|

काठमाडौं : संस्कृत विद्यालयमा कक्षा ८ मा पढिरहेका आयुष रिजाललाई फिल्ममा एकदमै रुचि थियो। धादिङबाट संस्कृत पढ्नका लागि काठमाडौं आएका उनी शहरको अन्य रमझमभन्दा पनि फिल्ममा रमाउँथे। 'फिल्ममा मेरो विशेष रुचि थियो', भन्छन्, 'कहिले विद्यालयको घण्टी लाग्ला र विश्वज्योति हल छिरौँ भन्ने हुन्थ्यो।'

आयुष खेलमा पनि उत्तिकै चासो राख्थे। उनको क्याप्टेनसीपमा विद्यालय तथा कलेजमा भएका धेरै खेलहरू जितेका पनि छन्। उनी खेलमा पनि विशेषगरी भलिबल खेल्न रुचाउँथे। आयुष मार्सल आर्ट खेलाडी पनि हुन्।

फाइटर बनेर फिल्ममा प्रवेश

२०५७ सालतिरको कुरा हो, मार्सल आर्टका साथीहरूको संगतले गर्दा उनले 'नाम के हो' नामक फिल्ममा काम पाए। लगातार दुई वर्ष फाइटर भएर काम गरिसकेपछि आयुषले सहायक द्वन्द्व निर्देशकको रूपमा काम पाए। उनले पहिलो पटक द्वन्द्व निर्देशक राम जनकको एसिस्टेन्ट भएर काम गरेका थिए।

आयुषका  एक जना दाइ थिए, रवीन्द्र बराल। दुवैले फाइटरका रूपमा काम गरिरहेका थिए। उनीहरूको समूहमा धेरै व्यक्तिहरू भए पनि उनीहरू दुईका धेरै कुराहरू मिल्थे। 'हामी दुईचाहिँ अलिक पढेका थियौँ। त्यसैले पनि होला हाम्रो ट्युनिङ एकदमै मिल्थ्यो।'

दुई जनाको सल्लाहमा उनीहरूले टेक्निकल काम गर्ने विचार गरे र प्रोडक्सन हाउस खोले। उनी भन्छन्, 'दुवै जनालाई टेक्निकल काम गर्नुपर्छ भन्ने लागेपछि हामीले प्रोडक्सन कम्पनी खोलेका थियौँ।' 'भिजन नेपाल फिल्मस्' नाम राखिएको उक्त प्रोडक्सन हाउसबाट उनीहरूले विज्ञापन तथा म्युजिक भिडियोहरू निर्माण गर्थे।

त्यहाँ आयुष रवीन्द्रको क्यामेरा एसिस्टेन्ट भएर काम गर्थे। रवीन्द्र फिल्ममा फाइट डाइरेक्सन गर्थे आयुष त्यहाँ असिस्टेन्ट भए काम गर्थे। आयुष भन्छन्, 'हामीले प्रोडक्सन हाउस खोलेर धेरै विधामा रहेर काम गरेका छौँ।'म्युजिक भिडियो खिच्दा आफैँलाई खेल्ने अफर

आयुष आफैँ क्यामेरा म्यान भइसकेका थिए। उनी आफैँ पूर्ण भिडियो खिच्थे। सुन्दर लुक्स भएका आयुषलाई उनका साथीहरूले भिडियोमा अभिनय गर्न सुझाए। उनले पनि चासो नहुँदै खेल्दिऊँ न त भन्ने भावनाले पहिलो म्युजिक भिडियोमा अभिनय गरे। उनी भन्छन्, 'खासै इच्छा नभए पनि साथीहरूको प्रेरणाले गर्दा मैले दुईवटा लोक दोहोरी गीतमा अभिनय गरेँ।'

उनले अभिनय गरेको भिडियो टेलिभिजनमा प्रसारण भइरहँदा त्यस बेलाका चर्चित गायक हेमन्त शर्माले उनलाई देखेछन्। हेमन्तले उनलाई आफ्नो गीतको भिडियोमा खेलाउन धेरै खोजेछन् तर नभेटेपछि प्रोडक्सन हाउसको सहयोगमा उनीसँग सम्पर्क भयो।

