|

काठमाडौं : नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको नेता उत्पादनको थलो हो। नेविसंघबाटै उत्पादन भएका अधिकांश नेता अहिले कांग्रेसको मूलधारको राजनीतिमा छन्।  पार्टी सभापति शेरबहादुर देउवा पनि नेविसंघकै उत्पादन हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि नेविसंघको राजनीतिबाट आएका हुन्। अरू भ्रातृ संगठनभन्दा पनि नेविसंघ कांग्रेसभित्रको एउटा महत्त्वपूर्ण भ्रातृ संगठन हो। यहाँबाट उत्पादन भएका नेताहरू पार्टी राजनीतिको अग्रपंक्तिमा रहने गरेका छन्।

अहिलेका सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरू डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, गोविन्द भट्टराई, धनराज गुरुङ, गुरुराज घिमिरे, विश्वप्रकश शर्मा, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरू नेविसंघका उत्पादन हुन्। 

त्यही नेता उत्पादन गर्ने भ्रातृ संस्थामा अहिले पार्टीको गुटले नराम्रोसँग प्रभाव पारेको छ। गुटगत विवादले पार्टी जति ध्वस्त भएको छ, नेविसंघको पनि त्यस्तै अवस्था छ। पार्टीमा केही कमजोर देखिएको नेता कृष्णप्रसाद सिटौला गुट नेविसंघमा भने निकै सशक्त छ। सिटौला निकट महामन्त्री कुन्दनराज काफ्लेको साथमा दुई तिहाई निर्वाचित सदस्य छन् तर सभापति शेरबहादुर देउवा गुटका अध्यक्ष नैनसिंह महर भने अल्पमतमा छन्। यही अल्पमत र बहुमतको खेलले नेविसंघ यतिबेला अनिर्णयको बन्दी बनेको छ। महर र काफ्लेले नेविसंघ छुट्टाछुट्टै चलाएको आरोप पनि लाग्ने गरेको छ। नेविसंघको विवादलाई पार्टी नेतृत्वले नै चासोका साथ हेरेको छ।

नेतृत्वले विवाद मिलाउन पहल गर्ने निर्णय नै गरिसकेको छ। शनिबार सभापति देउवाले विवाद समाधानका लागि नेताहरूसहित नेविसंघको बैठक बोलाएका छन्। पार्टीले नेविसंघका नेताहरूलाई छुट्टाछुट्टै बैठक नचलाउन र समानान्तर समिति स‌ंचालन नगर्न निर्देशन दिइसकेको छ।

महामन्त्री काफ्ले समूहले अध्यक्ष महर विधानअनुसार नचलेको भन्दै उनको विरोध गर्दै आएको छ। महरले आफूखुसी विधानविपरीत केन्द्रीय समितिमा मनोनीत गर्दै आएको भन्दै काफ्ले समूहले विरोध गर्दै आएको छ। ‘हाम्रो माग भनेको अध्यक्ष सच्चिनुपर्छ भन्ने हो’, महामन्त्री काफ्ले भन्छन्, ‘तर उहाँ सुध्रिनुभएन। अझै पनि स्वेच्छाचारी ढंगले चलिरहनुभयो।’ 

पछिल्लो समय सिटौला निकटका नेताहरूले सभापति देउवाले नेविसंघलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन्। नेविसंघको महाधिवेशन भएको साउन २३ गते दुई वर्ष पुग्छ। पर्टीको विधानअनुसार साउनमै यो समितिको कार्यकाल सकिन्छ। त्यसपछि विधानअनुसार तीन महिना समय थप्न सक्ने व्यवस्था छ। तर पार्टी सभापतिले पुनः निर्वाचन गर्न नचाहेको र तदर्थ समिति गठन गर्ने योजनामा रहेको सिटौला समूहको अरोप छ। 

नेतृत्वले आफैँ महाधिवेशन नगरे बहुमत केन्द्रीय सदस्यले गर्ने भन्दै काफ्ले समूहले महाधिवेशन सम्पर्क कार्यालय नै स्थापना गरिसकेको छ। ‘नेतृत्वले महाधिवेशन गरेन भने बहुमत केन्द्रीय सदस्यको निर्णयबाट हामी महाधिवेशन गर्छौं’, काफ्लेले भने, ‘त्यसका लागि सम्पर्क कार्यालयले काम गर्नेछ।’ नेविसंघमा वरिष्ठ नेता पौडेल समूह कमजोर छ। पौडेल समूहअन्तर्गत महामन्त्री डा. शशांक कोइराला निकटका नेताहरू अलग्गै संगठित छन्। यस्तै, प्रकाशमान सिंह निकटका विद्यार्थी नेता महामन्त्री काफ्ले निकट छन्। 

संगठनभित्र देखिएको अतिवादी चरित्रले संगठन भद्रगोल अवस्थामा आएको संगठनकी उपाध्यक्ष उर्मिला थपलियाले बताइन्। उनले भनिन्, ‘हामी यसबेला एक भएर कम्युनिस्टको सर्वसत्तावादी चरित्रका विरुद्ध बोल्नुपर्ने हो तर हामीभित्रै अतिवाद हावी छ।’ उनले नेविसंघको विवाद समाधान गर्दै समयमै महाधिवेशन गर्नुपर्ने बताइन्। ‘अब साउन २३ मा समय सकिँदै छ। अब विवाद समाधान गरेर समयमै महाधिवेशन गर्नुपर्छ’, उनले भनिन्, ‘हामीले निर्वाचमार्फत् नेतृत्व चुन्ने अधिकार नै पाउँदैनौँ कि जस्तो लाग्न थाल्यो।’

नेविसंघ अध्यक्ष महरले भने विवाद केही दिनमै समाधान हुने दाबी गरेका छन्। उनले विवाद समाधानका लागि नेतृत्व नै लागिपरेका कारण चाँडै विवाद मिल्ने बताए। ‘नेविसंघमा विवाद छ। यसलाई समाधान गर्न नेतृत्व नै लागिपरेको छ’, उनले भने, ‘हामी दुई-तीन दिनभित्र विवाद समाधान गर्छौं।’ 

नेविसंघकै नेतृत्व गरेर पार्टीमा गएका नेताहरूले नेविसंघमा विवाद झिकेको उनको भनाइ छ। ‘नेविसंघबाटै स्थापित भएका नेताले नै पार्टीमा गए गएर नेविसंघलाई यो अवस्थामा पुर्‍याएका हुन्’, उनले भने, ‘उहाँहरूले गुटबन्दी अन्त्य नगरेसम्म समाधान गर्न मुस्किल छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.