नगरप्रमुख नेपालीद्वारा व्यक्तिगत रूपमा आर्थिक सहयोग

|

बागलुङ : जिल्लाको बुर्तिबाङका बाढीपहिरोपीडितलाई ढोरपाटन नगरपालिकाले राहत वितरण गरेको छ। गतमंगलबार राति परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण घरबारविहीन बनेका २८ परिवारलाई नगरपालिकाले आठ लाख ६० हजार रुपैयाँ राहत वितरण गरेको हो।

पीडितहरूको पहिचाहन गरी तीन समूहमा विभाजन गरेर राहत वितरण गरिएको ढोरपाटन नगरपालिका–१ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीले बताए। पूर्णरूपमा घर क्षति भएको र अन्यत्र बस्ने ठाउँ नभएकालाई 'क' वर्ग, घर पूर्ण क्षति भएको तर अन्यत्र बस्ने ठाउँ भएकालाई 'ख' वर्ग र आंसिक क्षति भएका र अन्यत्र वासस्थान समेत भएकालाई 'ग' वर्गमा विभाजन गरेर राहत रकम उपलब्ध गराएको भण्डारीले जानकारी दिए। 'क' वर्गमा पर्ने ६ परिवारलाई नगद रु ५० हजार, 'ख' वर्गमा पर्ने १२ परिवारलाई नगद रु ३० हजार र 'ग' वर्गमा पर्ने १० परिवारलाई नगद रु २० हजार प्रदान गरीएको ढोरपाटन नगरपालिकाले जनाएको छ। सबै बाढीपहिरोपीडितलाई नगर प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा प्रतिपरिवार पाँच हजार रुपैयाँसमेत प्रदान गरेका छन्।

पहिरोका कारण घरबारविहीन बनेका २८ परिवारलाई स्थानीय जनता बोर्डिङ स्कुलमा बस्ने व्यवस्था मिलाइएको छ। ‘जनता बोर्डिङमा खाने बस्ने व्यवस्था नगरपालिकाले मिलाएको छ’ भण्डारीले भने ‘राहत  उपलब्ध गराउने र व्यवस्थापनको लागि ठाउँको खोजी गर्ने काम भइरहेको छ।’

बाढीपहिरोका कारण क्षति हुनेको संख्या बढ्ने देखिएको छ। वडा कार्यालयमा आंशिक क्षतिको विवरण लिएर आउनेको संख्या बढ्दै गएको वडाअध्यक्ष भण्डारीले बताए। भत्केका घरभित्र रहेका सामानहरू निकाल्ने र सम्बन्धित व्यक्तिको जिम्मा लगाउने काम चलिरहेकाले क्षतिको विवरण आई नसकेको उनको भनाइ छ। नगरपालिकाले क्षतिको यथार्थ विवरण संकलन गर्न नगर उपप्रमुख करमती पुन मगरको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कार्यदलमा जिल्ला प्रसासन कार्यालय बागलुङको एकीकृत सेवा केन्द्रका प्रमुख जनकराज थापा, वडा नम्बर १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादव र नगरपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि रहने बताइएको छ। वडा कार्यालयमा निवेदन लिएर आउनेको संख्या बढ्दै गएका क्षतिको विवरण संकलन गर्न र यथार्थ पत्ता लगाउनका लागि कार्यदल गठन गरिएको वडाअध्यक्ष भण्डारीले बताए। यसैबीच जिल्ला दैविक प्रकोप उद्दार समितिले पनि बुर्तिबाङमा राहत पठाउने तयारी गरिरहेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितीले शुक्रबार बिहानसम्ममा घटना स्थलमा पुगेर राहत वितरण गर्ने तयारी गरिरहेको जिल्ला प्रसासन कार्यालयका अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए। बिहीबार बिहानै बुर्तिबाङ जाने तयारी भए पनि प्रमुख जिल्ला अधिकारीको व्यस्तताका कारण बैठक बस्न नसकेकाले टोली शुक्रबार मात्रै बुर्तिबाङ पुग्ने भएको हो।

यसैबीच गत मंगलवार जिल्लाको ढोरपाटन नगरपालिकामा बाढीपहिरोका कारण भएको क्षतिको विषयलाई लिएर राष्ट्रिय जनमोर्चा बागलुङले दुःख व्यक्त गरेको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजमोका जिल्ला सचिव धर्म कुँबरले ढोरपाटनमा भएको क्षतिले आफ्नो पार्टी अन्त्यान्दै दुखी भएको उल्लेख गरेका छन्। कुँवरले विज्ञप्तिमार्फत प्राकृतिक विपत्तिमा परेका ढोरपाटन वासीको उद्दार र रहतका लागि जतिसक्दो छिटो प्रकृया सुरु गर्न सबै तहका सरकारसँग माग गरेका छन्। वर्षाको समयमा जिल्लाका अन्य ठाउँमा समेत विपत्ति निम्तिन सक्ने भन्दै जनमोर्चाले सजग रहन आग्रह गरेको छ।

त्यस्तै बुधाबार बेलुका रिघामा जीप दुर्घटना भएको समाचारले दुःखी बनाएको उल्लेख गर्दै घटनामा नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर सहित १४ जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारमा सहयोग पुर्‍याउन सम्बन्धित पक्षको ध्यानार्षण गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.