|

सुनसरी : क्षेत्रीय कारागार झुम्कामा इटहरी १७ का सन्जु शेर्पाको रहस्यमय मृत्यु भएको विषयमा परिवारले छानविनको माग गरेका छन्। लागुऔषधसम्बन्धी मुद्दामा असार २४ गते कारागार चलान भएका शेर्पाको असार २९ गते गम्भीर अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। 

कारागार व्यवस्थापन विभागले शेर्पाको शव पोष्टमार्टम नगरी परिवारलाई बुझाएको थियो। शव घर ल्याउँदा मात्र शरीरका विभिन्न भागमा चोट र रगत भेटिएपछि मृत्यु शंकास्पद भएको परिवारको दाबी छ। शेर्पाको हात र घाटीमा नीलडाम देखिएको छ भने ढाड भरी पनि नीलडाम र काटिएको रगत सँगैको चोट रहेको परिवारको भनाइ छ। 

शरीरमा चोट र दाग भेटिएपछि परिवारले इटहरीस्थित रिपोटर्स क्लब सुनसरी शाखामा पत्रकार सम्मेलन गरी घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाहीको माग गरेका हुन्। २८ गतेसम्म नर्मल अवस्थामा रहेको श्रीमान एक दिनपछि बिरामी भएर अस्पताल पुर्‍याएको र मृत्यु भएको विषय गहन अनुसन्धान गर्नुपर्ने श्रीमती लिलामाया राई शेर्पाले माग गरिन।प्रशासनले रक्सी खान नपाएर छटपट्टिएर लेडेर मृत्यु भने पनि श्रीमानले पहिलेनै रक्सी छाडेको उनको भनाई छ। प्रहरी सुरक्षाभित्र निर्देष व्यक्तिको कुटेर हत्या भएको भन्दै प्रमुख जिल्ला अधिकारीले छानविन समिति बनाउनु पर्ने शेर्पाले माग गरेकी छिन्।

शेर्पाको मृत्युपछि परिवारजनले शवको पोष्टमार्टम गर्न कारागार विभागले अस्पताललाई अनुमति नदिएको परिवारको भनाइ छ। साथै शेर्पालाई मृत्युपछि मात्र अस्पताल पुर्याएको परिवारको दाबी छ। अन्य सामान्य केशमा पोष्टमार्टम गर्ने नियम रहे पनि नीलडाम र चोट हुँदासम्म कारागार प्रशासनले पोष्टमार्टम नगरेको विषय शंकास्पद रहेको मृतकका सालो भाइ किरण राईले पत्रकार सम्मेलनमा बताए। प्रशासनले तत्काल घटनाको विषयमा छानविन नगरे सडक आन्दोलन गर्नेसम्मको चेतावनी उनले दिए।

इटहरीको एक निजी विद्यालयको सवारीचालक काम गर्ने शेर्पा २० वर्षअगाडिको लागुऔषध मुद्दामा अदालतमा आत्मसमर्पण गरी कारागार चलान भएका थिए। शेर्पाको शवलाई ३० गते नै दाह संस्कार गरिसकेको छ। मृतक परिवारले साउन २ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी समक्ष छानविन र दोषीलाई कारबाहीको मागसहित ज्ञापनपत्रसमेत बुझाएका छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.