|
फाइल फोटो

मनाङ : पर्यटकीय जिल्ला मनाङ आन्तरिक पर्यटनलाई सहज र गाउँ बस्तीको अवस्था चिनाउनको लागि होमस्टे सञ्चालन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा स्थानीयको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचनको लागि घरवास अर्थात होमस्टेको अवधारण ल्याइएको हो।

यस जिल्ला पर्यटन पदमार्गको रूपमा विश्वभर परिचित भएता पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि घरवास (होमस्टे) आवश्यकता रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बावुलाल तिरुवाले बताए। उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप बढेको हुँदा  पर्यटकको व्यवस्थापनमा होमस्टेले सहयोग पुर्‍याएको छ।

गाउँघरका मौलिक पुराना बस्तीहरूमा रमाउने भएकाले तिनै मौलिकता बोकेका बस्तीहरूमा होमस्टे सञ्चालनको अवधारण ल्याइएको हो। हाल यस जिल्लाका दुईवटा गाउँमा होमस्टे सञ्चालनमा आएका छन्।

नासों गाउँपालिकाअन्तर्गतका दुईवटा वडा ४ र ८ ओडार गाउँका १५ घर  र ताचै गाउँमा २६ घरमा होमस्ट सञ्चालनमा आएका हुन्। ओडार गाउँ यस जिल्लाको पहिलो होमस्टे हो भने ताचै गाउँ साउन २ गतेबाट औपचारिक रुपमा होमस्टे सञ्चालन गरिएको हो।

गाउँको चिनारीको वृत्तचित्र र मियुजिक भिडियोबाट गाउँलाई प्रचार/प्रचारमा ल्याउने उद्देश्यका साथ होमस्टे सञ्चालनमा आएको हो।  पर्यटन  प्रवर्द्धनबाट  गाउँको स्तर उन्नतिका लागि होमस्टेको अवधारण सँगै पदमार्गले नासों गाउँपालिकाका नौवटै वडाहरू जोड्ने लक्ष्य रहेको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

उनका अनुसार ताल, धारापानी, खोत्रो, थोचे, तिल्चे, ताचै, हुदै दानक्यु, वगरछाप, घ्यालनचोक, ओडार गाउँबाट धारापानी जोड्ने पदमार्गको योजना बनाएको बनाइ काम थालिएको छ। सरकारको अवधारणअनुरूप पर्यटन प्रवर्द्धनका लागि योजना बनाइ अगाडि बढेको र चामे गाउँपालिकामा पनि होमस्टे निर्माणका लागि योजनाहरू निर्माण गरेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।

आन्तरिक तथा बाह्य पर्यटनको लागि होमस्टे निर्माणमा लाग्दै मनाङको परम्परा र प्राचिन घरहरूको प्रयोग र सदुपयोगमा लागेको होमस्टे समिति ताचैका अध्यक्ष याद घलेले बताए। होमस्टेले मनाङको परम्परा, धर्म, संस्कृति र मौलिकतालाई उजागर गर्दै पारिवरिक वातावरणमा पर्यटकलाई आनन्दित बनाउन सक्ने उनको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.