|
फाइल फोटो

पर्वत : विनासकारी भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत पर्वतका १२ प्रतिशत भूकम्पपीडितहरूले मात्र दोस्रो किस्ताको रकम पाएका छन्। पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितहरूले दोस्रो किस्ता लिनका झण्झटिलो प्रक्रियाका कारण रकम पाउन नसकेका हुन्। जिल्लाका पुर्ण क्षति भएका पाँच हजार २६९ लाभग्राहीमध्ये हालसम्म ५८५ जनाले मात्र दोस्रो किस्ताको रकम लिएका छन्।

स्थानीय तहहरूवाट भुक्तानीका लागि सिफारिस गर्न ढिलाइ भएका कारण पीडितहरू लामो समयसम्म पनि दोस्रो र तेस्रो किस्ता पाउनबाट बञ्चित बनेका छन्। रकम नपाएकै कारण कतिपयको निर्माणाधीन आवास नै अलपत्र अवस्थामा छन्। पहिलो किस्ता लगेकाहरूले काम सुरु गरी अन्तिम चरणमा पुगेको भए पनि दोस्रो किस्ताबारे अन्यौल हुँदा उनीहरू मारमा परेका छन्।

जिल्लाका सातवटै स्थानीय तहमा पुस मसान्तमा मात्र प्राविधिक खटिएका थिए। त्यसमा पनि हिँदी, पैंयु र जलजला गाउँपालिकामा खटिएका प्राविधिकहरू निकै ढिलोगरी कार्यक्षेत्रमा पुगेका थिए।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई पर्वतका प्रमुख जगदीश शर्माका अनुसार  हालससम्म चार हजार ७७४ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकम ५० हजार रुपैयाँ लगेका छन्।  अझै ४९५ जना पहिलो किस्ता समेत लिन आएका छैनन्। दोस्रो किस्ता लिनका लागि चार हजार ६८५ जना सिफारीस नै लिन नआएको शर्माले बताए। स्थानीय तहहरूलाई छिटो भुक्तानी सिफारीस गरेर पठाउन ताकेता गरिएको भएपनि अझै आइसकेका छैनन्।

घर बनाइसकेकाहरूको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण गर्नमा ढिलाई भएको पाइएको हो।  हालसम्म पर्वतमा पहिलो किस्ता वापतको २३ करोड ८७ लाख रुपैयाँ वितरण भइसकेको छ भने दोस्रो किस्ता वापत  आठ करोड ७६ लाख रुपैयाँ वितरण भएको छ। कतिपयको नाम परिवर्तन भए नभएको, अर्काको जग्गामा बसोबास गरेका, दुई घर भएकाहरूको पहिचान गर्न कठिनाइ भएकाले पनि पुनर्निर्माणमा समस्या देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.