हेमन्तले आयुषलाई फोन गरे। 'मैले एउटा गीत बनाएको छु। यो गीतमा तपाईंले अभिनय गरिदिनुपर्‍यो।' आयुष चकित हुँदै 'हुन्छ' भनेछन्। उनी सम्झिन्छन्, 'त्यो बेलाको एकदमै चर्चित गायकले मलाई अफर गर्दा छुट्टै खुसी मिलेको थियो।' पछि भिडियोमा आलोक नोम्वाङ निर्देशक हुने थाहा पाएपछि त आयुषमा झन खुसी थपिएको थियो।

उनले हेमन्त शर्माको 'आउँदै गर मालती' बोलको गीतमा काम गरे। आलोकको निर्देशनमा तयार भएको उक्त भिडियो एकदमै चर्चित पनि बन्यो।

जिम्मेवारी थपिँदै गयो

२०६२ सालतिरको कुरा, त्यो बेला आधुनिक गीत संगीतको बाढी आएको थियो। सबै श्रोताहरूले आधुनिक गीतलाई बढी प्रथामिकताका साथ हेर्ने तथा सुन्ने गर्थे।

आयुषका एक साथी सुवास रेग्मीले आयुषलाई आधुनिक गीत निकाल्नेबारे सल्लाह दिए। सबैले छलफल गरेर 'ढलेँ म ढलेँ' बोलको गीत बनाउने तयारी भयो, जुन गीतलाई स्वरूपराज आचार्यले गाए।

गीत तयार भयो। अब भिडियो निर्माण गर्नुपर्‍यो। विन्ध्यवासिनी म्युजिकमा संस्थापकसमेत रहेका सुवासले आयुषलाई थप जिम्मेवारी थपिदिए। मतलब सुवासले यस गीतको भिडियोमा अभिनय तथा निर्देशनको जिम्मा पनि आयुषलाई नै सुम्पिदिए। आयुष भन्छन्, 'मलाई त जिम्मेवारी थिपिँदै गयो।'

आयुषले पाँच दिन लगाएर तयार पारेको उक्त गीतको भिडियो एकदमै हिट भयो। उनी सम्झिन्छन्, 'बजारमा यस गीतले छुट्टै क्रेज बनाएको थियो। यस गीतको चर्चा चौतर्फी नै थियो।'

रेखाको नजरमा परे आयुष

टेलिभिजनमा आयुषको 'ढलेँ म ढलेँ' गीत बज्न थाल्यो। नायिका रेखा थापाले त्यो भिडियो देखिन् र फिल्ममा खेलाउने निर्णय गरिन्। 'रेखा फिल्मस्'को व्यानरमा फिल्म 'हिफाजत' बन्ने तयारीमा थियो।

रेखाले आयुषलाई फिल्ममा खेलाउन खोजिरहेकी थिइन्। यता, आयुष म्युजिक भिडियोमा अभिनय तथा निर्देशनमा नै व्यस्त थिए।

संगीतकार वसन्त सापकोटाको नयाँ एल्बमको एक गीतको भिडियो बनाउने जिम्मा आयुषसँग आइपुग्यो। आयुषको कन्सेप्टअनुसार उक्त गीतको भिडियोमा फिल्मकी चर्चित नायिकालाई अभिनय गराउनुपर्ने भयो। 'मेरो कन्सेप्टअनुसार चर्चित नायिका चाहिएपछि मैले भिडियोमा रेखा थापालाई खेलाउने तय गरेँ', आयुषले भने। उता रेखा आयुषलाई खोजिरहेकी थिइन्, यता आयुष रेखालाई।

संयोग यस्तो बनिदियो, सत्य-स्वरूप आयुषको अफिसमा आइराख्थे। एक दिन उनीहरू त्यहीँ भएको बेला रेखा थापाले सत्यराजलाई फोन गरिन्। सत्यले आफू आयुषको अफिसमा भएको बताउन नपाउँदै रेखाले आयुषलाई फोन दिन आग्रह गरिन्। 'यता मैले उहाँलाई खोजिरहेको, उता उहाँले मलाई', आयुष भन्छन्, 'उहाँले भेटन् बोलाउनुभयो। म पनि मैले बनाउन लागेको गीतको सिडी बोकेर उहाँलाई भेट्न गएँ।'

