|

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता देवराज घिमिरे (६३) नेपालको पूर्वी भेगको कम्युनिस्ट राजनीतिको विक्रमको २०३० को दशकयताका साक्षी हुन्। वि.सं. २०१३ मा ताप्लेजुङमा जन्मिएका उनले मदन भण्डारीसँग संगत गरे। भण्डारीको राजनीतिक उचाइ र असामयिक निधन प्रत्यक्ष देखे। त्यस्तै, पंचायतमा राजनीति, त्यो पनि कम्युनिस्टमा लाग्नुको पीडा र वेदना भोगे अनि आफ्नै सहकर्मीका पीडा र व्यथा देखे। उनले राजनीतिक अभियानमा लागेका सहकर्मीको प्राण पखेरु राज्यको गोलीले उडेको आँखै अगाडि देखे। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहयोगीको भूमिकामा रहेका उनी हाल नेकपाका केन्द्रीय सदस्य छन्। उनले विगतमा तत्कालीन नेकपा एमालेको नेताका रूपमा पूर्वका विभिन्न जिल्ला तथा अंचलको पार्टी जिम्मेवारी सम्हालेका छन्।

घिमिरेले आफ्नो राजनीतिक यात्राका ती क्षणहरूलाई थाहाखबरका लागि देविका घर्ती मगरसँग यसरी सुनाए।   

पूर्वको राजनीति

नेपालको कम्युनिस्ट आन्दोलनमा पूर्व कोसी प्रान्तीय कमिटीले २०२२/०२३ सालबाट राजनीतिक गतिविधिमा तीव्रता दिन थाल्यो। त्यतिबेला केही कम्युनिस्टका गतिविधि पूर्व कोसी प्रान्तीय कमिटीबाट हुने गर्थे। सोही कमिटीले काम गर्न पठाएर नन्दकुमार प्रसाईंको सक्रियतामा ओमकृष्ण सिटौला र पुण्य सिटौलाले त्यस क्षेत्रमा राजनीति गर्ने कोसिस गर्नुभयो। यस क्रममा २०२५/०२६ सालको कुरा हो, त्यतिबेला म हाइस्कुल पढ्न ताप्लेजुङ गएँ। त्यसैबेला नन्दकुमार प्रसाईंलाई पक्राउ गरेर जिल्ला निष्काशन गर्‍यो। अरू जिल्लाबाट पनि नजरबन्दमा राखेकाहरूलाई चीनको सिमानामा पर्ने ओलाङ्चुङगोला, घुम्सा आदि ठाउँहरूमा रहेका चेकपोस्ट राखियो। त्यहाँ सहायक अंचलाधीश रहन्थे। त्यतिबेला उनीहरूलाई महिनौँसम्म निर्वासनमा जसरी राखियो, जहाँ पुराना कम्युनिस्ट नेता अम्बिका साँवालगायत पनि साथमा हुनुहुन्थ्यो। 

त्यस बेला म विद्यार्थी राजनीतिमा सक्रिय थिएँ। त्यो पृष्ठभूमिमा नेपालमा कम्युनिस्टहरूले शान्तिपूर्ण ढंगबाट परिवर्तनका कुराहरू गर्ने कुरा असम्भव सम्झिन्थ्यौँ। वर्ग संघर्षका माध्यमबाट सशस्त्र संघर्ष गरेर एउटा वर्गको सत्तालाई अर्को वर्गले जबर्जस्ती नढाली परिवर्तन सम्भव छैन भन्‍ने सोचाइ थियो। खासगरी चीनमा भएको सांस्कृतिक क्रान्ति र त्यसको प्रभावले भारतमा भएको नक्सलवादी विद्रोह अादिको प्रभाव झापामा पनि पर्न गयो। पूर्व कोसी प्रान्तीय कमिटीबाट मोहनचन्द्र अधिकारीले पनि त्यसलाई स्वीकार गरेको अवस्था थियो। केपी शर्मा ओलीलगायत राधाकृष्ण मैनाली, सीपी मैनालीहरूले झापा विद्रोहमा सशस्त्र संघर्षको कार्यनीति अपनाउनुभयो।

