कर्मचारी हाजिरी विवाद नगरसभासम्म

|

दैलेख : नारायण नगरपालिका दैलेखले दोस्रो नगरसभा सम्पन्न भएको छ। नगरपालिकाको आर्थिक सामाजिक, पूर्वाधार र पर्यटन पवर्द्धनलगायतका विषयमा ४५ करोड सात लाख ४३ हजार रकमको बजेट नगरसभाबाट पारित गरिएको छ। नगरसभाका अध्यक्ष एवं नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले सभामा बजेटको जानकारी गराएका हुन्।

प्रस्तुत बजेट अनुसार पूर्वाधारतर्फ चार करोड ८२ लाख, आर्थिक विकासका लागि दुर्इ करोड ६५ लाख, सामाजिक विकासका लागि दुर्इ करोड २० लाख, वन तथा वातावरणतर्फ एक करोड २५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ एक करोड २५ लाख रकम विनियोजन गरिएको छ।

बजेटमा संघबाट प्राप्त हुने सशर्त अनुदान भनेर १९ करोड ५४ लाख वित्तीय समानीकरण एक करोड ८२ लाख, राजश्व बाँडफाँडबाट प्राप्त रकम छ करोड ६६ लाख, सामाजिक सुरक्षा भत्ता तीन करोड ८० लाख, प्रदेशबाट प्राप्त वित्तीय समानीकरण ५२ लाख, राजश्व बाँडफाँडअन्तर्गत १२ लाख ८४ हजार, आन्तरिक आम्दानी एक करोड, सडक बोर्ड नेपालबाट ४५ लाख र बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत १४ लाख ६७ हजार बजेट प्राप्त हुने कुरा उल्लेख गरिएको छ। कुल बजेट मध्ये प्रशासनीक खर्चतर्फ आठ करोड ९६ लाख पुँजीगत खर्च १२ करोड १७ लाख विनियोजन गरिएको छ।

कर्मचारी हाजिर नगराएको भन्दै कांग्रेस निटक विजयी नगर सदस्यद्वारा सभा बहिष्कार

जिल्ला समन्वय समिति दैलेखले पत्राचार गरेर नारायण नगरपालिकामा हाजिर हुन पठाएका करार कर्मचारीको बारेमा चुलिएको विवादले नगरसभासम्म असर गरेको छ। नेपाली कांग्रेस निकट विजयी नगरसभाका सदस्यहरूले सभाबाट असहमती जनाउँदै बाहिरिएका छन्। जिल्ला समन्वय समितिमा पत्र आए पनि खम्बिरा केसीलाई हाजिरी नगराएको भन्दै सभा बहिष्कार गर्नुपरेको वडा नं. ७ का वडा अध्यक्ष पूर्णबहादुर मल्लले जानकारी दिएका छन्।

जिल्ला समन्वय समितिमा चारवटाभन्दा धेरै दरवन्दी नहुने पत्र आएपछि समन्वय समितिले नारायण नगरपालिका र अन्य स्थानीय तहमा पत्र लेखेर कर्मचारी हाजिरी गराउन जानकारी दिएको थियो। जसअनुसार पदम सापकोटालाई नौमुले गाउँपालिका, विष्णु शर्मा न्यौपानेलाई ढुगेश्वर गाउँपालिका र दीर्घ थापा, प्रेम कोइराला र खम्बिरा केसीलाई नारायण नगरपालिकामा पठाइएको थियो। तीनैजना कर्मचारीलाई तीन/तीन महिनामा करार म्याद थप गरेर लामो समयदेखि हाजिरी गराउँदै आइएको जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले जानकारी दिएका छन्।

जिल्ला समन्वयमार्फत ढुंगेश्वरमा खटाइएका विष्णु शर्मा न्यौपाने र नारायण नगरपालिकामा खटिएकी खम्बिरा केसीको हाजिरी १ गतेदेखि गर्ने सहमती भएको थियो। नगरसभा अगावै हाजिरी हुनुपर्ने अडान कांग्रेसका विजयी सदस्यले लिएका थिए।

असार ३२ गतेभित्र अनिवार्य नगरसभा गर्नुपर्ने अवस्था आएपछि सभा संचालन गर्नुपरेको नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिए। उनले भने 'विवाद ठूलो होइन हामी सहमतिकै आधारमा अगाडी बढ्छौं बजेट पारित गरिसकेका छौं' सबैले सहयोग गरेर नारायण नगरपालिकालाई समृद्धितर्फ लैजानुपर्ने सुझाव दिएको खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.