|

पर्सा : सधैं लक्ष्य भेटाउँदै दायरा बढाउन सफल वीरगन्ज भंसार कार्यालयले गएको आर्थिक वर्षमा भने राजश्व संकलनको लक्ष्य भेट्न नसकेको पाइएको छ। व्यवहारिक रूपमा राजश्व संकलनको लक्ष्य भेट्न नसक्नुमा अझै मधेश आन्दोलनको कहर बाँकी रहेको पाइएको हो। 

विस २०७२ सालको मधेश आन्दोलनमा चार महिना लामो नाकाबन्दी भएपछि व्यवसायीहरू अरू नाकातर्फ पलायन भएयता अझै सबै व्यवसायी पूर्णरूपमा यो नाकामा फर्की नसकेकोले  वीरगन्ज भंसार कार्यालयको राजश्वको लक्ष्यमा पनि कमी आएको वीरगन्ज भंसार कार्यालयले जनाएको छ।

गएको अर्थिक बर्ष अथवा आव ०७४/०७५ मा वीरगन्ज भंसार कार्यालयले लक्ष्यको तुलनामा २.५२ प्रतिशत लक्ष्य भेट्न नसकेको वीरगन्ज भंसार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए। लक्ष्यको दायरा पनि अघिल्लो आवको भन्दा बढ्नु र केही अन्यत्र नाका पुगेको व्यवसायीहरू पूर्णरूपले यो नाकामा फर्किनसक्नु पनि लक्ष्य नभेट्नुको मूल कारण हुने उनको तर्क छ।

वीरगन्ज भंसारलाई राजश्व विभागले कुल एक खर्ब ३४ अर्ब ३९ करोड २४ लाख २५ हजार रुपैयाँ राजश्व लक्ष्य दिएकोमा कार्यालयले जम्मा एक खर्ब ३१ अर्ब ३१ लाख १७ हजारमात्र राजश्व संकलन गर्न सकेको वीरगन्ज भंसार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

'यो कुल लक्ष्यको तुलनामा तीन अर्ब ३८ करोड ९३ लाख आठ हजार रुपैयाँले कमी हो' वीरगन्ज भंसारका प्रमुख सेवन्तक पोख्रेलले भने 'यो पटक वीरगन्ज भंसार कार्यालयले लक्ष्यको तुलनामा ९७.४८ प्रतिशत मात्र राजश्व संकलन गर्न सक्यो।'

गतवर्ष भने लक्ष्य पनि एक खर्ब पाँच अर्ब ८१ करोड ३१ लख ३६ हजार रुपैयाँ मात्र हुँदा लक्ष्यको तुलनामा २.१७ प्रतिशतले बढी राजश्व संकलन भएको उनले बताए। तर यो वर्ष भने करको दायरा पनि बढेको र मधेश आन्दोलनको कारण अन्य नाका पलायन भएका सबै व्यवसायीले पूर्णरूपमा यो नाका प्रयोग नगर्नु जस्ता विभिन्न कारणहरु हुन सक्छने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.