झापा संघर्षले पूर्वी पहाडी जिल्लाहरू हल्लाएकाे थियो। २०३० सालपछि पूर्वी पहाडी जिल्लाका कम्युनिस्ट कार्यकर्ताहरूमा त्याग र समर्पणका साथ निजी सोच र स्वार्थ त्यागेर आवश्यक परेमा बलिदानी दिन पनि तयार भएर मात्रै कम्युनिस्ट शासन ल्याउन सकिन्छ भन्ने भावना विकास भयो। देशलाई त्यो दिशामा लैजान सकिन्छ भन्ने नयाँ सोचका साथ युवाहरू सचेत हुने, संगठित र आन्दोलिन हुने क्रम बढ्यो, जुन पूर्वका झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाममा व्यापक बन्यो।

झापा संघर्षबाट कोअर्डिनेसन केन्द्र (कोके) गठन बन्यो। कोकेबाट बनेको नेकपा माले र नेकपा मालेले लिएको नीतिको आधारबाटै मूलतः पूर्वी पहाड अगाडि बढ्यो। त्यहाँबाट धेरै कार्यकर्ताहरू अगाडि बढ्नुभयो। देशका अन्य भागहरूमा पनि ती कार्यकर्ता पार्टीको काम गर्न, पार्टीको निर्णय र योजनाका आधारबाट फैलिने क्रम राष्ट्रव्यापी बन्यो। 

मदन भण्डारीलाई तर्कका सामु नतमस्तक

त्यो बेला माले र मार्क्सवादी एक हुँदा र अहिले एमाले र माओवादी एक हुँदाझैँ केही कुरा समान थिए। त्यो बेला माले र मार्क्सवादी मिल्ने कुरामा मार्क्सवादीहरूको सांगठनिक अस्तित्व नै गम्भीर संकटमा थियो। उनीहरूका गतिविधि नै मार्क्सवाद अनुरूप थिएनन्। तत्कालीन मालेको गतिविधिका कारणबाटै बहुदलको घोषणा भएको थियो तर माले पार्टीगत रूपबाट परिचित नभएको अवस्था थियो। माले पार्टीको नेताबाट कोही नचिनिने सबै भूमिगत हुने व्यवस्था थियो। कम्युनिस्ट भनेका मार्क्सवादीबाट मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारी, कमल कोइराला, बलराम उपाध्याय, लक्ष्मीभक्त उपाध्याय, सिद्धिलाल सिंहलगायत थिए। उनीहरू कम्युनिस्ट नेता भनेर चिनिन्थे तर उनीहरूका संगठनका गतिविधि नगन्य थिए। 

त्यस्तो स्थितिमा माले पार्टीको बलबाट आन्दोलन उठ्यो। आन्दोलनको बलबाट समाजमा राजनीतिक परिवर्तन भएर बहुदल प्राप्त भयो। त्यतिबेला एकता गर्नुपर्छ भन्‍ने दूरगामी दृष्टिकोण हाम्रा अग्रज नेताहरूले राख्‍नुभयो। खासगरी मदन भण्डारीले पार्टी एकता गर्नुपर्छ, अन्तरिम सरकार बनाउँदा वाम मोर्चाबाट दुई जना लिने कुरा भयो। त्यसमा मार्क्सवादीबाट सहाना प्रधान र मालेबाट झलनाथ खनाललाई लिने कुरा पनि गरियो। तर पछि एकताको कुरा गर्दाखेरि पार्टीभित्र निकै ठूलो विरोध भयो। जसको संगठन नै छैन, जसको हैसियत नै छैन, यस्ता मान्छे, जसको नीति, व्यवहार स्पष्ट छैनलाई कसरी समाहित गर्न सकिन्छ भन्ने कुरा आएको थियो। कम्युनिस्टको नामबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनिएका परिचित नेताहरू भए पनि सांगठनिक पहिचान नभएकासँग एकीकरण गरेर उनीहरूलाई नेतृत्व दिनुहुँदैन भन्ने मालेभित्र एक धारको धारणा थियो।

