|

फखर जमान एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने  पहिलो पाकिस्तानी खेलाडी बनेका छन्। शुक्रबार भएको खेलमा जमानको कीर्तिमानी प्रदर्शन  गरेपछि पाकिस्तानले घरेलु टोली जिम्बावेलाई २२४ रनले पराजित गर्‍यो।

बुलावायोमा जमानले अविजित २१० रन बनाएपछि पाकिस्तानले निर्धारित ५० ओभरमा १ विकेट गुमाएर ३९९ रनको उच्च स्कोर तयार पारेको थियो।  जमानले  १५६ बलमा पाँच छक्का प्रहार गर्दा २४ चौका प्रहार गरेका थिए। योसँगै जमान एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने आठौँ क्रिकेटर बने। यसअघि भारतीय क्रिकेटर रोहित शर्मा, सचिन तेन्दुलकर, विरेन्द्र  सहवाग, बेष्ट इन्डिजका क्रिस गेल र न्युजिल्याण्डका मार्टिन गुप्टिलले दोहोरो शतक प्रहार गरेका छन् । सर्वाधिक पाँच दोहोरो शतक भारतीय ब्याटस्म्यानहरूले लगाएका छन्। २६४ रनका साथमा रोहित शर्मा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान कायम छन्। 

पाकिस्तानको जितमा जमानले इमाम उल हकसँग मिलेर एकदिवसीय क्रिकेटमा कीर्तिमानी साझेदारी गरे। उनीहरुले पहिलो विकेटका लागि ३०४ रनको साझेदारी गर्दै श्रीलंकाका उपल थरंगा र सनथ जयसूर्याको नाममा रहेको २८६ रनको कीर्तिमान तोडे। उल हकले ११३ रनको शतकीय पारी खेल्दा आसिफ अलीले अविजित ५० रन जोडे ।

पाकिस्तानले दिएको ४०० रनको उच्च लक्ष्य पछ्याउने क्रममा जिम्बावे ४२ ओभर चार बलमा अलआउट हुँदै १ सय ५५ रनमै समेटियो। जिम्बावेका डोनाल्ड तिरीपानोले ४४ रन जोड्दा इल्टन चिगुमबाराले ३७ रन जोडे। त्यस्तै कप्तान कप्तान ह्यामिल्टन मुसाकाज्दाले २२ रन जोड्दा पिटर मुरले २० रन जोडे। जिम्बावेको पारी ध्वस्त बनाउन पाकिस्तानका शादब खानले ४ विकेट लिए। यस्तै फाहिम आश्रफ र उस्मान खानले समान २ विकेट लिए।

योसँगै घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले ४–० को अग्रता बनाएको छ। सिरिज भने पाकिस्तानले दुई खेल अगावै जितेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.