|

बागलुङ : अविरल वर्षाका कारण बागलुङको जनजीवन प्रभावीत भएको छ। मंगलबारदेखि परेको वर्षाका कारण बागलुङ सदरमुकामदेखि ग्रामीण भेगमा चल्ने सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् भने पश्चिम बागलुङको बुर्तिबाङमा बाढीले वितण्डा मच्चाएको छ। 

पहिरोका कारण मध्यपहाडी लोकमार्ग, कालिगण्डकी कोरीडोरलगायतका स्थानीय सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कर्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराज सिंह थापाले बताए। सदरमुकामदेखि पश्चिम क्षेत्रलाई जोड्नेमध्ये पहाडी लोक मार्गको ठाउँ-ठाउँमा पहिरो खसेको छ भने जिल्ला सदरमुकामदेखि दक्षिण क्षेत्र जोडिने कालिगण्डकी करिडार पनि पहिरोका कारण अवरुद्ध छ।

 सडकहरूमा पहिरो खसेका कारण सडक अवरुद्ध भएपछि जिल्लामा रहेका नौ वटा स्थानीय तह सदरमुकामसँग सडक सम्पर्क टुटेको थापाले बताए। वर्षासँगै आएको पहिरोले ढोरपाटन नगरपालिका २ मा एक घर पुरेको छ। घर माथिबाट आएको पहिरोले घर पुर्दा लाखौंको धनमाल क्षति भए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए।

उनका अनुसार बाढी र पहिरोका कारण बुर्तिबाङ बजारमा त्रसित बनेको छ। ‘बजार क्षेत्रमा बाढी पसेर वितण्डा मच्चाएको छ’ यादवले भने ‘नजिकैको खहरे खोलाको बाढी व्यवस्थापनमा जुटेका छौँ।’ यस्तै  जिल्लाको ढोरपाटन नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा मंगलबार बाढी पसेर क्षति पुर्‍याएको छ। अविरल वर्षासँगै नजिकैको खोलामा आएको बाढी स्वास्थ्य केन्द्रको निर्माणाधीन भवनमा पसेको केन्द्र प्रमुख डाक्टर मिलन मल्लले बताए। 

निर्माणाधीन भवनमा पसेको बढीसँगै आएको लेदोले नियमित स्वास्थ्य सेवामा केन्द्रले प्रयोग गर्दै आएका सबै सामग्री पुरेको छ। भवनको तल्लो तल्ला बाढीसँगै आएको लेदोका कारण भरिएको मल्लले बताए। स्वास्थ्य केन्द्र पुरिएपछि बहिरंग बुधबारदेखि त्रिपालमुनि सेवा सञ्चालन गर्नुपर्ने अवस्था छ’ मल्लले भने, ‘क्षतिको विषयमा अझै एकिन भएको छैन तर क्षति ठूलै भयो।’ बाढी पस्ने क्रममा उक्त भवनभित्र कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.