त्यतिबेला मदन भण्डारीले 'हाम्रो उद्देश्य नेता बन्‍ने हो कि राष्ट्रलाई मुक्त गर्ने हो?' भन्नुहुन्थ्यो। हाम्रो उद्देश्य जनतालाई कम्युनिस्ट पार्टीको शासनअन्तर्गत समृद्ध बनाउने, सुखी बनाउने हो कि नेतागिरी गरेर हिँड्ने हो? यदि हाम्रो उद्देश्य कम्युनिस्ट समाज निर्माण गर्ने, साम्यवादी समाजमा जाने हो भने सानोसानो चुह्लाचौका भएर बसेका कम्युनिस्टहरूको जति विभाजन भइरहन्छ, हामी त्यति असफल भएर जान्छौँ। कम्युनिस्ट विरोधीहरूले शासन गरिरहन्छन्। जति हामी एकतावद्ध भएर जान सक्छौँ, त्यति कम्युनिस्टहरूको शासन हुन्छ र जनताको चाहना पूरा हुन सक्छ। हामी परिचित छैनौँ, मान्यताप्राप्त छैनौँ। यस्तो बेलामा उनीहरूलाई लिएर आयौँ भने तब मात्रै समाजमा स्थापित हुन्छौँ। त्यसमा टेकेर जनादेश लिएर शासन गर्ने बाटोमा जानुपर्छ। त्यो भनेको चुनावको बाटो हो। चुनावको बाटोमा जाँदाखेरि एकीकरण गरेर जाँदा सक्रिय भएर अगाडि बढ्ने र पार्टीभित्र ठीक ढंगको नीति र लाइन लिएर हिँड्न सक्ने नेताहरू स्थापित भएर आउनुहुन्छ। त्यो समस्याको कुरा भएन। जसले त्यो बाटोमा हिँड्न सक्नुहुन्न, उहाँहरू हटेर जानुहुन्छ। त्यस कारण अहिले संकीर्ण भएर बस्नुहुन्न। अहिलेको अवसरलाई उपयोग गरेर जानुपर्छ। हाम्रो नीति, व्यवहार सही भएमा आज उहाँहरूलाई नेतृत्वमा राखे पनि भोलि हामीले नेतृत्व गर्ने अवस्था स्वतः आउँछ भनेर कार्यकर्तालाई सम्झाउनुहुन्थ्यो। 

म आफैँ पनि यो एकताको औचित्य छैन भन्‍ने कुरा राख्‍न इलामको तत्कालीन पार्टी प्रमुख (सचिव) हुँदा काठमाडौं आएर उहाँलाई भेटेर निकै लामो छलफल गरेँ। मैले तर्कले जित्न नसके पनि भित्र मनले नमाने पनि ठीकै छ भनेर फर्केको थिएँ। उहाँका तर्कका सामु म नतमस्तक भएँ।

त्यो बेलाको दुःख

हामीले त भयंकर दु:खका क्षण बिताएका छौँ। तपाईंहरूले अहिले परिकल्पनै गर्न नसक्ने अवस्था भोगेर आएका हौँ। त्यो क्षण बिताउनेमध्येको एक म पनि हुँ। त्योबेला जोजो पार्टी काममा लाग्‍नुभएको छ, सबैले त्यो अप्ठ्यारो समय बिताउनुभएको छ। मैले भन्दा धेरै दुःख, आपत, विपत र अँध्यारो अवस्था अरू धेरै नेताहरूले भोग्नुभएको छ। यहाँसम्म कि उज्यालोमा कहीँ बस्‍नै नपाई हिँड्नुपर्थ्यो। हिँड्दाखेरि पनि कहीँ लुकेर र कहीँ घामको किरण छोपेर बस्‍नुपर्ने स्थिति थियो। जहाँ देख्यो, त्यहीँ मार्ने वारेन्ट हुन्थे। जुनसुकैबेला मर्ने स्थिति हुन्थ्यो।

