|

कालिकोट : कर्णालीका हिमाली जिल्लाहरूमा औलो र कालाजारका बिरामी भेटिन थालेका छन्। लामखुट्टेको टोकाइका कारणले लाग्ने कालाजार र औलो रोगका बिरामीहरू हिमाली जिल्लाहरूमा भेटिन थालेका हुन्।

जलवायु परिवर्तनका कारणले हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरूमा औलो र कालाजारका बिरामी देखिन थालेका छन्। केही समय अगाडि मुगुको खत्याड गाउँपालिका- ८ र १० रिगागाउँमा औलोका रोगी भेटिएका थिए।

मुगुको खत्याड गाउँपालिकाको रिगागाउँमा औलो रोग फैलिएको ठाउँमा उपचारका लागि पुगेका इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाशाखा कोठमाडौंका भेक्टर कन्ट्रोल अधिकृत उत्तमराज प्याकुरेलले लामखुट्टे कारणले औलो रोग फैलिएको बताए। ‘औलो रोग लामखुट्टेका कारणले नै सर्छ’ उनले भने, ‘नेपालमा ७० जातिका लामुखट्टेले औलो रोग सार्ने गरेको छन्। मुगुमा पनि त्यही लामखुट्टेमा तीन प्रकारका पाइएका छन्।’

मुगुमा एनोफिलिज एनुलारिज, एनोफिलिज म्याकुलेट्स र एनोफिलिज क्वाड्रिम्याकुलेट्स नामक पोथी लामखुट्टे त्यहीँ हुर्किन थालेको र तिनै लामखुट्टेको टोकाइबाट औलो रोग लागेको प्याकुरेलले बताए। ‘मुगुका रिगा गाउँ आसपासका बस्तीमा यी लामखुट्टे हुर्किरहेका छन्’ उनले भने, ‘हिमाली जिल्लाहरूमा तापक्रम वृद्धि हुँदै गएको फोहोर पनि बढ्दै गएका कारणले सहजै लामखुट्टे पाइन थालेका छन्।’

लामखुट्टेहरू हिमाली जिल्लामा हुकर्दै गएका कारणले कालिकोटमा जेठ महिनामा एकजना बिरामीमा कालाजार भेटिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

जेठ महिनामा एकजना कालाजारको लक्षण जस्तो देखिने बिरामी जिल्ला अस्पताल कालिकोटमा उपचारका लागि आएको र उनलाई थप उपचारका सुर्खेत क्षेत्रीय अस्पतालका पठाएको जिल्ला अस्पताल विकास समिति कालिकोटका अध्यक्ष कृष्णबहादुर सिंहले बताए। ‘जेठ महिनामा कालाजारकै जस्तै लक्षण देखिने बिरामी जिल्ला अस्पताल कालिकोटका उपचारका लागि आएका थिए’ उनले भने, ‘विषेश गरेर तराईमा मात्र देखिने कालाजार हिमाली जिल्लामा समेत देखिन थालेका छ।’

पहिला पहिला तराई र पहाडका जिल्लाहरूमा देखिने औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लाहरूमा देखिन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.