|

पाल्पा : तानसेन नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ को प्रस्तावित नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले ८० करोड १३ लाख १० हजार बराबरको नीति, बजेट तथा कार्यक्रमबारे जानकारी गराएका हुन्। जसमध्ये ४७ करोड ५९ लाख ३२ हजार २ सय २१ चलुतर्फ र ३२ करोड ५३ लाख ७७ हजार ७ सय ७९ रुपयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। उनका अनुसार कुल बजेटको ५९.४० प्रतिशत चालु र ४०.६० प्रतिशत पुँजीगततर्फको बजेट रहेको छ।

बजेटमा सडकलाई पहिलो प्राथमिकता दिइएको छ। यो वर्षको बजेटले तानसेन नगरपालिकाभित्र सडक सञ्जाल जोड्ने पहिलो लक्ष्य रहेको नगर प्रमुख अशोक शाहीले बताए। उनले भने, 'पूर्वधार विकास कार्यक्रमको लागि १२ करोड ३३ लाख ५६ हजार रुपयाँ बजेट विनियोजन गरेका छौँ।

जसमध्येको बढी रकम सडक निर्माणमा खर्च हुनेछ।' तानसेन नगरपालिकामा साविकका गाविसहरु समेत गाभिएका छन् प्रमुख शाहीले भने, 'ती गाविसहरूमा रहेको सडकमा बाह्रै महिना गाडी चल्ने गरी सडकको निर्माण र स्तरोन्नति गर्ने पहिलो लक्ष्य हो।' आगामी ५ वर्षसम्ममा २ सय किलोमिटर सडकमा बाह्रै महिना गाडी चल्ने गरी सडकको स्तरोन्नति गर्ने उनले उद्घोष गरे।

 प्रमुख शाहीका अनुसार सामाजिक विकासतर्फ ४३ करोड २७ लाख ५० हजार विनियोजन गरिएको छ। यस्तै आर्थिक विकासतर्फ ७ करोड ६४ लाख ४ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४ करोड ४१ लख ३७ हजार र सुशासन तथा संस्थागत विकास कार्यक्रमको लागि ३ करोड २छ लाख ४० हजार ७ सय ७९ रुपयाँ बजेट विनियोजन गरिएको छ।

बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले तानसेनलाई आगामी ४ वर्षमा आन्तरिक पर्यटकहरुको लागि नेपालको मुख्य ५ वटा गन्तव्‍य स्थानको रुपमा विकास गर्ने र बाह्य पर्यटकको लागि मुख्य १० स्थानको सूचिमा पुर्‍याउने उद्घोष गरे।

यस्तै कृषिको व्यवसायीकरण र यान्त्रीकरण गरी तानसेन नगरपालिका क्षेत्रमा आगामी ४ वर्षमा वार्षिक २२ हजार ४ सय मेट्रिकटन तरकारी उत्पादन गर्ने र १४ हजार ८ सय ७२ मेट्रिकटन तरकारी निर्यात गर्ने लक्ष्य रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.