|

चितवन : चितवनको रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम सुरु गरेको छ। नगरपालिकाको पशुपंक्षी शाखाका प्रमुख शालिग्राम पौडेलले साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन सुरु गरिएको जानकारी दिए।

'अब साउन १गतेबाट व्याएका गाईले भत्ता पाउँछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण सुरु हुन्छ,' पौडेलले भने। तर त्यसका लागि प्रमाण भने पुर्‍याउनुपर्ने हुन्छ।

भत्तास्वरूप प्रतिगाईले रु ५०० पाउने छन्। किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याईएको हो। गाई ब्याउने बित्तिकै किसानले खबर गरेपछि पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख गर्छन्। अनि उपयुक्त समय मिलाएर भत्ता वितरण हुने रत्ननगरको पशुपंक्षि शाखाले जानकारी दिएको छ। प्रतिगाई एक हजारका दरले दिने तयारी गरिए पनि नगरपालिकाले बजेट कटौती गर्दा रु ५०० मात्रै दिन लागिएको हो।

चितवनको रत्ननगर नगरपालिका क्षेत्रमा करिव ३५ हजार गाई रहेका छन्। व्यवसायीक रूपमा १०० गाई फार्म छन्। तर स्थानीय जातका गाईले समेत भत्ता पाउने पशुस्वास्थ्य प्राविधिक ईश्वर मिश्र बताउछन्। रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २०० छ। त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छ भन्ने अनुमानले करिब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको मिश्र बताउँछन्।

यसका लागि ४० लाख बजेट माग गरिएपनि नगरपालिकाले रु २० लाख बजेट छुट्याएको उनले जानकारी दिए। थोरै गाई पालन गर्ने किसानले समेत भत्ता स्वरूपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुषाल बताउँछन्। 'यो रकमले केही हुने त होईन, तर पनि सम्बोधन गर्यो, सम्झ्यो भन्ने हुन्छ नी,' भुषालले थपे।

उनले सरकारले पशुपालन व्यवसायप्रति राम्रो ध्यान दिननसक्दा धेरै व्यवसायीहरु पलायन भइरहेको समेत बताए। रत्ननगर जिरौनामा ४ वटा गाई पालन गर्दै आउनुभएका डोलबहादुर बस्नेतको दुई वटा गाई व्याउने छ।

'अब ब्याउनेबित्तिकै खबर गर्छु,' उनले खुसी हुँदैभने। रत्ननगरको पिठ्वास्थित हिमचुली दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानका अहिले २५० गाई छन्। त्यसमध्ये आधा गाई ब्याउने छन्।

सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछाने सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक नै भएको प्रतिक्रिया दिन्छन्। तर रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको गुनासो किसानहरूको छ।

रत्ननगमा प्रतिलिटर दूधको एक रुपैयाँ अनुदानका कार्यक्रमसमेत चलिरहेको छ। हिमचुली दुग्ध उत्पादक सहकारीले यसपटक दूधमा प्रतिलिटर रु १ रुपैयाँ अनुदानले चार लाख पाँच हजारको अनुदान वितरण गरेको छ। यस्तै पाञ्चायन दुग्ध उत्पादक सहकारीले रु आठ लाख वितरण गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.