अफर गर्न गएका आयुष अफर लिएर आए

आयुषलाई भेट्न जाने बेलासम्म पनि थाहा थिएन, रेखाले किन आफूलाई भेट्न बोलाइन्। आयुष त्यहाँ रेखालाई म्युजिक भिडियोमा खेलाउने अफर लिएर गएका थिए। आयुष भन्छन्, 'मलाई रेखाजीले किन बोलाउनु भयो भन्ने थाहा थिएन। मचाहिँ भिडियोको अफर लिएर गएको थिएँ।'

रेखासँग भेटेपछि आयुषलाई उनले फिल्म खेल्न अफर गरे। आयुष दंग परे। उनले त्यहाँ केही उत्तर नदिई आफ्नो गीतको सिडी छाडेर आए। रेखाले गीत सुनेर प्रतिक्रिया दिने बताइन्। आयुष पनि सोचेर उत्तर दिने भन्दै छुट्टिए। अफर लिएर गएका आयुष अफर लिएर आए।

आयुषले साथीसँगको सल्लाहपछि फिल्म खेल्न तयार भए। 'साथीहरूले नै फिल्म खेल्न भनेपछि म पनि फिल्म खेल्न तयार भएको थिएँ', आयुषले सुनाए।

फिल्म हिट, आफू नि हिट

आयुषले 'हिफाजत' फिल्ममा काम गरे, जुन फिल्म एकदमै हिट भइदियो। आयुषको चर्चा पनि उत्तिकै भइदियो। आयुष भन्छन्, 'फिल्म मात्र हिट भएन, फिल्मले मलाई पनि हिट गराइदियो।'

त्यसयता आयुषले धेरै फिल्ममा काम गरे। उनले अभिनय गरेका धेरै फिल्महरू सफल पनि छन्। उनी हिफाजत फिल्मकै सफलताका कारण अहिले यो स्थानमा पुगेको बताउँछन्। भन्छन्, 'म अहिलेसम्म पनि हिफाजतको क्रेडिटमा काम गरिरहेको छु। हिफाजतपश्चात मैले खाली हात बस्नुपरेको छैन।' आयुषले भोजपुरी फिल्ममा पनि काम गरेका छन्। उनले लगभग एक दर्जन फिल्ममा अभिनय गरेका छन्।

प्रदशर्नको तयारीमा 'ब्ल्याक'

आयुषको अभिनय रहेको नयाँ फिल्म 'ब्ल्याक' प्रदशर्नको तयारीमा छ। आयुष यस फिल्ममा आफू विलकुलै नयाँ भूमिकामा देखिन लागेको बताउँछन्। भन्छन्, 'यस फिल्ममा मैले नेगेटिभ भूमिका निर्वाह गरेको छु, जुन कुरा मेरो करियरको नयाँ पक्ष हो।'

उनी यस फिल्मबाट आशावादी छन्। 'ट्रेलर र गीतले पाएको चर्चाअनुसार फिल्म हिट हुन्छ भन्ने लाग्छ', उनी भन्छन्, 'मिहिनेतअनुसार फिल्म राम्रो बनेको पनि छ।'

अबको योजना

आयुष क्यामेराम्यान, भिडियो निर्देशक तथा कलाकार हुन्। उनको परिचय फराकिलो छ। फिल्ममा अभिनय गर्न थालेपछि उनले क्यामेराको कामलाई थाती राखेका छन् भने भिडियो निर्देशन तथा अभिनयमा उनी सक्रिय नै छन्।

भविष्यमा पनि उनी आफू यही क्षेत्रमा रहेर काम गर्ने बताउँछन्। भन्छन्, 'म जुनसुकै तवरबाट भए पनि यही क्षेत्रमा रहेर काम गर्छु।'

उनको योजना अर्को पनि छ। उनी ४५ वर्ष कटेपछि पुराण भन्ने तथा पण्डित्याइँमा लाग्न सक्ने बताउँछन्। ब्राह्मणको घरमा जन्मिएका उनले संस्कृत पढेका छन्। त्यसैले पनि उनको रुचि त्यता पनि छ। उनी भन्छन्, 'पढेको कुरालाई बिर्सिएको छैन। सायद पछि पुराण भन्नेतिर पनि लागिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.