|

तनहुँ : जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष ०७४\७५मा १३ हजार ३४६ जनालाई नयाँ नागरिकता जारी गरेको छ भने करिब अाठ हजार जनाले राहदानी बनाएका छन्। गत आवमा पुरानो नागरिकता प्रमाणपत्र हराएर वा झुत्रो भएर पाँच हजार ५०० जनाले प्रतिलिपि नागरिकताको प्रमाणपत्र बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

गत आवमा भन्दा नागरिकता प्रमाणपत्र बनाउनेको सङ्ख्या करिब ३३ प्रतिशतले वृद्धि भएको र राहदानी बनाउनेको सङ्ख्या भने करिब २२ प्रतिशतले घटेको कार्यालयले जनाएको छ। आव ०७४\०७५ मा जिल्लामा ७६ जना विपदबाट प्रभावित भएका छन् भने पाँच लाख ८० हजार रुपैयाँ विपद प्रभावितलाई राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयले २२१ जना द्वन्द्व प्रभावितलाई एक करोड १४ लाख राहत वितरण गरिएको छ। द्वन्द्व प्रभावितमध्ये ७६ जना विस्थापित, २३ जना मृतकका आफन्त, ४ जना द्वन्द्वमा आमाबाबु गुमाएका टुहुरा बालबालिका र पाँच जना द्वन्द्वमा अपांगता भएकाले राहत प्राप्त गरेका छन्। 

कार्यालयबाट आव ०७४\७५मा १८२ वटा संस्था दर्ता, ३०२ नाबालक परिचय पत्र, २५ वटा विवाह दर्ता, २५३ वटा शरणार्थी परिचयपत्र नवीकरण र ९ हजार जति विविध सिफारिस भएको प्रजिअ शर्माले बताए। सोही आवमा ६५ वटा मुद्दा फर्छ्योट तथा फैसला भएको उनले बताए। जिल्ला प्रशासन कार्यालयको कार्य बोझ विस्तार हुँदै गएको र विगत आव. भन्दा गत आवमा सेवाग्राहीको कुल संख्यामा वृद्धि भएको प्रजिअ शर्माले बताए। आव ०७४\७५ मा कार्यालयले तीन करोड २२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ भने एक हजार ३४२ जनालाई घुम्ती टोलीमार्फत स्थलगत रूपमा नागरिकता जारी गरेको कार्यालयले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउदै लैजाने समेत शर्माले प्रतिबद्धता जनाए। कार्यालयले सेवाग्राहीलाई नि:शुल्क निवेदन फाराम दिने, कार्यालयभित्रबाटै हुलाक टिकटको व्यवस्था, सेवाग्राहीलाई पंखासहितको बस्ने स्थानको व्यवस्था, पिउने पानीको व्यवस्था, स्तनपान कक्ष, बालबच्चाका लागि झोलुंगोको व्यवस्था, वृद्धवृद्धालाई विश्रामस्थल लगायतको व्यवस्था गर्दै कार्यालय सेवामैत्री बन्दै गएको उनले बताए। 

त्यस्तै जिल्ला प्रशासन कार्यालयले सेवालाई प्रविधिमैत्री बनाउदै अडियो भिजुअल नागरिक वडापत्र तथा 'मोबाइल एप्लिकेसनु समेत बनाएर लागू गरिसकेको छ। कार्यालयबाट प्रदान गरिने सेवा र विविध विषय एप्लिकेसनबाटा डाउनलोड गरी मोबाइलबाटै जानकारी पाउन सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.