|

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्धभाव कायम नभए राष्ट्रिय एकता कायम हुन नसक्ने बताए। बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ताे बताएका हुन्।

प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम नभएसम्म देशमा विकास हुन नसक्ने बताए। 'हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रोमा विकासका सम्भावना असाधरण छन्। तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनुपर्दछ।'

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा अझ धेरै सम्भावना रहेको पनि बताए। पौराणिक महत्व र एकीकरणका ऐतिहासिक प्रारम्भिक थलो पनि यही प्रदेश रहेको प्रधानमन्त्री ओलीले बताए। 'तिब्बतदेखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, उर्जा, शिक्षा, स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ हो' प्रधानमन्त्री ओलीले भने, 'यी सम्भवनालाई उचित प्रयोग गरेर यस प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय तहको हो। यसमा केन्द्रीय सरकारको भरपुर सहयोग रहन्छ।'

संघीय संरचना र प्रदेश सरकारको पहिलो अभ्यास भएकोले केही सरकार सञ्चालनमा केही असजिलो भए पनि आफ्नो अनुभवले खारिँदै जानुपर्ने प्रधानमन्त्री ओलीले बताए। 'हामी एउटा नौलो अभ्यासमा छौं। यस अघि हामीसँग प्रदेश सरकार सञ्चालन गरेको अभ्यास थिएन,' प्रधानमन्त्री ओलीले भने, 'अब आफ्नै अनुभवबाट सिक्दै यस प्रणालीलाई मजवुद बनाउनु पर्दछ।'

प्रधानमन्त्री ओलीले आफ्नो लोकतन्त्रप्रतिको निष्ठामा केही मानिसले शंका गरेको देख्दा आफैलाई अचम्म लागेको बताए। आधा शताब्दी भन्दा बढी समय लोकतन्त्रका लागि आफूले संघर्ष गरेको सम्झँदै प्रधानमन्त्री ओलीले भने, 'मैले नेतृत्व गरेका बेला लोकतन्त्र गुम्छ भन्नु आफैंमा हास्यास्पद छ।' 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.