|

काठमाडौं : नेपालबाट वादी समुदायले परम्परागत रूपमा गर्दै आएको नाचगान गरेर साँझबिहानको छाक जोहो गर्ने प्रथा लगभग अन्त्य भइसकेको छ। त्यससँगै वादी समुदायका केही महिला दिदीबहिनीले पेसाका रूपमा अँगाल्दै आएको देहव्यापारको अन्त्य भएको पनि करिब दशक हुन थालिसकेको छ।

वादी महिलाले देहव्यापार गर्छन् भनेर लागेको कलंक मेटाउन सांसदसमेत रहेकी उमा वादी, निर्मला वादी, मीना वादीहरूको भूमिका नेपालको इतिहासमा बिर्सन सकिँदैन। तर, आज पनि वादी महिला भन्नेबित्तिकै देह बेच्ने जातका महिला हुन् भनेर चिनाइँदा वादी समुदायका नयाँ पुस्ता सायदले चित्त दुखाउँदैनन्।

वादी जातिको पुर्ख्‍यौली पेसा भनिएको देहव्यापारको कथामा आधारित रहेर फिल्म निर्माण गरिएको छ 'पण्डित बाजेको लौरी'। खासगरी वादी महिलाले पितापुर्खाको पेसाका नाममा भोग्दै आएको कहालीलाग्दो कथा यस फिल्ममा कैद गरिएको छ।

राम्रो श्रीमती बिहे गरेर ल्याएका वादी कान्छा 'विजय बराल'ले श्रीमतीको सौन्दर्यलाई आफ्नो कमाइ खाने भाँडो बनाउछन्। श्रीमानको माया, घरपरिवार, आमा बन्ने सपना बोकेकी वादी कान्छाकी श्रीमती मन्दिरा 'सन्ध्या केसी' आफ्नो श्रीमानले खोजी ल्याएको ग्राहकसँग आफ्नो देह बेच्न बाध्य हुन्छिन्। श्रीमतीका रूपमा पाउने माया मन्दिराले वादी कान्छाबाट एउटा खाट, गाजल र लिपिस्टिक मात्रै पाउछिन्। तर, मन्दिराको सपना मनभित्रै गढेर बसेको हुन्छ। मन्दिराले पण्डितसँगै आफ्नो सपना पूरा गर्ने सपना देख्न सुरु गर्छिन्।

यता, गाउँमा सबैको प्रिय बनेका सीताराम पण्डित 'प्रवीण खतिवडा' भने लुकिछिपी मन्दिराको नियमित ग्राहक बनेका हुन्छन्। आफ्नो हजुरबुबाको पुर्ख्‍यौली पण्डित्याइँ गर्ने लौरी प्राप्त गरेका पण्डित बाजे सीतारामले १०८ पटक होम हाल्ने सपना देखेका हुन्छन्। त्यत्तिकै रूपमा उनको पण्डित्याइँले ख्याती पनि प्राप्त गरेको हुन्छ। तर, उनको भित्री कुरा भने कसैलाई थाहा हुँदैन। बाजेको पुर्ख्‍यौली लौरीका कारण सानै छँदा कसिदिएको लगनको पनि उनले बेवास्ता गरिरहेका हुन्छन्। भने एउटै बाजेको नाति भएर पनि कान्छो नातिले लौरी पाउँदा छटपटिएर बसेका सीतारामका दाइलगायतका गाउँका पण्डितहरू सीतारामको कमजोरी खोज्दै हिँड्छन्।

सीतारामको १०६ औं पटक होम हाल्नेक्रम चलिरहेको हुन्छ। त्यत्तिकैमा उसको लौरी हराउछ। पुर्ख्‍यौली लौरी हराएपछि पण्डित बाजे विक्षिप्त हुन्छन्। फिल्मले मध्यान्तर अगाडि दर्शकलाई निकै हँसाउछ। फिल्म हेरुञ्जेल दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ।

समग्रमा फिल्मले वादी प्रथा, ब्राह्‍मणको पण्डित्याइँबीचको कथा बोल्छ। यसमा सिङ्गो समुदायको कथा नभएर एउटा गाउँका केही व्यक्तिबीचमा फिल्म घुमेको छ। तर, फिल्म हेरुञ्जेल दर्शकलाई यसले तानिरन्छन्। फिल्ममा वादी समुदाय र ब्राम्हण समुदायबीचको कथालाई द्वन्द्वात्मक रूपमा प्रस्तुत गरिएको छ। फिल्मले केही कथा, केही हाँस्यव्यङ्ग्य र केही सस्पेन्स बोकेको छ। तर, फिल्म समुदायको कथा नभएर व्यक्तिमा केन्द्रित देखिन्छ।

समग्र वादी समुदाय र ब्राह्‍मणबीचको कथा भनिए पनि त्यसलाई केही दृष्यहरूमा वादी प्रथा अन्त्य गर्दाको सन्दर्भ वा समुदायका अरू व्यक्तिका कथा पनि देखाउन सकेको भए अझ सुनमा सुगन्ध हुने देखिन्छ। उक्त अधृत फिल्मस् प्रालिले निर्माण गरेको फिल्म 'पण्डित बाजेको लौरी' शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। थमनकुमार भण्डारीले निर्माण गरेको फिल्म दीपक ओलीले निर्देशन गरेका हुन्।

फिल्ममा मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रवीण खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतले अभिनय गरेका छन्।

महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’को सहनिर्माता किशोर खड्का हुन्। श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको चलचित्रमा गीतमा मीना निरौला र श्रीकृष्ण बम मल्लको आवाज रहेको छ। विदुर पाण्डेको छायांकन रहेको चलचित्रको सम्पादन मित्र डी गुरुङले गरेका हुन्।

ट्रेलरः

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.