रेसलाई केही नपाएर केसीलाई बोकेको छ। उचालेको छ जस्ता आरोप लगाउँदै आएको छ। माथेमा प्रतिवेदनको आधारमा संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयकका बारेमा कांग्रेस सहमत छ। माथेमा प्रतिवेदन तयार पार्ने विज्ञ व्यक्तिको सुझावलाई कांग्रेसले मानेको हो। कुनै व्यक्तिलाई बोकेर राजनीति गर्नुपर्ने स्थिति कांग्रेसको छैन।’

केसीको जारी १५ औं पटकको अनशन समाज र देशकै लागि भएको भन्दै सरकारले यस्ता सामाजिक अभियन्ताको जीवन रक्षा गर्नुपर्ने धारणा राखेका नेता गौतमले सरकार अपारदर्शी रुपमा अघि बढेको आरोप समेत लगाए। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भीर रहेको स्पष्ट पारेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेर गल्ती गरेको आरोप पनि लगाए। उनले भने, ‘कांग्रेसले बिरोध सूचना पनि हाल्ने, प्रतिस्थापन विधेयकका बारेमा निर्णय पनि चाहियो भन्ने? कसरी कुरा मिल्छ? स्वास्थ्यमन्त्री संसदमा बोल्न नपाउने कसरी मागहरू पूरा हुन्छन्?

गोविन्द केसीले उठाउनु भएका मागहरूप्रति सबै सकारात्मक छन्। केही मागहरूमा केही असहमति रहेका छन्। ती मागहरू र चिकित्सा शिक्षा विधेयकलाई छलफलको माध्यममा लैजानुपर्छ र सुरुमा उनको ज्यान बचाउनु पर्छ।’ उनले अघि थपे, ‘ससदमा विधेयक लैजाने हो र मतदान गर्ने हो भने पनि परिणाम फरक आउँछ। त्यो भन्दा विज्ञहरूको सुझाव र डा. केसीले उठाएका मागहरूलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ। प्रत्येक प्रदेशमा एउटा शिक्षण अस्पताल खोलिनुपर्ने कानुनमै व्यवस्था छ। दुई-दुई वटा खोल्दा केही फरक पर्दैन। तर स्वास्थ्य क्षेत्र पूर्णतः जनताको हितमा हुनुपर्छ।’

भौगोलिक स्थितिलाई मात्रै आधार मानेर मेडिकल कलेज खोल्न नहुनेमा उनले जोड दिएका छन्। उनले भने, ‘मेडिकल केलज खोल्दा भूगोललाई मात्रै ध्यान दिएर हुँदैन, जनसंख्या पनि मुख्य कुरा हो। काठमाडौंमा १० वर्ष पहिले र आजको जनसंख्या एउटै छैन। सबै कुराहरूलाई ध्यानमा राखेर मेडिकल कलेज खोल्नुपर्छ। स्वास्थ्योपचार निःशुल्क हुनुपर्छ। नेतालाई मात्रै सुविधा दिने र गरिव जनताले उपचार नपाएर मर्नुपर्ने स्थिति हुनु हुँदैन।’

केसीका मागहरू पूरा हुनै पर्छन्, केही मागहरू विचार गर्नुपर्ने हुन्छ : अनिल झा 

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन्। उनले भने,‘हाम्रो पार्टीले केही समय अघि नै केसीको सत्याग्रहका बारेमा सरकार गम्भीर बन्नुपर्छ। सरकारले सत्याग्रहलाई सम्मान गर्नुपर्छ भनेको थियो। यति भन्दैमा केसीका सबै मागहरू जायज छन्। र उनले भनेकै आधार सबै हुनुपर्छ भन्न खोजिएको पनि होइन। संसद छ,सरकार छ। उहाँले उठाएका जायज मागहरू पूरा हुनैपर्छ। केही मागहरूका बारेमा विचार गर्नुपर्ने हुन्छ। हाम्रो लाइन स्पष्ट छ।’

नेपालमा एमबिबिएसको गुणस्तरीय पढाई सञ्चालन गर्न सकेको खण्डमा विदेशबाट विद्यार्थी पढ्न आउने नेता झाको दाबी थियो। उनले भने, ‘मित्र राष्ट्र भारतमा धेरै देशबाट पढ्न आउँछन्। दुबइमा स्वास्थ्य शिक्षाको लागि कत्रा कत्रा योजनाहरू अघि बढाएका छन्। हाम्रो देशमा मेडिकल कलेज बन्द गर्नुपर्छ भन्ने हुँदैन। केही पात्रको नामले पाउने केही पात्र नभएकै कारण नपाउने हुनु हुँदैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.