|

काठमाडौं : नेपाली कांग्रेसले संघीय संसदसँगै सातै प्रदेशको संसद अवरुद्ध गर्ने निर्णय गरेको छ। बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकार संविधानविपरीत अघि बढेको भन्दे संघीय संसदसँगै सबै प्रदेशको संसद अवरुद्ध गर्ने निर्णय गरेको हो।

डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सडक तथा सदनबाट आन्दोलन चर्काउने निर्णय गरेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए।  उनले भने,‘डा.केसीको माग पूरा गर्न मन्त्री स्तरकै वर्ता टोली गठन गर्नुपर्छ भन्ने हाम्रो माग हो। यसका लागि हामीले सरकारलाई दबाब दिने निर्णय गर्‍यौँ।’

यस्तै बिहीबार बस्ने संघीय संसदको बैठकमा सरकारले चिकित्सा शिक्षा विद्ययेक पेश गर्ने तयारी गरेको छ। यसको विरुद्धमा कांग्रेसले बैठक अवरुद्ध गर्ने  निर्णय गरेको उनले बताए। नेता केसीले सरकारले एउटै पार्टीको सभामुख र उपसभामुख बनाएर संविधान मिचिरहेको भन्दै यसको विरोधमा उत्रने निर्णय गरेको जानकारी दिए।

‘संविधानमा एउटा पार्टीको सभामुख र एउटा पार्टीको उपसभामुख हुनुपर्छ भन्ने उल्लेख छ’, उनले भने,‘अहिलेको सरकारले दुवै जनाले पार्टीबाट राजीनामा दिएको भन्दै टारिरहेको छ। हाम्रा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभामुख हुनुभएको हो। त्यसबेला राजनीनामा दिनुभयो। अहिले पार्टीमा हुनुहुन्छ। सुवास नेम्बाङले पनि राजीनामा दिनुभएको अहिले नेकपामा नेता हुनुहुन्छ।’

यसरी सभामुख र उपसभामुखको विरोध गर्दै गर्दा आफूहरूले पदको लोभ नगरेको बताए। उनले भने, ‘सभामुख र उपसभामुख संविधानअनुसार छुट्टै पार्टीको हुनुपर्छ भन्ने हो। त्यसको अर्थ हामीले नै पाउनुपर्छ भन्ने होइन। हामीलाई पदको लोभ छैन।’ त्यसकै विरोधमा कांग्रेसले संघीयसँगै सबै प्रदेशको संसद अवरुद्ध गर्ने निर्णय गरेको हो।

यस्तै, पार्टीको विधान परिमार्जनका लागि मस्यौदा समिति निर्माण गर्नसमेत सहमति भएको छ। त्यसकालागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले नाम पठाउन समेत आग्रह गरेका छन्। देउवा ६ गते स्वास्थ्य उपचारका लागि विदेश जाँदैछन्। त्योभन्दा अघि नै मस्यौदा समिति निर्माण गर्ने देउवको तयारी छ। बिहीबार आफ्नो समूहबाट समितिमा बस्नेको नाम दिन वरिष्ठ नेता पौडेल सहमत भएका छन्। स्रोतका अनुसार मस्यौदा समिति ९ सदस्य बनाउने बुधबारको छलफलमा सहमति भएको छ। जसमा संयोजकसहित पाँच जना देउवा समूहबाट र चार जना पौडेल– कृष्णप्रसाद सिटौला समूहबाट रहने छन्।

यस्तै, पार्टीको भ्रातृ संगठनमा पनि विवाद छ। विद्यार्थीहरूको संगठन नेपाल विद्यार्थी संघ अहिले दुई नेताले चलाएका छन्। देउवा समूहबाट नेविसंघका अध्यक्ष नैनसिंह महर र पौडेल समूहबाट महामन्त्री कुन्दन राज काफ्लेले नेविसंघबीच विवाद हुँदा नेपाली विद्यार्थी संघले काम गर्न सकेको छैन। अध्यक्ष महरले विधानविपरीत संगठन चलाएको भन्दै विरोध गर्दै आएको छ। नेपाल विद्यार्थी संघमा देखिएको विवाद समाधानमा नेतृत्वले पहल सुरु गर्ने सहमति भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

यस्तै, अब पार्टीलाई सहमतिमा चलाउनका लागि सभापति सहमत भएको नेता केसीले बताए। ‘सभापति अब विधानअनुसार चल्न सहमत हुनु भएको छ’, उनले भने,‘विधानले ताकेअनुसार सहमतिबाट अघि बढ्ने सभापतिको आश्वासन कतिको कार्यान्वयन हुन्छ त्यो हेर्नैपर्छ। फेरि बैठक बसेर यी विषय टुंगो लगाउने सहमति भएको छ।’

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्रीद्वय डा.शशांक कोइराला, पूर्णबहादुर खड्का, नेता अर्जुननरसिंह केसी, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, प्रवक्ता विश्वप्रकाश शर्मालगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.