|

पर्वत : म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–घाँसा सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ।

अबिरल वर्षासँगै सडकका धेरै ठाउँमा पहिरो जाने गरेको र रातिमा चल्ने सवारीसाधनहरू बीचैमा अलपत्र पर्ने गर्दा मानवीय क्षतिको खतरा रहेकाले यो निर्णय भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। गतवर्ष सुख्खा पहिरो पन्छाउन विष्फोटक पर्दाथ प्रयोग गरिएकाले पनि थप जोखिम बनेपछि छिमेकी जिल्ला मुस्ताङसँग समेत समन्वय गरी सडकखण्डलाई सुरक्षित बनाउने प्रयास गरिएको हो।

जिल्ला सुरक्षा समितिको बैठकबाट भएको यो निर्णय साउन ५ गतेबाट भदौ ३१ गतेसम्म लागू हुनेछ। यो निर्णयसँगै म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोमतर्फ जाने सवारी साधनहरु बेलुकी साढे ५ बजेदेखि बिहान ५ बजेसम्म र मुस्ताङको घाँसाबाट बेनीतर्फ आउने सवारी साधनहरु साँझ ६ देखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्न पाउने छैनन।

७६ किलोमिटर दूरीको उक्त सडक अहिले निर्माणाधीन अवस्थामा छ। सडक फराकिलो बनाउन पहाड र पाखो काट्ने काम गरिएको छ। अत्यावश्यक सवारी साधन बाहेककालाई यो नियम लागू गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले बताए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.