समाज

नाला निर्माणले नेपालगन्जावासीमा जगाएको आशा
SHARES

साउन ४, २०७५

    बाँके : ‘थोरै वर्षा हुँदा पनि पानी जमेर हिड्डुल गर्न त के घरबाट बाहिर निस्कन समेत मुस्किल पर्थ्याे’ नेपालगञ्ज-१२, बेलासपुरका विनोद शर्माले अनुभव सुनाए, ‘सडकमा कम्मरसम्म पानी हुन्थ्यो। बाढीका बेला बाटो बिराउँदा मोटरसाइकल दुर्घटना समेत भयो।’ सडकको दुवैतर्फ पक्की नाला निर्माण भएपछि भने उनले निकै राहत महसुस गरेका छन्।

    बेलासपुरवासीले वर्षौदेखि वर्षायाममा डुबान समस्या झेल्दै आएका थिए। शर्मालाई झैं नेपालगञ्ज- ९ समावेशी टोलका गोविन्द रेग्मीलाई पनि नाला निर्माणले खुसी दिएको छ। हरेक वर्ष डुवान समस्या झेल्दै आएका रेग्मी नाला बनेपछि अब डुवान नहुनेमा ढुक्क छन्। ‘भारी वर्षा हुनासाथ डुवान भइहाल्थ्यो। समावेशी टोल, खटकनपुर, पिरलीपूर्वा हुँदै बाबुगाउँसम्म जाने सडकको दुवैतर्फ पक्की पुल निर्माण भएपछि अब डुब्दैन कि?’ उनले भने।

    सदरलाइनका सन्दीप गुप्तालाई यति द्रूतगतिमा नाला निर्माण होला भन्नेमा विश्वासै थिएन। नेपालगञ्जको सबैभन्दा पुरानो बजार सदरलाइनमा सडकको दुवै किनारमा नाला निर्माण भएपछि डुवान समस्याबाट मुक्ति मिल्नेमा उनी अब ढुक्क छन्। भन्छन्, ‘फेरि पनि डुवानको पीडा भोग्नुपर्ने हुन्छ कि भन्ने लागेको थियो। सडकको दुवैतर्फ नाला निर्माण भएपछि डुवान समस्याबाट मुक्ति पाउने आशा छ।’ नगरमा डुबानमा पर्ने अर्को क्षेत्र हो, गणेशपुर। स्थानीय शिव थापाले पनि नाला निर्माणले विगतभन्दा यो वर्ष डुवान समस्या कम हुने आशा गरे, ‘भेल बग्ने ठाउँमा नाला बनेको छ। विगत जस्तो डुबान हुन्न कि?’  

    नेपालगञ्ज उपमहानगरपालिले क्षेत्रीय शहरी विकास आयोजनामार्फत ३६ किलोमिटर र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट ३० किलोमिटर गरी सानाठूला ४१ आयोजनाका ६६ किलोमिटर सडक तिनमा नाला निर्माण गरिरहेको छ। दुबै आयोजनाको तीन अर्ब भन्दा बढी बजेट छ। डुवान क्षेत्रलाई प्राथमिकतामा राखेर धमाधम नाला निर्माण र नाला सफाइको काम भइरहेको क्षेत्रीय शहरी विकास आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले बताए। ‘गतवर्ष आठ किलोमिटर र यो वर्ष आठ किलोमिटर गरी १६ किलोमिटर नाला निर्माण भएको छ,’ उनले भने, ‘डुवानको समस्या हुने ठाउँका धेरैजसो नाला निर्माण भइसकेको छ।’ 

    फुल्टेक्रादेखि भवनियापुरसम्म, जिल्ला शिक्षा कार्यालयदेखि बेलभारसम्मको नाला निर्माण भइसकेको र भेरी प्राविधिक शिक्षालय, बैश्णवी अस्पताल, सरस्वती स्कूल छेउका ठूला नालाको पनि मर्मत-सम्भार गरिएको छ। नगरप्रमुख डा. धवलशमशेर राणा ‘दुई वर्षभित्र नेपालगन्ज डुवानमुक्त’ हुने दाबी गर्छन्। राणा भन्छन्, ‘पानी बग्ने ठाउँको पहिचान गरी सोहीअनुसार नाला निर्माण गरेका छौं।’ 

    नगरको मुख्य भाग डुवान पर्नुको कारण खोजेर नाला निर्माण गर्ने र पानी फाल्ने ठाउँको निर्क्याैल उपमहानगरपालिकाले गरेको छ। नेपालगञ्ज-२० मनिकापुरबाट आउने पानीलाई डुडुवा नाला र रतैया नाला तथा पश्चिम क्षेत्रको पानीलाई दोन्द्रा खोलामा मिसाउन नाला निर्माण भइसकेको छ। न्यूरोडको सेतु विक चोक, गणेशपुर, बसपार्क, कारागार क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको राणाले बताए। डुवान क्षेत्रका अधिकांश ठाउँमा नाला निर्माण भइसकेको बताए। सबैभन्दा चाँडो डुबानमा पर्ने सेतु विक चोकको पानी निकासबारे उनले भने,‘चोकमा थुप्रिने पानीको स्रोत पहिचान गरि निकासको पहल भइसकेको छ।’ 

    नगरमा पूराना र नवनिर्मित नाला र ढलभित्र माटो, बालुवा र प्लाष्टिक थुप्रिसकेको छ। नियमित सफाइ नहुँदा नाला जाम भइ फेरि पनि डुबान समस्या उस्तै हुने खतरा छ। ‘सफाई नगर्ने हो भने नाला बनाउनुको कुनै अर्थ छैन,’ पत्रकार निरजकुमार गौतमको सुझाव छ,’ ‘नालाको नियमित रुपमा सफाइमा उपमहानगरले ध्यान दिनुपर्छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]