|

तनहुँ : चिकित्सा क्षेत्रको सुधारका लागि १५औँ पटक अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै तनहुँका युवा सडकमा उत्रिएका छन्। डेमोक्रेटिक युथ एलायन्स नेपालको नेतृत्वमा “स्वास्थ्य हाम्रो अधिकार, प्रजातान्त्रिक पद्धतिको पुकार” भन्ने नाराका साथ डा. केसीको जीवनरक्षाको माग गर्दै युवाहरू सडकमा उत्रिएका हुन्।

डा. केसीको जीवनरक्षा गर, माथेमा आयोगको सिफारिस लागू गर, माफियामुखी ऐन चाहिँदैन, नेपाल सरकारको मिसन सिटामोलमा कमिसन, नागरिक स्वतन्त्रताको सम्मान गरौँ, ओली सरकार लोकतन्त्र कि जोकतन्त्र, माथेमा प्रतिवेदन लागू गर, नेकपाको सत्ता चिकित्सा ऐन वेपत्ता, उठ जनता अति भो, चुप बस्दा क्षति भो, म डा. केसीको ज्यान स्टप मि इनफो क्यान लगायतका नारा र प्लेकार्डसहित दमौलीको अनसन चौतारीबाट सुरु भएको र्‍याली मुख्य चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

डेमोक्रेटिक युथ एलायन्स नेपालका अध्यक्ष सुन्दरमणि अधिकारीको सभापतित्वमा आयोजित कोणसभामा शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खले, दमौली अस्पतालका डा. राजेन्द्र झा, संस्थाका सल्लाहकारहरू सरोज भण्डारी र रमेशबाबु भट्टराई लगायतले डा. केसीका मागहरू जनतामुखी रहेको भन्दै यथाशिघ्र सम्बोधन गर्न सरकारलाई दबाब दिएका थिए।

उनीहरूले डा.केसीको माग विश्लेषणात्मक भएको भन्दै उनको स्वास्थ्यसँग खेलवाड नगरी वार्ता गरेर निष्ठाको राजनीति गर्न अनुरोधसमेत गरेका थिए। डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएकाले उनको मागको यथाशिघ्र सम्बोधन नभए थप आन्दोलन चर्काउने चेतावनीसमेत दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.