|

बागलुङ : सदरमुकामदेखि यात्रु लिएर बुर्तिबाङका लागि छुटेको यात्रु बहाक जिप बुधबार साँझ पौने सात बजे गल्कोट नगरपालिका ११ रिघाको भालुपाइलेमा दुर्घटनामा परेको छ। ध १ ज १४९ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित जिपमा सवार १२ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको स्थानीय पत्रकार घनश्याम गौतमले जानकारी दिए।

उनीहरूलाई आरोग्य अस्पताल गल्कोटमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरा पठाइएको इलाका प्रहरी कार्यालय हरीचौरका प्रमुख प्रहरी नायव निरीक्षक मनबहादुर बिकले बताए।

गम्भीर घाइते हुनेहरुमा बडिगाड गाउँपालिका– ९ का दिलेन्द्र बुढा मगर, सोही ठाउँ बस्ने सुमन बुढा मगर, बडिगाड– ५ का संगीता पुन र गल्कोट नगरपालिका– १० का दीपक थापा रहेका छन्। उनीहरूको टाउको र हात, गोडामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। अन्य आठ जनाको अवस्था सामान्य रहेको र आरोग्य अस्पतालमा उपचार भइरहेको प्रहरी नायव निरीक्षक बिकले बताए।

जिप बाटोको छेउमा रहेको नालिमा पल्टिएको थियो। जिप दुर्घटनाको कारणका विषयमा अनुसन्धान भइरहेको प्रानानी बिकले जानकारी दिए। घाइतेहरूको इलाका प्रहरी चौकी हरिचौरबाट गएको प्रहरी टोली र हटिया प्रहरी चौकीको टोलीले उद्दार गरेर आरोग्य अस्पताल कल्कोट पुर्‍याएको थियो।

अपडेट

महासंघका पूर्व महासचिव मगर घाइते

बागलुङ गल्काेट दुर्घटना -१४ घाइते मध्ये ८ जनालाई पाेखरा पठाइयो।

बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको ध १ ज १४९ नम्बरको जीप अनियन्त्रित भई सडक नालीमा पल्टीदा जिपमा सवार १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मनबहादुर बिकले जानकारि दिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन, पत्रकार महासंघका निर्वतमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेेेका छन्।

अन्य घाइतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेको प्रहरी नायव निरीक्षक विकले जानकारी दिए। अन्य घाइते निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उनकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेेका छन्। उनीहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.