|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेलाई नचिन्ने सायदै होलान्। कांग्रेस नेतृत्वको कार्यशैलीप्रति खरो आलोचना गर्नेमध्येका एक हुन् उनी। उनलाई नेताको रूपमा सबैले चिन्छन् तर उनी साहित्यकार पनि हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ। उनी एउटा राम्रो कवि, कथाकार तथा निबन्धकार हुन्। उनको कवितासंग्रहसहित चार पुस्तक प्रकाशन भइसकेका छन्। उनका दुई विचारसंग्रह, एक कवितासंग्रह र एक अनुभूति प्रकाशित छन्।

राजनीतिमा लागेका केही फरक प्रतिभा भएकाहरू छन्, तीमध्ये घिमिरे पनि एक हुन्। उनी साहित्य लेखनमा निकै रुचि राख्छन् तर समय अभावका कारण सहित्यलाई चाहेजस्तो समय दिन सकेका छैनन्। त्यस कारण पनि राजनीतिमा जति चर्चित छन् उनी, त्यति साहित्य क्षेत्रमा चर्चित हुन सकेका छैनन्। २०५४ सालताकादेखि नै उनी कविता लेख्दै आएका थिए। तर त्यस समयमा उनले कवितासंग्रह प्रकाशन गर्न सकेनन्। त्यस समयदेखि लेख्दै आएको कवितालाई उनले २०७० सालमा आएर छाप्न सफल भए।

उनले संगृहीत गरेको पुस्तकलाई ‘प्रतिज्ञाको पहाड’ नाम दिएर साझा प्रकाशनले बजारमा ल्यायो। उक्त संग्रहमा ४३ वटा कविता समावेश गरिएको छ। उनी राजनीतिक व्यक्तित्व भएका कारण पनि साहित्यमा राजनीतिका विषय समावेश नहुने कुरै भएन। उक्त आफ्ना कवितामा पनि त्यसबेला भएका राजनीतिक परिवेश, प्रकृतिको बयान, मानिसका दुःख र पीडालाई पनि विषय बनाएका छन्।

त्यही समयमा नेपालमा ऐतिहासिक दोस्रो जनआन्दोलन भयो। यसले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो। यो विषयलाई उनले कवितामार्फत् बाहिर ल्याएका छन्। यस्तै, उनका दुई विचारसंग्रह ‘राजनीतिमा नैतिकता’, ‘लक्ष्य, यात्रा र गन्तव्य'मा पनि उनले राजनीतिक परिघटनालाई समावेश गरेका छन्। उनमा राजनीतिक चेत आएयता विभिन्न समयमा त्यस समयको राजनीतिक परिवेशलाई समावेश गरेर लेखेका लेखहरूलाई समावेश गरेर पुस्तक प्रकाशन गरेका हुन्।

उनको अर्को अनुभूतिसंग्रह छ, ‘बन्दी जीवनका अनुभूति।’ २०६२ सालमा राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी पनि जेल परे। विराटनगरको जेलमा चार महिना १६ दिन बिताए। त्यस समय उनले बन्दी हुँदा भोगेका पीडा, यातना र त्यसबेलाका दैनिकीलाई पुस्तकमा लेखे।

हुनत धेरै नेताहरू जेलमा बस्दा नै साहित्यकार भएका छन्। कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले पनि अधिकांश सिर्जनाहरू जेल जीवनका क्रममा लेखेका छन्। त्यस समयमा सिर्जना गरेका कृतिहरू निकै चर्चित पनि छन्। ‘बन्दी जीवन बिताउँदा लेख्नलाई पर्याप्त समय हुन्छ’, उनले भने, ‘मैले त कम समय जेलमा बिताएँ। वीपीले जस्तो धेरै बिताउने मौका पाएको भए अरू कृति पनि लेख्ने थिएँ।’

'राजनीतिका कारण साहित्यलाई एक तिहाई समय पनि हुँदैन'

राजनीतिमा लागेका व्यक्तिहरू धेरै नै व्यस्त हुन्छन्। विभिन्न कार्यक्रम, बैठक, प्रशिक्षणलगायतमा सहभागी हुँदा उनीहरूलाई अन्य कामका लागि समय निकाल्न निकै गाह्रो हुन्छ। यस्तै भएको छ युवा नेता घिमिरेलाई पनि। उनको दैनिकी विभिन्न कार्यक्रमा सहभागी भएर व्यस्त रूपमा चलिरहेको छ। त्यस कारण साहित्यमा उनले चाहेजति समय दिन सकेका छैनन्।

राजनीतिले उनको दुई तिहाई समय खान्छ। एक तिहाई समय निकाल्न पनि निकै मुस्किल पर्छ उनलाई। ‘म पनि अहिले बजारमा आएका औसत किताबहरू भन्दा माथिको लेख्न सक्छु जस्तो लाग्छ तर राजनीतिले दुई तिहाई समय खाएको छ', उनी भन्छन्, 'साहित्यका लागि एक तिहाई समय पनि निकाल्न सकेको छैन।’ उनलाई कहिलेकाहीँ धेरै सिर्जना गर्न मन लाग्छ तर सिर्जना गर्न समय नै मिल्दैन। ‘राजनीतिक कार्यक्रम सकेर सिर्जना गर्न मन लाग्छ’, भन्छन्, ‘तर कार्यक्रम सकेपछि पनि कार्यकर्ताहरू भेट्न आउँछन्। रेस्ट गर्नु पनि पर्‍यो। त्यसैले साहित्य सिर्जना गर्न धेरै समस्या छ।’

