पाल्पा : रम्भा गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को प्रस्तावित नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले ३३ करोड १६ लाख २८ हजार बराबरको नीति, बजेट तथा कार्यक्रमबारे जानकारी गराएका हुन्।
ढकालका अनुसार बजेटमा सकडलाई बढी प्राथमिकता दिइएको छ। कुल बजेटको २१ प्रतिशत रकम सडक निर्माण तथा मर्मतका लागि विनियोजन गरिएको हो।सडक नपुगेका टोलटोलमा पुर्याउने र निर्माण भइसकेका सबै वडाका सडकमा बाह्रै महिना बस सञ्चालन हुनेगरी सडकको स्तरोन्नति गरिने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। कर्मचारीलाई रम्भा गाउँपालिकामा आकर्षित गर्न कर्मचारी दिवा खाजा कार्यक्रम सञ्चालन गरिने उनले बताए।
यहाँको कार्यालयको अवस्था नाजुक रहेको र कर्मचारीलाई बस्नका लागि समेत राम्रो प्रबन्ध नभएकोले कर्मचारी आउन नमान्ने र आएका कर्मचारी पनि सरुवा मागेर जान थालेपछि कर्मचारी प्रोत्साहन भत्ता (कर्मचारी दिवा खाजा कार्यक्रम) सञ्चालन गरेको अध्यक्ष भण्डारीले बताए। उनका अनुसार १५ लाख रकम दिवा खाजाको लागि विनियोजन गरिएको छ।
यस्तै महिला स्वयसेविका र विपन्न परिवारको स्वास्थ्य विमाका लागि सात लाख, सुत्केरी प्रोत्साहन भत्ताका लागि पाँच लाख, मृगौला, मुटुरोगी रोगी उपचार सहायतका लागि छ लाख रुपैयाँ विनियोजन गरिएको छ। बालबालिकालाई विद्यालयमा आकर्षित गर्न विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनका लागि सात लाख बजेट विनियोजन गरिएको अध्यक्ष भण्डारीले बताए। उनले थपे, 'गाउँपालिका भित्र रहेको सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाइको व्यवस्था मिलाइनेछ भने कम्युटर कक्षालाई अनिवार्य बनाउने लक्ष्य रहेको छ। गाउँपालिकाभित्र यही आर्थिक वर्षबाट कृषि र इन्जिनियरिङ प्राविधिक शिक्षालय स्थापनाका लागि गतिविधि अगाडि बढाइने छ।'
अध्यक्ष भण्डारीले थपे कृषिलाई व्यवसायिक पेशा बनाउने गरी अभियान सञ्चालन गर्नेछौँ। बजेट सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष भण्डारीले स्वच्छ पिउने पानीको सहजताको लागि एक घर एक धारा अवधारणा अनुसार लिफ्ट खोनपानी र ग्राभिटी खानेपानीका आयोजना सञ्चालन गरिने बताए। विकासको बाधक रहेको छुवाछूत अन्त्यका लागि अभियान सञ्चालन गर्ने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।