|

भद्रपुर (झापा) : वर्षेनी झापाका नदी तथा खोलाले मानवीय तथा भौतिक क्षति पुर्‍याएको भन्दै यसको नियन्त्रण तथा रोकथाम अध्ययनका लागि चीनबाट ७ सदस्यीय प्राविधिक टोली झापा आइ पुगेकाे छ। मंगलबार चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीअन्तर्गत नेपालका प्राविधिक विज्ञ मिस्टर याउसहितको टोली झापा आएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिएका छन्।

प्रमुख पोर्तेलका अनुसार चीनबाट आएकाे टोली र नेपालका तर्फबाट सिँचाइ मन्त्रालय, जल उत्पन्न प्रकोप, जनताको तटबन्धनका इन्जिनियरसहितको टोलीले झापामा दुईसाता बसेर ९ वटा नदीको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्ने छ। छिमेकी राष्ट्र भारतको सीमावर्ती नाका छोएको मेची नदीवाहेक झापाको निन्दा, हडिया, बिरिङ, माई, कमल, कृष्णे, रतुवा, मावा र सतासी नदीको अध्ययन गर्ने उनले बताए।

झापाको समृद्धि र विकाससँगै नदी तथा खोलालाई व्यवस्थित बनाउन नसक्दा वर्षेनी जनधनको ठूलो क्षति पुग्ने गरेका विषयमा गत फागुन २७ गते जिल्ला समन्वय समिति झापा र सांसदसहितको टोली काठमाडौं पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए। बालुवाटरस्थित प्रधानमन्त्री केपी ओली शर्मासँगको भेटवार्तामा झापाको समग्र विषयवस्तु उत्थान गर्दै नदी नियन्त्रणका बारेमा समेत जानकारी गराएको थियो। यस बिषयमा जानकारी गराएपछि प्रधानमन्त्री चीन भ्रमणमा गएको बेला असार ६ गते सिँचाइ मन्त्रालाय र चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीबीच झापाका नदीको अध्ययनका बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

‘चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीले झापाको नदीको विषयमा चासो देखाउँदै सम्झौतापत्रमा हस्ताक्षर गरेपछि टोली झापा आएकाे हाे,’ जिसस प्रमुख पोर्तेलले भने, ‘यस टोलीले ९ वटा नदीको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन तयार पार्छ। यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ। त्यसपछि मात्र थाहा हुन्छ।’ 

टोलीलाई भव्य स्वागत

चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीअन्तर्गत नेपालका प्राविधिक विज्ञ मिस्टर याउसहितको ७ सदस्यीय टोलीलाई झापामा भव्य स्वागत गरिएको छ। सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, जनप्रतिनिधि, कर्मचारी लगायतले भद्रपुर विमानस्थलमा भव्य स्वागत गरेका हुन्। विमानस्थलमा स्वागत पश्चात भद्रपुरस्थित जिससको सभाकक्षमा उनीहरूसँग झापाका जनप्रतिनिधिले संक्षिप्त परिचायात्मक कार्यक्रम समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.