राजनीतिमा भन्न नसकेका कुरालाई एउटै कवितामार्फत् भन्ने गरेका छन् उनले। ‘कतिपय कुरा मैले भाषणमा भन्न सक्दिनँ’, भन्छन्, ‘यस्ता विषयलाई साहित्यमार्फत् अभिव्यक्त गर्छु र जनता माझ बुझाउने गर्छु।’

व्यस्त समयका बीचमा पनि उनी लेख्ने गर्छन्। त्यही क्रममा उनले एउटा उपन्यास पनि लेखेका छन्। समाज सेवाको विषयलाई समेटेर तयार पारेको उपन्यास उनी छाप्ने तयारीमा छन्। उक्त उपन्यासले राजनीतिभित्रको विकृतिलाई पनि समावेश गरेको बताउँछन् घिमिरे।

राजनीतिमा भन्न नसकेका कुरा साहित्यमा

साहित्यमा साहित्यकारले आफूलाई चित्त नबुझेका, समाजमा देखेका र भोगेका पीडालाई समावेश गर्ने गर्छन्। कतिपय अवस्थामा आफूले समाजमा भन्न नसकेका कुराहरू भन्नलाई पनि सिर्जना गर्ने गर्छन् साहित्यकारहरू।

घिमिरेले पनि कहिलेकाहीँ यस्तै गर्छन्। राजनीतिमा भन्न नसकेका कुरालाई एउटै कवितामार्फत् भन्ने गरेका छन् उनले। ‘कतिपय कुरा मैले भाषणमा भन्न सक्दिनँ’, भन्छन्, ‘यस्ता विषयलाई साहित्यमार्फत् अभिव्यक्त गर्छु र जनता माझ बुझाउने गर्छु।’ उनी जुनबेला पनि सिर्जना गर्न सक्छन् तर एकान्त उनलाई मनपर्छ। ‘म बिहानको समयमा कहिल्यै लेख्दिनँ’, भन्छन्, ‘अरूबेला जहिले पनि लेख्न सक्छु। विशेष गरेर रातको समयमा एकान्त र सुनसान हुन्छ। त्यस समयमा सिर्जना गर्छु।’

... अनि जहाजमै कोरे कविता

हुनत उनलाई सिर्जनका लागि खास त्यस्तो समय चाहिँदैन। फुर्सद र एकान्तमा भएमा जस्तो समयमा पनि सिर्जना गर्न सक्छन् उनी।

सन् २०१६ मा उनी नेदरल्याण्डबाट स्वीट्रल्याण्डतर्फ जाँदै थिए। जहाजले अढाई घण्टा बढी समय लगायो। त्यस सयमा उनी दिक्क भएका थिए तर साथमा थिए कलम र डायरी अनि जहाजमै केरे कविता- ‘आमस्टर्डम।’

००००

सन् २०१५ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा चीन गएका थिए। त्यस क्रममा उनले चीनको वाङची राज्यको ‘ली’ नदीमा पानी जहाज चढ्ने मौका पाए।

उक्त जहाजमा उनले चार घण्टा घुम्ने मौका पाए। त्यहाँको प्राकृतिक दृश्य दुर्लभ, सायद उनले यो दृश्य पहिलो पटक देखेका थिए। त्यो दृश्य देखेपछि उनलाई कविता कोरौँझैँ लाग्यो र गए जहाजको छतमा अनि तयार पारे ‘हिलिनका पहाड र लिपी।’

‘राजनीतिको गंजागोलबाट टाढा हुनु जस्तो लाग्छ’

नेपालको राजनीति सात दशकसम्म गंजागोल अवस्थामै बित्यो। अहिलेसम्म राजनीतिक आन्दोलनबाट नै बित्दै आएको छ। धेरै नेपालीलाई राजनीतिबाट नैराश्य छाएको छ। यस्तै आन्दोलनमा घिमिरेले पनि लामो समय बिताएका छन्।

पछिल्लो समय उनको पार्टी नेपाली कांग्रेस गंजागोल अवस्थामा छ। पार्टीभित्रको आन्तरिक विवादले निकै ठूलो रूप लिएको छ। घिमिरेलाई भने यो प्रवृत्तिको राजनीतिबाट कहिलेकाहीँ त दिक्क लाग्छ रे! साहित्यप्रतिको उनको लगावले कहिलेकाहीँ त राजनीतिबाट टाढा भएर साहित्य सिर्जनामा मात्र समर्पित हुन मन लाग्छ रे! ‘राजनीतिको गंजागोल अवस्था देखेर कहिलेकाहीँ त राजनीति छाडेर पूर्णकालीन साहित्यमा लागौँ जस्तै हुन्छ', उनी भन्छन्, 'राजनीतिबाट टाढा बस्न सक्छु होला जस्तै पनि लाग्छ।’

'साहित्य बुझेका नेता र नबुझेका बीच आकाश पातालको फरक'

'साहित्यकारको मन कोमल हुन्छ', यो धेरैले भन्ने भनाइ हो। उनीहरू अर्काको पीडा देख्न सक्दैनन्। सबैलाई समान व्यवहार गर्छन्। त्यही भनाइ छ, घिमिरेको पनि। झनै राजनीतिमा लागेका साहित्यकारको सोच र समाज सेवा त अरूको भन्दा धेरै फरक हुने उनी बताउँछन्।

अझ साहित्यमा लागेका राजनीतिकर्मी र अरू नेताबीच आकाश पातालको फरक देख्छन् उनी। ‘साहित्यमा नलागेका नेतामा गहिरो संवेदना हुँदैन’, घिमिरे भन्छन्, ‘करुणा हुँदैन। सेवा भाव हुँदैन। साहित्य बुझेका नेता र नबुझेका नेताबीच आकाश पातालको फरक हुन्छ। तर साहित्यमै सबै नेता समर्पित हुनुपर्छ भन्ने पनि होइन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.