|

भद्रपुर (झापा) : झापा जिल्लामा १०.३० प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ।

झापाको स्थानीय तह र विषयगत कार्यालय गरी १४ अर्ब ६१ करोड ५० लाख ३८ हजार ७९९ रुपैयाँ ३२ पैसा बराबरको कुल बजेटमध्ये आर्थिक वर्ष ०७४/७५ मा पुँजीगततर्फ ७९ प्रतिशत र चालुतर्फ ९३ प्रतिशत बजेट खर्च भएको छ। जसमध्ये चालुतर्फ ७८ करोड ७६ लाख ७२ हजार ९५६ रुपैयाँ र पुँजीगततर्फ ७१ करोड ८३ लाख ५१ हजार ३३२ रुपैयाँ गरी कुल एक अर्ब ५० करोड ६० लाख २४ हजार २८८ रुपैयाँ बराबरको बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख लावन्यराज दाहालले जानकारी दिए।

अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा झापाको ११ अर्व ४१ करोड ४८ लाख चार हजार ८९४ रुपैयाँ बराबरको कुल बजेटमध्ये ७६ करोड ३३ लाख २ हजार ६१५ रुपैयाँ बराबरको बजेट फ्रिज भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७४/७६मा बढी बजेट फ्रिज भएको देखिन्छ।

गत आर्थिक वर्षको चालु खर्चतर्फ खुद बजेट ११ अर्ब १९ करोड ५३ लाख १० हजार २३४ रुपैयाँमा १० अर्ब ४० करोड ७६ लाख ३७ हजार २७८ रुपैयाँ खर्च भएको थियो। असार मसान्तमा मात्र ८७ करोड ४९ लाख १६ हजार ५३ रुपैयाँ खर्च भएको देखिन्छ।

त्यस्तै पुँजीगततर्फको खुद बजेट तीन अर्ब ४१ करोड ९७ लाख २८ हजार ५६५ रुपैयाँमध्ये दुर्इ अर्ब ७० करोड १३ लाख ७७ हजार २३२ रुपैयाँ खर्च भएको छ। असार मसान्तमा मात्र एक अर्ब १९ करोड ५८ लाख ६६ हजार ७१३ रुपैयाँ खर्च भएको देखिन्छ। विकास निर्माणतर्फ पुँजीगत खर्च भएकोले बढी बजेट त्यही शीर्षकबाट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण प्रमुख दाहालले बताए।

‘विकास निर्माण कार्य ढिलासुस्ती, समयमा बजेट नआएको र ठेक्का लागेको निर्माण कार्य समेत अलपत्र हुदाँ त्यस्तो शीर्षकको बजेट खर्च भएन’, उनले भने, त्यही रकम फ्रिज हुन गयो, समयमा काम भएको भए रकम फ्रिज हुँदैन थियो।, ‘फ्रिज भएको बजेट रकम सरकारी खातामा जम्मा भएको र पछि त्यही बजेटलाई सरकारले अन्य शिर्षक बनाएर प्रयोग गर्न सकिन्छ।'

जिसस, प्राविधिकसहित कुन स्थानीय तहको बजेट कति फ्रिज भयो?

चालु र पुँजीगत गरी जिल्ला समन्वय समिति झापाको तीन करोड ८० लाख ४३ हजार ६७० रुपैयाँ बराबरको बजेट बजेटमा ३१ लाख ३७ हजार ८३० रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ। चालु र पुँजीगत गरी नगरपालिकाहरू मध्ये भद्रपुरको १३ करोड ४० लाख ८१ हजारमध्ये एक करोड ३३ लाख ५१ हजार २०० रुपैयाँ फ्रिज भएको छ।

त्यस्तै दमकको १२ करोड ५२ लाख ७० हजारमध्ये १० लाख ९५ हजार २५४ रुपैयाँ फ्रिज भएको छ। मेचीनगरको २८ करोड नौ लाख २७ हजारमध्ये १० लाख रुपैयाँ फ्रिज भएको छ। अर्जुनधाराको १२ करोड ४३ लाख ५८ हजारमध्ये चार लाख १८ हजार फ्रिज भएको छ।

त्यस्तै बिर्तामोडको १० करोड एक लाख ९५ हजारमध्ये चार लाख १६ हजार ४५३ रुपैयाँ फ्रिज भएको छ। कनकाईको आठ करोड ७० लाख ९० हजारमध्ये ७१ लाख २९ हजार २०० रुपैयाँ फ्रिज भएको छ। शिवसताक्षीको १४ करोड ११ लाख १६ हजारमध्ये १ करोड ६४ लाख ४८ हजार ११ रुपैयाँ फ्रिज भएको छ। गौरादहको २१ करोड ६६ लाख ९२ हजारमध्ये १० करोड तीन लाख २२ हजार ३३० रुपैयाँ फ्रिज भएको छ।

त्यसैगरी चालु र पुँजीगत गरी गाउँपालिकाहरूमध्ये बुद्धशान्तिको आठ करोड ६४ लाख ८८ हजारमध्ये एक करोड ४० लाख ३० हजार ६०० रुपैयाँ फ्रिज भएको छ। बाह्दशीको छ करोड ६५ लाख ३३ हजारमध्ये ८९ लाख ३९ हजार २९८ रुपैयाँ फ्रिज भएको छ। हल्दिवारीको नौ करोड ९० लाख ५२ हजारमध्ये एक करोड ८५ लाख ४१ हजार ३१८ रुपैयाँ फ्रिज भएको छ। कचनकवलको सात करोड ६३ लाख चार हजारमध्ये आठ लाख ६८ हजार ६४ रुपैयाँ फ्रिज भएको छ।

यसगरी झापाको छ करोड ६९ लाख नौ हजारमध्ये १४ लाख ९८ हजार ६६७ रुपैयाँ फ्रिज भएको छ। कमलको नौ करोड १३ लाख ७० हजारमध्ये ६२ लाख ८५ हजार १२० रुपैयाँ फ्रिज भएको छ। गौरीगञ्जको छ करोड चार हजारमध्ये ३३ लाख १४ हजार ४७९ रुपैयाँ फ्रिज भएको छ।

यता जिल्ला प्राविधिक कार्यालयको ६१ करोड ११ लाख ८५ हजार ९७३ मध्ये २५ करोड ९५ लाख ३० हजार २५४ रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.