कम्युनिस्ट विकास हुँदै छन् भन्‍ने कुरा थाहा पाएको गाउँमा राती टर्च लाइटहरू वा राँकोहरू बालेर हिँड्दाखेरि पनि को हिँड्यो? किन हिँड्यो? भन्‍ने गुप्तचर बिगबिगी हुन्थ्यो। त्यसले गर्दाखेरि कतिपय रातहरू छामेर मात्रै हिँड्नुपरेको थियो। त्यही परिस्थितिमा बिहेबारी गर्ने, बच्चाबच्ची जन्माउने र हुर्काउनेदेखि लिएर उनीहरूलाई पढाउने, बढाउने कसरी होला भन्‍ने कुरामा सिंगो समाज नै प्रतिकूलताभित्र बाँचेको थियो।  

कुनै पनि छलफल, बैठकमा कामरेडहरूको बीचमा भेटेर छुट्दा हात मिलाएर छुट्थ्यौँ। त्यसरी छुट्दाखेरि फेरि अब कुनै दिन हुन्छ भेट कि हुँदैन भन्ने केही ठेगान हुँदैनथ्यो। त्यहीँ तुरुन्तै समातिने, मारिने, जेल पर्ने कुराहरू हुन सक्थे। यस्तो स्थितिमा जनताको अपार माया, साथ नपाएको भए, जनताको मन जित्न नसकेको भए निकै गाह्रो हुन्थ्यो। चाहे बुढाबुढी हुन्, चाहे साना बालबच्चाहरू हुन्, उनीहरूको विश्वास जित्‍न नपाएको भए जनताको बीचमा हामी टिक्न सक्ने थिएनौँ। त्यतिबेलाको सत्ताले, सरकार, प्रतिक्रियावादी शक्तिले कुनै पनि बेला सिध्याउन सक्थ्यो।

यसभित्र अनेक खालका अप्ठ्याराहरू रहन्छन्। २०४३ देखि २०४६ सालसम्मको तीन वर्षे अवधिमा डरलाग्दो आतंक छायो। हामीसँग पर्याप्त संगठन थिए। पर्याप्त आधार केन्द्र, भूमिगत भएर काम गर्न सक्ने सक्षम नेता, कार्यकर्ताहरूको ठूलो पंक्ति थियो। जनताले ठूलो विश्वास र माया गरेका थिए तर दमनले यस्तो रूप लियो कि कार्यकर्ताहरू टिक्न नसक्ने, संगठनले बाहिर निस्किन अनुमति नदिने। भागेर उहाँहरू कोही आसामतिर जाने, कोही मणिपुर, देहरादुनतिर भाग्‍ने स्थिति देखापर्‍यो। को कतिबेला समातिने हो र को कतिबेला मारिने हो भन्ने कुराको ठेगान नभइसकेपछि अब पार्टी कसरी टिकाउने भन्ने डरलाग्दो स्थिति देखापरिरहेको थियो। 

षड्यन्त्रपूर्वक हरि नेपालको हत्या

सम्बन्धका हिसाबले हरि नेपाल मेरो मामा हुनुहुन्थ्यो। पूर्वी नेपालको सन्दर्भमा कोअर्डिनेसन केन्द्र बनिसकेपछि संगठनको मुख्य जिम्मा लिएर काम गर्ने मान्छे रत्नकुमार बान्तवा हो। उहाँको निकट रहेर काम गर्ने मान्छे हरि नेपाल हुनुहुन्थ्यो। रत्नकुमार बान्तवालाई २०३५ चैत २७ गते इलामको इभाङमा प्रहरीले मारिसकेपछि हरि नेपाल अब केन्द्रीय कमिटीमा आउनुभयो। त्यतिबेला पूर्वको जुन कामको जिम्मा रत्नकुमार बान्तवाले लिनुभएको थियो, त्यो ठाउँमा काम गर्ने तहमा हुनुहुन्थ्यो। 

तत्कालीन माले गठन भएपछि रत्नकुमारको हत्या भएपछि हरि नेपालले त्यो जिम्मेवारी सम्हाल्नुभयो। ताप्लेजुङ जिल्लाको सचिव भएर काम गरिरहनुभएको थियो। ताप्लेजुङमा जति पनि पछिल्लो कालमा कम्युनिस्ट पार्टी निर्माणका सन्दर्भमा सेल्टर निर्माण गर्ने, संगठन विस्तार, नेता जन्माउने, नीतिलाई जनताका बीचमा लगेर स्थापित गर्ने कुरामा अहम् भूमिका खेल्नुभएको थियो हरि नेपालले।

