मुहान सुकेर पानी अमृतजस्तै भयो

|

पाँचथर : असारको तेस्रो सातादेखि मनुसन सक्रिय भएपछि पाँचथरको कुम्मायक गाउँपालिकावासीले पानीको जोहो गर्न थालेका छन्। हिउँदमा पानीको अभाव पूर्ति गर्न स्थानीयले वर्षात्को पानी ठूलाठूला ड्रम तथा प्लाष्टिक पोखरी निर्माण गरेर संकलन गर्न थालेका हुन्। केही गाउँमा भने भलको पानी पनि संकलन गर्न स–साना आहाल निर्माण गरिएको छ।

वर्षात्को सिजन सुरु भएपछि पानीको जोहो गर्न व्यस्त कुम्मायकवासीलाई केही वर्षदेखि पानीको चर्को समस्याले छ। गाउँघरमा रहेका मुहान, पँधेरो र खोल्साखोल्सीमा पानीमा सुकेपछि वर्षातको पानीको भर पर्नुपर्ने यहाँका स्थानीयको बाध्यता हो।

ड्रममा पानी संकलन

कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा हिमाल होटल सञ्चालन गर्दै आएका व्यवसायी केशवकुमार थापाले वर्षात्को पानी संकलन गरी फारु गरी चलाउँदा हिउँदयामको चारदेखि पाँच महिनासम्म पुग्ने बताउँछन्। उनले घरको छानाबाट बलेसीमा झर्ने पानीलाई बलेसीमा झर्न नदिई पाइप मार्फत ड्रममा थाप्ने गरेका छन्।

होटल व्यवसायी थापाले यसरी थापेको पानी भाँडाकुडा र लुगा धुन प्रयोग गर्ने गरेको बताए। ‘प्रायः घरहरूमा जस्तापाताको छाना छ। बलेसीमा झर्ने पानी पाइपमार्फत ड्रममा झारेर थापिन्छ’ उनले भने, ‘कम्तिमा पनि ५०० देखि एक हजार लिटरसम्मका पाँचदेखि १० वटासम्म ड्रम प्रत्येक घरमा छन्, वर्षात् भएपछि यीनै ड्रममा पानी थाप्न थालेका छौँ।’

क्षणिक अभावको पूर्ति

कुम्मायकवासी वर्षात् सुरु भएपछि हर्षित पनि भएका छन्। आवश्यकताअनुसार लुगा धुन, भाँडाकुँडा माझ्न र गाईवस्तुलाई पनि दिन पर्याप्त पुगेपछि पिउने प्रयोजनको लागि मात्रै किन्ने गरेका छन्। कतिपयले फिल्टर गरेर त कतिपयले भने उमालेर वर्षात्कै पानी प्रयोग गर्दै आएको पाइएको छ।

कुम्मायकको १, ३, ४ र ५ नम्बर वडामा पानीको चर्को समस्या छ। भएका केही पानीका मुहानहरू वि.स. २०७२ सालमा गएको बिनाशकारी भूकम्पपछि सुकेका छन्। यसले गर्दा पानी अभावले काकाकूल बन्न पुगेका कुम्मायकवासीको क्षणिक अभाव पूर्ति वर्षात्को पानीले गर्छ।

कुम्मायककै केन्द्र यासोक बजारमा होटल व्यवसाय नै गर्दै आएकी व्यवसायी मीना सेर्मा राईले वर्षात्को पानीले ड्रमहरूमा भरेर राखेको बताइन्। लुगा धुन र शौचालयमा वर्षात्को पानीको बढी प्रयोग गर्दै आएको बताउँदै उनले हिउँदमा पानीको अभावले होटल व्यवसाय सञ्चालनमा कठिनाई हुने गुनासो गरिन्। ‘वर्षात्को पानीले हिउँदको केही महिना भ्याउँछ, तर छिट्टै पानीमा किरा पर्छ’ उनले थपिन्, ‘त्यस्तै पानी भए पनि पिउने बाहेक अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ।’

