|

चितवन : चितवनको राप्ती नगरपालिकाका किसानले मूल्य घटाएको विरोधमा सडकमै दूध घोप्ट्याएका छन्। शुक्रबार दिउँसो पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरूले सडकमा दूध पोखेर विरोध जनाएका हुन्।

दुग्ध विकास संस्था(डिडिसी) र डेरी उद्योगले  प्रतिलिटर करिब तीन रुपैयाँ दूधको मूल्य घटाएको किसानहरूले बताएका छन्। राप्ती नगरपालिकाको दुग्ध उत्पादक सहकारी संस्था नगर समन्वय समितिका अध्यक्ष डिल्लीप्रसाद थपलियाले लागत मूल्य नपाइरहेको अवस्थामा विभिन्न बहाना बनाएर दूधको मूल्य घटाएकाले बाध्य भएर दूध पोख्नुपरेको दुखेसो गरे।

आन्दोलन कै चरणअन्तर्गत सांकेतिक रूपमा दूध पोखेको भन्दै उनले किसानका समस्यामा ध्यान नदिए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए। उनका अनुसार शुक्रबार राप्तीमा रहेका छवटा सहकारीले सामूहिक रूपमा २४० लिटर दूध सडकमा पोखेका हुन्। यहाँ भण्डारा, परेवाश्वरी, शहिद बलराम, भगवती, नवउद्यमी र जनमुखि दुग्ध उत्पादक सहकारी संघले दूध संकलन गरेर डेरी उद्योगलाई पठाउँदै आएको छ। शुक्रबार हरेक संस्थाबाट ४० लिटरका दरले सामूहिक रूपमा दूध सडकमा पोखेर किसानले विरोध गरेका हुन्।

कुनै छलफल नै नगरी किसानहरूलाई मार पार्ने गरी दूधमा तीन रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको किसानहरूले आरोप लगाए। यसअघि पनि निजी डेरीले करिव दुर्इ रुपैयाँ दूधको मूल्य घटाएका थिए।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले सस्तोमा पाउडर दूध आयात गरेकाले यसरी किसानको दूधमा मूल्य घटाएको आरोप लगाए। उनका अनुसार धेरै दूध उत्पादन गर्ने चितवन, मकवानपुर र बारामा यस्तो समस्या छ।

अहिले दूधबाट पाउडर बनाउनुपर्ने अवस्था सिर्जना भएकाले बाध्य भएर दूधको मूल्य घटाउनुपरेको डिडिसिले प्रतिक्रिया दिएको भन्दै उप्रेतीले त्यो भनाई सहि नभएको दावी गरे। यता निजी डेरीले भने डिडिसीले कमिसन घटाएकाले दूधको मूल्य घटाउनुपरेको प्रतिक्रिया दिएको किसानहरूले बताएका छन्।

मूल्य घटाउँदा अब किसानले प्रतिलिटर करिव रु ४५ पाउँछन् तर डेरीहरूले रु ७० मा दूध बेच्दै आएकोमा कसरी घाटा लाग्ने भनी उप्रेतीले प्रतिप्रश्न गरे। सो विषयमा आगामी साउन ८ गते बैठक बोलाइएकाले त्यसको निर्णयअनुसार मन्त्रालयमा डेलिगेसन लगायतका कार्यक्रमहरू गरिने उप्रेती बताउँछन्। चितवनको दूध पोखरा र काठमाडौंका विभिन्न डेरी उद्योगमा जान्छ।

एकदशक अघि पनि मिल्क होलीडे भएका बेला यहाँका किसानले यसैगरी दूध सडकमा पोखेका थिए। चितवनको राप्ती नगरपालिकामा मात्रै दैनिक २७ हजार लिटर दूध उत्पादन हुन्छ। दैनिक १० हजार लिटर दूध उत्पादन गर्दै आएको भण्डारा दुग्ध उत्पादक सहकारी  सबैभन्दा बढी दूध उत्पादन गर्ने डेरी भनेर पुरस्कृति समेत भएको सहकारी हो।

अहिले व्यवसायीक रूपमा पशुपालन गर्ने किसानहरूले भने दूधको लागत समेत उठाउन नसकेको किसानहरूले बताएका छन्। चितवन जिल्लामा साँढे चार लाख लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.