|

बाँके : बाँकेको सबै स्वास्थ्य संस्थामा विहीबार बहिरंग विभाग (ओपिडी) का सेवाहरू बन्द गरिएका छन्। नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि भेरी अंचल अस्पताल, नेपालगन्ज मेडिकल कलेजलगायत अस्पतालका चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्। 

भेरी अंचल अस्पताल र नेपालगन्ज मेडिकल कलेजले आपत्कालीन सेवा मात्र दिएपछि विरामीहरू अलपत्र परेका छन्। चिकित्सहरुको आन्दोलनका कारण आफू उपचारबाट बञ्चित भएको बर्दिया राजापुरकी सुष्मा चौधरीले बताइन्। 

ढाड दुखे पछि उपचारका लागि भेरी अंचल अस्पतालमा आएकी उनले उपचार नपाएर फर्किन थालेको बताइन्। 'झण्डै ८० किलोमिटर टाढाबाट आइयो। उपचार नपाएर त्यसै फर्किनु पर्ने अवस्था भयो,’ उनले भनिन्। डा. गोविन्द केसीको जीवन रक्षाका लागि चिकित्सक संघले आह्वान गरेको हड्तालमा समर्थन जनाउँदै चिकित्सकले अस्पतालको ओपिडी सेवा बन्द गरेको भेरी अंचल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण प्रसाद आचार्यले बताए। 

चिकित्सकको आन्दोलनका कारण बिहीबार विहानैदेखि भेरी अंचल अस्पताल सुनसान देखिएको थियो भने आकस्मिक कक्षमा विरामीको भीड लागेको थियो।ओपीडी सेवा बन्द भएपछि विरामीले आकस्मिक कक्षबाट स्वास्थ्य सेवा लिएको डा.आचार्यले बताए। ‘करिव ५०० जनाले आकस्मिक कक्षबाट उपचार सेवा लिएका छन्,’ उनले भने। 

डा.केसीको अनसनमा चिकित्सकले साथ दिँदै सेवा बन्द गरेपछि विरामीहरू पर्चा काट्ने काउन्टर र वेइटिङ रुममा सुतेर दिन बिताएका छन्। ओपीडी सेवा बन्द भएपछि आकस्मिक कक्षको बेडमा विरामी भर्ना भएका छन्। अन्य दिनको तुलनामा बिहीबार आकस्मिक कक्षमा विरामी भर्ना धेरै भएको अस्पताल प्रशासनले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.