पानी संकलनका लागि जस्ताको घर

कुम्मायक गाउँपालिकावासीमध्ये अधिकांशले वर्षाको पानी संकलनकै लागि जस्तापाताको छाना भएको घर पनि बनाउन थालेका छन्। खरले छाएको छानामा भन्दा जस्तापाताले छाएको छानाबाट बलेसीमा मजाले पानी झर्ने भएकोले जस्तापाताको छाना भएको घरप्रति कुम्मायकवासीको आकर्षण बढेको देखिन्छ। यसले गर्दा वर्षेनी खरको छाना भएको घरको संख्या पनि घट्दै गएको छ।

जताततै प्लाष्टिक पोखरी

वर्षात्को पानी संकलनको लागि कुम्मायक गाउँपालिकाले साविकको प्रत्येक वडामा प्लाष्टिक पोखरी बनाउन पाँचवटाका दरले प्लाष्टिक दिएको छ। ४० हजार लिटर पानी अट्ने क्षमताको प्लाष्टिक कृषक समूहहरूलाई दिएको हो।

 पानीको अल्पकालीन समस्या समाधानको विकल्प नै प्लाष्टिक पोखरी बनेपछि कृषक समूहहरूलाई छनौट गरी साझेदारीमा प्लास्टिक वितरण गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए। आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटसहितको नीति तथा कार्यक्रममा पनि खानेपानीअन्तर्गत प्लाष्टिक पोखरी निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको छ।

गाउँपालिका अध्यक्ष चेम्जोङले प्लाष्टिक पोखरीले सामान्य करेसाबारीका लागि पानी सिञ्जित गर्नदेखि लिएर गाईवस्तुलाई पानी किनेर खुवाउनु पर्ने जटिल अवस्थाको अन्त्य हुने बताए।

एक लिटर पानीको मूल्य ६० पैसादेखि डेढ रुपैयाँसम्म!

कुम्मायक गाउँपालिकामा खानेपानी समस्या अल्पकालीन रूपमा समाधानको प्रयास भएको छ। गाउँपालिकाले केही महिनादेखि गाउँपालिकावासीलाई पानी कम मूल्यमा उपलब्ध गराउँदै आएको छ।

गाउँपालिका अध्यक्ष चेम्जोङले प्रतिलिटर पानी ६० पैसामा उपलव्ध गराउँदै आएको बताए। निजी ट्याक्टर व्यवसायीले उपलवब्ध गराउने पानीको मूल्य भने अलिक चर्को छ। प्रतिलिटर डेढ रुपैयाँसम्म रहेको पाइएको छ। गाउँपालिका अध्यक्ष चेम्जोङले पानी वितरणलाई व्यवस्थित गर्न बाँकी रहेको बताए।

सहज र सुलभ ढंगले गाउँपालिकावासीलाई पानी उपलब्ध गराउनु पर्ने उनको भनाई छ। कुम्मायकवासीलाई ट्यांकर र ट्याक्टरले छोरुङगा खोला, सिवा खोला र तमोरदेखि पानी ल्याएर उपलब्ध गराउँदै आएका छन्।

'पानी अमृत भयो'

यहाँ पहिले भएका मुहानहरू सुकेर करिव १० वर्षयता पानीको हाहाकार छ। कतै एकाआध कुवाको पानीमा सिंगो गाउँ भर पर्नु परेको स्थिति छ। यासोकको होक्लुम्बा, ओखलढुंगा र खाल्डे क्षेत्रमा एक गिलास पानीको सट्टा बरु मोही दिन थालेका छन्।

एक गाग्रो पानीका लागि चार घण्टा समय लाग्ने गरेको स्थानीय लक्ष्मी त्रिखत्री बताउँछन्। यसले गर्दा बालबालिकाको पढाइमा पनि पानीकै कारण बाधा पुग्ने गरेको उनको भनाइ छ। उनले पानीको समस्या समाधान भएको अवस्थामा बालबालिकाहरूले पढ्न पाउने बताइन्।

कुम्मायककै यामवहादुर रम्तेलले पानी किन्नु पर्ने जमाना आउँला भनेर नसोचेको बताए। ‘पहिले गाउँको ठाउँठाउँमा सिम खेत थियो, टन्नै धान रोपिन्थ्यो, जुग कस्तो आयो’ उनले भने, ‘पानी अमृत भो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.