|

लहान : सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ६ सीतापुरस्थित मा.वि.तहको सामुदायिक विद्यालयका सेवा निवृत्तसहित दुईजना प्रधानाध्यापकले १० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको भन्दै विद्यालयले व्यापारिक प्रयोजनका लागि बनाएको सटरमा तालाबन्दी गरेका छन्। स्थानीय रामा महन्थी यादव जनता माध्यमिक विद्यालयले भवनसँगै पश्चिमतर्फ बनाएको १३ वटा सटरमा स्थानीय व्यापारीहरूले बुधबार बिहानदेखि तालाबन्दी गरेका हुन्।

विद्यालयका सेवा सेवा निवृत्त प्रअ मो. सनाउल्ला खाँ र वर्तमान प्र.अ.कासेन्द्र प्रसाद यादवले विद्यालयले निर्माण गरेको सटर भाडामा दिने भन्दै नौ जना व्यापारीहरुबाट १० लाख २० हजार रुपैयाँ उठाएर ठगी गरेको आरोपमा स्थानीय व्यापारीहरूले सटरमा तालाबन्दी गरेका हुन्। प्रअ खाँले आफू सेवा निवृत्त पूर्व पछिल्लो माघ १० देखि फागुन २५ गतेसम्म विभिन्न मितिमा नौ जनाबाट ७५ हजार रुपैयाँदेखि दुई लाख चालिस हजार रुपैयाँसम्म उठाएर हिंडेको स्थानीय व्यापारी मोहितलाल साहले बताए। प्रअ खाँ पछिल्लो फागुन १ गतेदेखि नै स्वेच्छिक अवकाशमार्फत् सेवा निवृत्त भइसकेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सिरहाले जनाएको छ। 

कसरी ठगिए व्यापारीहरू?

विद्यालयको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर आफ्नै लगानीमा टहरो निर्माण गरी वर्षौंदेखि खुद्रा व्यापार गर्दै आएका स्थानीय नौजना व्यापारीहरूसँग तत्कालीन प्रअ.खाँले रकम उठाएका थिए। पीडित व्यापारी शिवजी गुप्ताले पछिल्लो फागुन २४ गते दुई लाख र त्यसको केही दिनमा थप ४० हजार रुपैयाँ प्रअ खाँलाई बुझाएको भए पनि रसिद भने दुई लाख रुपैयाँको मात्र दिइएको गुनासो गरे। सीतापुरका अर्का पीडित व्यापारी योगेन्द्र साहले प्रअ खाँलाई पछिल्लो माघ २५ गते स्थानीय नथुनी साहको रोहवरमा एक लाख पाँच हजार रुपैयाँ बुझाएको भए पनि रसिद नपाएको बताए। 

तत्कालीन प्रअ खाँले विद्यालयको जग्गा भाडामा लिएर आफ्नै लगानीमा टहरो निर्माण गरी खुद्रा व्यापार गर्दै आएका नौजना व्यापारीसँग ‘सटर बनाएर दिन्छौं’ भन्दै १० लाख २० हजार रुपैयाँ उठाएका थिए। उनले मोहित नारायण साहसँग दुई पटक गरी एक लाख, सुरेशकुमार गुप्ता, सुरैतलाल साह, प्रदीप पासवान, रामउदगार रामसँग जनही ७५ हजार, लहुटी साफीसँग दुईलाख रुपैयाँ उठाएका थिए। 

रकम उठाएर सटर अर्कैलाई 

स्थानीय नौजना खुद्रा व्यापारीहरूसँग रकम उठाएर प्रअ खाँले विद्यालयले बनाएको सटर भने बढी रकम दिएर अन्यलाई नै दिएको पीडित व्यापारीहरूले बताए। पीडित व्यापारी रामउद्गार रामका अनुसार प्रअ खाँले पुनः जनही एक लाख रुपैयाँ लिएर गंगीयादेवी राय, मो. साविर, मो.मजाहिर, रामदेव दास, शरणदेव ठाकुर, श्रीदेव यादव, धनिकलाल यादव, राजकुमार यादवलाई सटर भाडामा दिएका छन्। त्यस्तै, जनही दुईलाख रुपैयाँ लिएर नथुनी साह, फियाज राइन, अमित गुप्ता, शिवचरण यादवलाई पनि विद्यालयले बनाएको सटर भाडामा दिइएको पीडित व्यापारीहरू बताउँछन्। 

प्रहरीमा ठगीको उजुरी

सेवा निवृत्त भइसकेका प्रअ खाँले रकम लिएर सटर अर्कैलाई दिएको र रकम फिर्ता माग्दा उल्टै ‘मलाई थाहा छैन’ भन्दै धम्क्याउने गरेकाले निवर्तमान प्र.अ.खाँसहित वर्तमान प्रअ कासेन्द्र प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरुजनाथ यादवसहित अन्य सदस्यहरूविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा ठगीको उजुरी हालेका छन्। उजुरीमा ठगी गर्नेहरूलाई तत्काल पक्राउ गरी ठगी गरेको रकम असुल उपर र कानुनी कारवाहीको माग गरिएको छ।   

के भन्छन् आरोपी खाँ

पछिल्लो चैत महिनामा सेवा निवृत्त हुनु पर्ने भए पनि माघ २९ गते राजीनामा बुझाएर फागुन १ गतेदेखि लागू हुने गरी सेवा निवृत्त भएका हुन्, निवर्तमान प्रअ खाँ। रकम ठगीको आरोपी मध्येका खाँले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै रकम संकलन गरिएको र आफूले विद्यालय छोड्ने बेलामा सबै बरबुझारथ गरिसकेको दावी गरे। 

‘विद्यालय व्यवस्थापन समितिले विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक र सम्बन्धित परिवारलाई सटर भाडामा नदिने निर्णय गरेको थियो’ सेवा निवृत्त प्रअ खाँले भने ‘रकम लिएकामध्ये मोहितनारायण साह आफैं विद्यालयका कर्मचारी हुन्, शायद त्यही भएर सटर नपाएको हुन सक्छ।’ ‘रकम उठाइएका सबै शिक्षक, कर्मचारी र सम्बन्धित परिवारका हुन् त’ भन्ने प्रश्नमा उनले त्यो व्यवस्थापन समितिलाई नै थाहा होला भन्दै थप बताउँन चाहेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.