|

जनकपुरधाम : जनकपुरमा पछिल्लो दुई दिन यता यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। वायुमण्डल सफा रहँदा सूर्यको किरणले जिउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालय जनकपुरले जनाएको छ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या परेको छ। अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ। वायुमण्डलीय तापक्रम बढिरहँदा बिहीबार र शुक्रबार यस सिजनकै सबैभन्दा बढी जनकपुरको तापक्रम ४० डिग्री सेल्सियससम्म मापन गरियो।

वर्ष २०७४ को श्रावणमा जनकपुरमा पछिल्लो वर्षकै सबैभन्दा बढी ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। जलवायु तथा मौसम कार्यालय जनकपुरका प्रमुख मुनेश मिश्राले मध्य तथा पूर्वी तराईका जिल्लाहरुमा अझै केही दिन तापक्रम बढ्ने क्रममा रहने जनाए।

वैशाख जेठमा अत्याधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्दै आएकोमा अहिले त्रैमासिक परीक्षापश्चात् विदा दिइएको छ। यद्यपि केही विद्यालयहरूमा परीक्षा चलिरहेको समयमा विद्यालयबाट फर्किने समयमा गर्मीले बालबालिकाको स्वास्थमा प्रतिकूल असर पार्दै आएको छ।

गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफूल र जुसको व्यापार बढेको छ। मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ भने, नियमित विद्युत आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन्।

छाला ढाक्ने कपडा लगाउन, घाममा हिंड्दा नियमित अन्तरालमा बसेर शितल पानीले मुख–हात धुन चिकित्सकहरूले सुझाव दिएका छन्। पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने तथा घाममा निस्कँदा छाता लगाएर निस्कन अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रामपरीक्षण यादव सुझाउँछन्। मेडिकल सुरिटेण्डेन्ट यादवले भने 'यस्तो समयमा ’लु’ लागेर ज्यानै जाने खतरा हुन्छ, त्यसैले सकभर अत्याधिक गर्मी महसुस भएमा सर्तकता अपनाएर बाहिर निस्कनुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.