|

धनगढी : धनगढी उपमहानगरपालिका १ शान्ति टोलमा गंगादेवी कोलीको आफ्नो घर छैन। उनी अरूको घरमा मजदुरी गर्छिन्। अरूकै घरमा बस्छिन्। अरूका घर र भरमा बस्ने गंगा एकल महिला हुन्। दुई सन्तानकी आमा गंगालाई घरपरिवार चलाउन, छोराछोरी बढाउन, दैनिक गर्न कठीन छ। 

प्रत्येक पटकको निर्वाचनमा उम्मेदवारले सबै भन्दा पहिले गंगादेवीलाई भेट्छन्, र भन्छन् ‘गाँस, वास र कपासको हामी ग्यारेन्टी गर्छौं।’ उनले भनिन् ‘यहि सुन्न लागेको पनि दशकौं भयो, ती नेताले आशमा बसेको भए मेरा दुई छोरा छोरी पढाउन पनि सक्ने थिएन।’ शुक्रबार धनगढी उपमहानगरपालिकाले वितरण गरेको गरिबको परिचयपत्र लिँदै उनले भनिन् ‘यो प्रमाण पत्र पनि नेताको आश्वासन जस्तो नबनोस्। ’ उनी परिचय पत्र पाए पनि यो अनुसारको सेवा सुविधा पाउने कुरामा अझै बिश्वस्त छैनन्। ‘मलाई त नाम लेख्न पनि मन थिएन। तर सबैले केही हुन्छ भनेपछि आशा पलाएको छ।तर यो खोस्टो मात्रै नहोस्’ उनले भावुक हुँदै सुनाइन्। 

शुक्रबार गंगादेवी जस्तै अन्य केहीले पनि गरिव घर परिचयपत्र पाए। उनीहरूले विगतमा जस्तै फेरि केही दिने आशा देखाएर निराश नबनाउन आग्रह गरेका छन्। 
शुक्रवार धनगढी उप-महानगरपालिकाका प्रमुख नृप वडले नगरपालिका १ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रंगको (अति गरिव), वडा १ एयरपोर्ट मुक्त कमैया शिविरकी मैनादेवी चौधरीलाई (मध्यम गरिव) पहेलो संँगको, एयरपोर्ट सिविरकै सहवीर चौधरीलाई (सामान्य गरिव) निलो रंगको परिचयपत्र वितरण गरेका हुन्। पहिलो चरणमा तीन जनालाई परिचयपत्र वितरण गरेर धनगढी उप-महानगरपालिकाले गरिव घर परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको हो। 

 

गरिब परिचयपत्र वितरण अभियानको उदघाटन गर्दै नगर प्रमुख वडले सूचीमा सूचीकृतहरूलाई अव राज्यका तर्फबाट आउने हरेक सेवामा परिचयपत्रको प्रकारका आधारमा सहुलीयत हुने बताए। ‘औषधि उपचारमा सहुलियत हुन्छ। अति गरिवका लागि बिमा निशुल्क छ’ नगरप्रमुख वडले भने, ‘अव प्रमाण पत्रसँगै ल्याउनेलाई हिजो जस्तो कठिनाई हुने छैन।’

शुक्रबारबाट नै धनगढी  उपमहानगरपालिकामा रहेका १९ वटै वडाहरूमार्फत परिचयपत्र वितरण गर्ने कार्य सुरु भएको छ। कैलालीसहित देशभरिमा ८ वटा जिल्लामा नमूनाका रुपमा गरिव घर परिचयपत्र वितरण सुरु भएको हो। प्रदेश-७ मा पहिलो पटक धनगढी उपमहानगरपवालिकाबाट परिचयपत्र वितरण सुरु गरिएको हो। 

धनगढीमा पाँच हजार ८८५ जनालाई गरिव परिचय पत्र वितरण गरिने धनगढी उप-महानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले जानकारी दिए। जसमध्येका अति गरिब दुई हजार ८५८, मध्यम गरिव १ हजार ८३७, र समान्य गरिव एक हजार २९० जनाको नाममा परिचयपत्र वितरण गरिने छ। अति गरिवले रातो, मध्यम गरिवले पहेँलो र सामान्य गरिवले निलो परिचयपत्र पाउने छन्। सरकारले २०६९ सालमा गरिवहरूको सर्वेक्षण तथा नाम संकलन गरेको अाधारमा परिचयपत्र वितरण सुरु गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.