|

दमक (झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि गरेको चीन भ्रमणका क्रममा भएको सहमतिको कार्यान्वयन प्रक्रिया थाल्न भन्दै चिनियाँ टोली झापा आएको छ।

मंगलबार झापा आइपुगेको टोलीले पहिलो चरणमा झापा र मोरङको सीमावर्ती रतुवा नदीको प्रारम्भिक सर्वेक्षण गरेको छ। चीनबाट काठमाडौं हुँदै  झापाको भद्रपुर विमानस्थलमा ओर्लिएको सात सदस्यीय  टोलिले पहिलो चरणको काम प्रधाधनमन्त्री ओलीको गृहक्षेत्र तथा गृहनगर दमकको पश्चिमी किनारमा रहेको मावा खोलाबाट काम सुरु गरेको हो। 

यो टोलीले झापा भएर बग्ने कन्काई, बिरिङ, कमल, सतासी, रतुवा, मावा लगायत नौ नदीको प्रारम्भिक सर्वेक्षण गरी तटबन्धनका साथै खोला नदी कटानको स्थायी समाधान खोज्ने प्रधानमन्त्रीको स्वकीय सचिवालयका जनसम्पर्क तथा विकास कार्यक्रम विज्ञ होमबहादुर थापाले जानकारी दिए। थापाले भने, ‘कामको सुरुवात रतुवा खोलाबाट भएको छ। इलामसँगको सीमा नजिकैदेखि भारतसँगको सीमा नजिकैको महादेवासम्मका ठाउँमा नेपाल र भारतका प्रतिनिधि पुगेर खोलाको अवस्था हेर्ने काम भएको छ।’

द्विदेशीय सहमतिमा नेपालका विभिन्न खोला नदीको कटान र डुबान समस्याको दिगो समाधानका लागि चीनले सहयोग गर्ने उल्लेख थियो। सोही सहमतिका आधारमा मंगलबार चिनियाँ टोली झापा आइपुगेको हो। चीनस्थित चाइना कम्युनिकेसन कम्पनीका प्रतिनिधिहरूको टोलीले यहाँका खोला नदीहरुबाट बर्सेनि हुने क्षतिका बारेमा जानकारी लिने काम थालेको हो। यस्तै नदीहरूको कटान र डुबान समस्या  समाधानका लागि आवश्यक तटबन्धन र खोलाका कारण बगरमा परिणत भएको जमिनको सदुपयोगका विषयमा समेत प्रारम्भिक सर्वे गर्ने जनाइएको छ।

के गर्छ चिनियाँ टोलीले

चिनियाँ टोलीले पहिलो चरणमा झापाका नदीहरूको कटान, डुबान तथा क्षतिका बारेमा प्रारम्भिक सर्वेक्षण गर्नेछ। सर्वेक्षणका आधारमा विस्तृत सर्वेक्षण हुने र सो पछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका सिनियर इन्जिनियर अरविन्दकुमार गुप्ताले जानकारी दिए। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा स्थायी समस्या समाधानका लागि सहमति भएका खोला तथा नदीहरु मध्ये प्रदेश १ को झापाबाट काम सुरु भएको र सहमति भएका सबै खोला नदीको प्रारम्भिक सर्वेक्षण पछि प्रतिवेदन तयार हुने उनको भनाइ छ।

अध्ययन गरिएका खोलाहरुको दुवैतर्फ ३० देखि ३५ किलोमिटर सम्म स्थायी बाँध निर्माणको लक्ष्य रहेको गुप्ताले जानकारी दिए। झापाका नदीहरूमा मात्र यस्ता प्रकारको बाँध ५०० किलोमिटरको हाराहारीमा निर्माण हुनेछन्। सो बाँधले नदी किसानको जमिन, बस्ती तथा अन्य संरचनाहरूको दिगो रुपमा संरक्षण गर्ने छ ।

चीनसँगको अपेक्षा

चिनियाँ टोलीसँगै नदीहरुको प्रारम्भिक अध्ययनमा समेत खटिएका झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाले झापाका नदीहरुमा चिनिया पक्षले बाँध निर्माण तथा तटबन्धनपछि पाँच हजार बिघाको हाराहारीमा जमिन उकास हुने अपेक्षा गरेका छन्। खोला निश्चित ‘ट्र्याक’ मा नरहेका कारण हजारौ बिघा जमिन अहिले बगरको रूपमा रहेको छ। तटबन्धनपछि उकास हुने जमिनको बहुउपयोग गरीउ उपयोग गर्न सकिने साँवा बताउँछन्। 'सुकुम्बासी समस्या समाधान गरी एकीकृत बस्ती निर्माण गर्न र औद्योगिक क्षेत्र सञ्चालनलगायतमा यो जमिन उपयोग गर्न सकिन्छ', उनले भने।

चिनियाँ टोलीले दमकका विभिन्न स्थानमा पुगेर रतुवा खोलाको अवस्थाका बारेमा जानकारी लिएको नगरप्रमुख रोमनाथ ओलीले बताए। खोला नदीका कारण बर्सेनि हुने गरेको क्षति समाधानका लागि चिनियाले गर्ने तटबन्धनले दमकमा पनि सयौं बिघा जमिन तथ बस्तीको संरक्षण हुने आशा गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.