उज्यालो नहुँदै उनीहरूले फायरिङ गर्न सुरु गरे र 'आत्मसमर्पण गरेर निस्किन्छस् भने निस्की होइन भने घरमा आगो लगाइदिन्छु' भनेछन्। त्यो बेलामा चन्द्र पुरीसँग हतियार थियो। उहाँले आफूसँग भएको गोली नसकुञ्जेलसम्म पुलिसलाई ताकेर फायरिङ गर्नुभयो। कुनै पनि पुलिसलाई लागेन। पुलिसले हानेको गोली लागेर चन्द्र पुरी ढल्नुभयो।

संघर्षशील र मिजासिलो स्वभाव, अध्ययनशील, मान्छेलाई सहमतिमा ल्याउन सक्ने खुबी रत्नकुमार बान्तवापछि हरि नेपालमा थियो। उहाँले गरेकै कामले गर्दाखेरि ताप्लेजुङ जिल्ला भूमिगतकालमै बलियो जिल्लाका रूपमा स्थापित भयो। त्यतिबेला संखुवासभामा गरिएका केही एक्सनमा गोपाल श्रेष्ठलाई मारियो। त्योलगायतका घटनाहरूले संखुवासभामा हाम्रो पार्टीका कार्यकर्ताहरू टिक्न नसक्ने अवस्था बन्यो। वासु शाक्य, चन्द्र पुरीलगायतका साथीहरू विस्थापित भएर ताप्लेजुङ गएर बस्‍नुपर्ने अवस्था बन्यो।

रत्नकुमार बान्तवा मारिएपछि पूर्वको पार्टी काममा ठूलो क्षति पुग्यो। त्यो क्षतिलाई कसरी कम गर्ने भन्‍ने सन्दर्भमा संखुवासभाको कामलाई व्यवस्थित गर्न के गर्ने भन्ने सल्लाह भयो। खासगरी चन्द्र पुरीकी श्रीमती गर्भवती हुनुहुन्थ्यो। गर्भवती भइसकेपछि पटक पटकका प्रहरी, सामन्तहरू मारिने, हाम्रा साथीहरूले सामन्तलाई हिर्काएर भाग्‍न सक्ने घटनाबाट संखुवासभामा डरलाग्दो श्वेतआतंक छाएको थियो। चन्द्रकी श्रीमती गर्भवती भएपछि उनलाई प्रहरीले पक्रेर यातना दिएर गोपनीयता खोल्न सक्ने स्थिति थियो। जीवन सुरक्षाका लागि के गर्ने भन्नेदेखि संखुवासभाको काम हेर्नका लागि म जान्छु भनेर हरि नेपाल अगाडि सर्नुभयो। 

संखुवासभामा अरू कसैलाई पठाऊँ भन्दा पनि हरि नेपालले त्यहाँको वस्तुस्थितिबारे जानकारी लिन भन्दै चन्द्रकी श्रीमतीलाई भेटौँ भनेर चन्द्रलाई सँगै लिएर ताप्लेजुङबाट उनी हिँडे। त्यसबेला ताप्लेजुङभरि हरि नेपाल कहीँ पनि दिउँसो निस्किएर हिँड्ने स्थिति थिएन। जंगलै जंगल हिँड्दा पनि कहीँ भेट्टाउँछ कि भनेर दिउँसो नहिँड्ने स्थिति थियो।

२०३६ पुस ११ गते पार्टी स्थापना दिवस थियो। अहिलेको मैवाखोला तत्कालीन साँघु गाउँ पंचायतको ताम्राङ भन्‍ने ठाउँमा स्थानीय कार्यकर्ता र जनताबीचमा भूमिगत शैलीमा भेटघाट भयो। त्यसबेला कमल घिमिरे भन्ने कामरेड (अहिले कांग्रेसमा लाग्नुभयो भन्ने सुनिन्छ)को घरमा पार्टी स्थापना दिवस मनाएर त्यहाँदेखि उज्यालो नहुँदै डाँडो काट्नेगरी जानुभयो।

