|

सुर्खेत : कर्णाली प्रदेशकाम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लामा डाक्टर गोविन्द केसीको अनशनमा केही सीमित अराजक व्यक्ति र तत्त्वहरूले उच्छृंखलता मच्चाएको बताएका छन्। अर्काको जीवन र मरेको लाशमाथि राजनीति गर्न खोज्नेहरूबाट अराजक हर्कत भएको शाहीले आरोप लगाए।

मुख्यमन्त्री शाहीले जुम्लाबाट सुर्खेत आउँदै गर्दा सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गदै यस्तो बताएका हुन्। ‘प्रदेश सरकारको तर्फबाट डाक्टर केसीलाई जुम्लामा बसेर तपाईंको जीवन बचाउन सकिँदैन, आइसियुसम्म छैन, संघीय सरकारविरुद्धको आन्दोलन भएकोले काठमाडौंमा जानको लागि डा. केसीलाई अनुरोध गर्न गएको तर अस्पतालभित्र छिर्न नदिएका कारण गेटबाट नै हामी फर्केका थियौँ’ मुख्यमन्त्री शाहीले भने।

पछि केसीले 'म आफैँ काठमाडौं जान्छु' भनेकोले मात्र काठमाडौं पठाइएको तर कुनै दबाब र बल प्रयोग नगरेको मुख्यमन्त्री शाहीले जिकिर गरे। केही तत्त्वले अराजकता मच्चाएर असहज परिस्थिति बनाउन खोजेको भन्दै शाहीले प्रहरीले कुनै दमन नगरेको भनाइ राखे।

मुख्यमन्त्रीका अनुसार प्रहरीले गोली अश्रुग्यास तथा गोली केही नचलाएको तर झडपका क्रममा काठमा भएको फलामको किलो प्रहरीको छातीमा गढेर प्रहरी घाइते भएका हुन्। घाइतेको अहिले जुम्लामा नै उपचार भइरहेको र थप उपचारका लागि स्थिति हेरी काठमाडौं पनि लिन सकिने शाहीले जानकारी दिए।

प्रदेश सरकार सहजीकरण गर्नका लागि मात्र गएको र सहजीकरण गरेर डाक्टर केसीलाई काठमाडौं पठाएको मुख्यमन्त्रीको भनाइ छ। प्रदर्शनमा कर्णाली स्वास्थ्य प्रतिष्ठानका कर्मचारी, डाक्टर, विद्यार्थी र केही बाहिरबाट गएका अराजक व्यक्तिहरूले अराजकता फैलाएको भन्दै मुख्यमन्त्रीले भने, ‘सबैका गतिविधि सिसीक्यामेराको निगरानीमा रहेका छन्। मैले सिसीटिभीको डिभाइस प्रहरीलाई नियन्त्रणमा लिन भनेको छु, भिडियो हेरेर हामी दोषीलाई  कारबाही गर्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.