|

चितवन : पहिलो किस्ता पाएका जिल्लाका भूकम्पप्रभावितले अझै दोस्रो किस्ताको रकम पाएका छैनन्। तेस्रो किस्ता पाउने न्यून छन्।

नक्सापास, ऐलानी जग्गा, पहिले बनिसकेका घर र नाम दोहोरो भएकोलगायत कारणले प्रभावकारी रूपमा किस्ता वितरण हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले जानकारी दिए। 

असार मसान्तसम्म चितवनमा ३३ प्रतिशत भूकम्पप्रभावित (लाभग्राही)ले दोस्रो किस्ताको रकम बुझेका छन्। जिल्लामा ७६ प्रतिशतले पहिलो किस्ता लिए पनि विभिन्न अवरोधका कारण दोस्रो किस्ता लिने भूकम्पपीडितको संख्या भने आधाले कम छ। किस्ता वितरण अझै सोचेअनुसार प्रभावकारी हुन सकेको छैन। तेस्रो किस्ता लिने तीन प्रतिशत मात्रै छ।

पोखरेलका अनुसार अहिलेसम्म जोखिम क्षेत्रका ५२ घर परिवारलाई जग्गा उपलव्ध गराएर बस्ती सार्ने प्रक्रियामा लगिएको  छ। 'विगतमा देखिएको समस्या यथावत् नै छ, पोखरेलले भने, अब दोस्रो किस्ताको म्याद समेत सकिएको छ, सबै अन्योल छ।' तर किस्ता वितरणको म्याद भने थपिने उनले बताए।

चितवनमा भूकम्प प्रभावितको संख्या सात हजार ३३५ परिवार रहेको छ। त्यसमध्ये पाँच हजार ६२६ जना (७६ प्रतिशत) ले पहिलो किस्ता बुझेकामा दोस्रो किस्ता लिने २ हजार ४२८ जना (३३ प्रतिशत) रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) कार्यालय चितवनका इन्जिनियर सुजन नेपालले जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म तेस्रो किस्ता लिने जम्मा २२६ जना (तीन प्रतिशत) मात्रै छन्। जिल्लामा राहत वितरण प्रभावकारी हुन नसके पनि अन्य जिल्लाको तुलनामा भने चितवनमा राम्रो प्रगति भएको नेपालको दाबी छ। 

कार्यालयले दिएको तथ्यांकअनुसार तेस्रो किस्ता वितरणमा अहिलेसम्म चितवनमा सबैभन्दा कम इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा शून्य दशमलव ६ प्रतिशतमात्रै प्रगति भएको छ। 

भरतपुर महानगरमा २‍.५, खैरहनी नगरपालिकामा नौ, राप्तीमा दुई, माडीमा १७ र रत्ननगर नगरपालिकामा १३ प्रतिशत सेवाग्राहीले तेस्रो किस्ता बुझेका छन्। तेस्रो किस्ताको रकम बुझ्ने म्याद भने अझै आगामी पुससम्म छ। 

चितवनको भरतपुर महानगरमा ७१०, रत्ननगरमा ७३१, खैरहनीमा ५५९, राप्तीमा दुई हजार ४३, माडीमा २३, कालिका नगरपालिकामा ९१६ र इच्छाकामना गाउँपालिकामा दुई हजार ३५३ जना भूकम्पको लाभग्राही सूचीमा छन्। 

भरतपुर महानगरपालिका हेर्दै आएका इन्जिनियर राजीव ज्ञवाली चितवनको भरतपुर २५ र २९ मा ऐलानी जग्गाका कारण राहत वितरण गर्न नसकिएको बताउँछन्। सरकारले घर बनाउनका लागि पहिलो किस्ता ५० हजार दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता एक लाखका दरले सहयोग गर्ने गर्छ। यसरी किस्ता पाउने तोकिएको काम सक्नुपर्छ। 

५२ परिवार घर स्थानान्तरण हुँदै

चितवनमा भूकम्पपछि जोखिममा परेको बस्तीका १०२ घर मध्य ५२ परिवार सुरक्षित स्थानमा सर्दैछन्। उनीहरुको घर निर्माण प्रक्रिया तीव्र भएको इन्जिनियर सुजन नेपालले बताए। 

राप्तीका नगरपालिका वडा नम्बर १२, र १३ को एसिखाई र वकराङका १६ घरलाई कालिटार र विम्पुक, इच्छाकामना गाउँपालिका–४ तीनघरेका पाँच घरलाई लेवाटार, इच्छाकामना–२ हेप्चेकका १० घरलाई त्यहीको दुम्किममा स्थानान्तरण गर्न थालिएको छ। उनीहरुको घर निर्माण तीव्र भएको जनाइएको छ ।

 यस्तै इच्छाकामना– ३ धुषाका २० घरलाई यहाँको कुरिनटारमा र कालिका नगरपालिका– १ मैतेसको एक घरलाई सोही स्थानको सुरक्षित ठाउँमा सार्न लागिएको छ। ५० घरको विषयमा भने छलफल चलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.