पछि भीम राईको घरमा सेल्टर लिन पुग्नुभयो तर भीम राई र चन्द्रको श्रीमतीका बीचमा अनुचित सम्बन्ध विकास भइसकेको थियो भनिन्छ। अब यिनीहरूलाई मार्नुपर्छ भन्ने सोच भीम राईले बनायो। १३ गते राती उज्यालो हुनेगरी उहाँ पुग्नुभयो। भीम राईले उहाँहरूलाई राम्रोसँग राख्यो। 'तपाईंहरू थाकेर आउनुभयो, हिउँ परेको बेला छ, पुसको बेला' भनेर उसले राख्यो। उहाँहरूले पनि विश्वास गरेर बस्नुभयो तर ऊ बिहानै प्रहरीलाई खबर गर्नका लागि गयो। सदरमुकाम पुगेर उसले कम्युनिस्टहरू आएका छन् भनेर सूचना दियो। सूचना पाउनेवित्तिकै पुलिस घर घेर्न आए। भीम राई राती घरमा आयो। पुलिसले १३ गते राती नै घर घेर्न पुगे।

उज्यालो नहुँदै उनीहरूले फायरिङ गर्न सुरु गरे र 'आत्मसमर्पण गरेर निस्किन्छस् भने निस्की होइन भने घरमा आगो लगाइदिन्छु' भनेछन्। त्यो बेलामा चन्द्र पुरीसँग हतियार थियो। उहाँले आफूसँग भएको गोली नसकुञ्जेलसम्म पुलिसलाई ताकेर फायरिङ गर्नुभयो। कुनै पनि पुलिसलाई लागेन। पुलिसले हानेको गोली लागेर चन्द्र पुरी ढल्नुभयो। चन्द्र ढलिसके अब मेरो बच्ने सम्भावना छैन भनेर हरि नेपालले प्रतिरोध गर्नुपर्छ भनेर आफूसँग रहेको खुकुरी बोकेर निस्किनुभएछ। हरि निस्किँदाखेरि गोपनीयता अपनाइयो भने पार्टी बच्छ। म मरे पनि पार्टी बचे मात्रै क्रान्ति सफल हुन्छ र कम्युनिस्ट व्यवस्था आउँछ भन्ने मान्यता बोकेर आफूसँग रहेका सबै चिठीपत्र, कागजात जलाउनुभयो। त्यसरी बाहिर निस्किएर खुकुरी लिएर प्रहरीसँग लड्न जाँदा उहाँ पुलिसको गोली लागेर ढल्नुभयो। यसरी एउटा अर्को कम्युनिस्ट योद्धाको पनि हत्या गरियो।

भीम राईको विश्वासघाती व्यवहारका कारण हरि नेपाल र चन्द्रबहादुर पुरीले ज्यान गुमाउनुपर्‍यो। यसरी एउटा प्रतिभा २०३६ पुस १४ गते (राजा वीरेन्द्रको जन्मोत्सव मनाउने दिन) मारिनुभयो। पूर्वको राजनीतिमा एउटा रत्नकुमार बान्तवा मारिएको घटनाले र अर्को हरि नेपाल मारिएको घटनाले कम्युनिस्ट पार्टी तत्कालीन नेतृत्व/संगठनमा सबभन्दा ठूलो क्षति पुग्यो। त्यसको परिणाम स्वरूप ताप्लेजुङ जिल्लामा कुलप्रसाद उप्रेती, मलगायत कतिपय साथीहरूले भूमिगत भएर काम गर्नुपर्छ भनेर काममा लाग्यौँ। यसको निरन्तरता अझै छ। शहीद र जनताको मुक्तिको सपना साकार पार्न सकिन्छ भन्ने दृढ विश्वास छ। फरक यति मात्र छ- त्यो बेला सशस्त्र क्रान्तिको कुरा गर्थ्यौं, अहिले शान्तिपूर्ण रूपान्तरणको।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.