|

ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका- ४ केत्तुकेका सिंगो तामाङ बस्ती नै बाख्रापालन व्यवसायमा आवद्ध भएका छन्। व्यावसायिक बाख्रापालनबाट आम्दानी राम्रो हुने भएका कारण सिंगो बस्ती नै  बाख्रापालनमा लागेका हुन्। बाख्रापालन व्यवसायबाट तामाङ बस्तीका ३० घर परिवारले मनग्य आम्दानी गरिरहेका छन्।

केतुकेका कृषकहरुले कबुलियती वन समूह तथा सहकारी संस्था गठन गरी सस्तो ब्याजदरमा ऋण परिचालन गरेर उद्यमी बनेका हुन्। समूहमा आवद्ध २६ परिवार र सहकारीमा थपिएका ४ गरी ३० परिवारले बाख्रापालन व्यवसायसँगै नियमित खुर्सानी खेतीसमेत गरिरहेका छन्।

कृषकहरुले कबुलियती वनमा अम्रिसो रोपेर कुचो बेच्ने तथा घाँस खसी बाख्रालाई खुवाउँदै आएका छन्। सहकारी बनाउन वन समूहलाई जिल्ला वन कार्यालयले विभिन्न चरणमा बीउ पुँजीका लागि ३ लाखभन्दा बढी अनुदान दिएको जिल्ला वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए। जिल्लाका नमुना कबुलियती वन तथा सहकारी मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेकै रहेको शाहको भनाइ छ।

सानो अनुदानले तामाङ गाउँका ३० परिवार पशु पालनबाटै आत्मनिर्भर बनेका छन्। ३० मध्ये ४ गुरुङ समुदायका महिला सदस्य रहेका छन् भने २६ जना सहस्यबाट पाँच सयका दरले १३ हजार नगद संकलन गरेर दर्ता गरेको सहकारीले अहिले लाखौं कारोबार गर्न थालेको सहकारी सचिव रमिला तामाङले बताइन्।

जिल्ला वन कार्यालयले गरिबीको रेखामुनि रहेका समुदायको पहिचान गरेर कबुलियति वन व्यवस्थापनमार्फत आर्यआर्जनमा टेवा पुर्‍याउने कार्यक्रम जिल्लाभर सञ्चालन गरिरहेको  भएपनि केत्तुकेमा भने नमुना काम भएको मानेभन्ज्याङ्ग गाउँपालिका प्रमुख मोतीराज राईले बताए।

सानो पुँजी परिचलालन गरेर व्यावसायिक बन्न थालेका महिलाहरूले क्षमता विकास, तालिम र अनुदानजस्ता कुनै सुविधा स्थानीय सरकारबाट नपाएको गुनासो गरेका छन्। वडाबाट आवाज उठाए पनि गाउँपालिकाले कृषि र पशुपालनमा बजेट व्यवस्था नगरेकाले समस्या भएको वडा अध्यक्ष सन्त तामाङले बताए। सडक मात्रै गाउँपालिकाको प्रथामिकतामा रहेको उनेको भनाइ छ। ओखलढुंगाका स्थानीय तहमा मानेभन्ज्याङ गाउँपालिकामा मात्रै नभएर ८ वटै स्थानीय तहले यो वर्ष पनि बजेट विनियोजनमा सडकलाई नै प्रथमिकता दिएको पाइन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.