काठमाडौं : नेपालको राजनीतिमा आदर्श पुरुषको रूपमा परिचित पात्र हुन्, पुष्पलाल श्रेष्ठ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल वि.सं. १९९७ सालमा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठको हत्यापछि पूर्णकालीन राजनीतिमा लागेका थिए। राणाविरोधी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पुष्पलालको नेतृत्वमा २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारका लागि शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ,साधना प्रधान, सहाना प्रधानलगायतले आन्दोलन गरेका थिए।
मार्क्सवाद-लेनिनवादलाई सर्वोत्तम विचार मानेर २००६ सालमा कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका नेता पुष्पलालको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा गराउँदै निधन भएको थियो। अहिले धेरै पुराना नेताहरूका छोराछोरी राजनीतिमा सक्रिय छन् तर कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा भने व्यवसायमा जमिरहेका छन्। पुष्पलालको ४०औँ स्मृति दिवसको सन्दर्भमा छोरा उमेशलाल श्रेष्ठसँग थाहाखबरका भागवत भट्टराईले गरेको कुराकानी प्रस्तुत छ।
पुष्पलालको एक मात्र छोरा तपाईं राजनीतिमा आदर्श पुरुषका रूपमा चिनिने पुष्पलाललाई कसरी सम्झनुहुन्छ?
मेरो तर्फबाट उहाँलाई सम्झँदा सामान्य छोराले आफ्नो पिताप्रति जस्तो सम्मान राख्छ, मेरो पनि त्यस्तै हो। म पनि त्यसैगरी सम्झन्छु। विशेष दिनमा अर्कै तरिकाले सम्झन्छु। उहाँको व्यवहार सम्झन्छु। जुन तरिकाले राजनीतिमा आफूलाई होम्नुभयो, खासगरी आफ्ना दाजु गंगालालको हत्यापश्चात् जसरी लाग्नुभयो त्यो सम्झन्छु।
उहाँले राजनीतिमा आफ्नो स्वार्थलाई ख्याल गर्नुएन। अहिले त्यस्ता खालका व्यक्तिको कमी रहेको मलाई महसुस भएको छ।
उहाँको राजनीतिक सोचाइ कस्तो थियो?
कुनै पनि कुरालाई अलिक अगाडि नै सोच्न सक्ने क्षमता उहाँसँग थियो। उहाँले संयुक्त जनआन्दोलनका कुरा गर्नुहुन्थ्यो। कम्युनिस्टहरूले उहाँलाई कांग्रेसको पुच्छर भनेर जिस्क्याउँथे। कांग्रेसहरू उहाँको आशय बुझ्दैनथे।
तर अन्तिममा गणेशमानजीले ०४६ मा यो कुरा त ठीक हो भनेर नेपाली कांग्रेस र कम्युनिस्टको संयुक्त आन्दोलनलाई स्वीकार्नुभयो र त्यो परिवर्तनको वाहक बन्यो। त्यसलाई बुबा स्वर्गीय भएपछि मिलाउन मेरी आमाले र ठूलाबुबा मनमोहन अधिकारीले अनवरत भूमिका खेल्नुभयो।
मूलत: पुष्पलालको सुरुदेखिको भनाइ के थियो?
उहाँले त्यसबेला क्रान्ति अब सम्भव छ भन्नुभएको थियो। जनजीविका र प्रजातन्त्र दुवै समेटेर मात्र क्रान्ति हुन्छ, त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्छ। जनआन्दोलन नै क्रान्तिको आधार हो भनेर उहाँले भन्नुभएको थियो। जुन कुरा पछि सत्य सावित भयो। कांग्रेसले प्रजातन्त्रको एकोहोरो रट लगायो तर संयुक्त आन्दोलनमा दुवै पक्ष आउन वर्षौं लाग्यो ।
नेपाली समाजलाई उहाँले जसरी व्याख्या गर्नुभएको छ, त्यसलाई अहिलेको कम्युनिस्ट पार्टीले बुझेजस्तो लाग्छ?
धेरै कुरा नगरौँ, एउटा कुरा भने पक्कै बुझेको छ। अहिलेको एकीकृत कम्युनिस्ट पार्टीले जबसम्म एक भइँदैन, नेपालको विकास सम्भव छैन भनेर बुझेजस्तो लागेको छ। उहाँले जिन्दगीभर २०१९ बाट टुक्रिएका कारण पुन:स्थापनाको र २०२० सालदेखि अनेकन एकताको प्रयास गर्नुभयो। त्यो हुन सकेन। अहिले नेपालमा ठूलो कम्युनिस्ट पार्टी बनेको छ। हेरौँ, केही होला कि! आशा गरौँ।
कांग्रेस र कम्युनिस्टको दूरी त बढ्न थाल्यो नि! यसको प्रभाव के होला?
प्रतिस्पर्धी राजनीतिमा आउने जाने भइरहन्छ। कहिले को सत्तामा हुन्छ, कहिले विपक्षमा हुन्छ। भारतमा हेरौँ, हरेक पाँच/पाँच वर्षमा आलोपालो हुन्छ। त्यो जनता सुप्रिम छ भनेर देखाउने कुरा हो।
जनताले तिमीले राम्रो काम गरेर देखाऊ होइन भने तिमीलाई दिँदैनौँ भन्छन्। प्रतिस्पर्धा रहन्छ। मलाई व्यक्तिगत तवरले चित्त नबुझेको कुरा के छ भने हामी सत्तामा गएपछि सबै बिर्सन्छौँ, विपक्षमा भएपछि मात्रै संझन्छौँ। कांग्रेस, कम्युनिस्ट जुनसकै पार्टी सत्तामा गएपछि दम्भ हुँदोरहेछ। विपक्ष भएपछि माइतीघर मण्डला वा टुँडिखेल संझँदोरहेछ। लोकतन्त्रमा संवाद ठूलो हो। संवाद गर्ने ठाउँ र हरेक कुराको समाधान खोजिने ठाउँ संसद् हो।
छोराको हैसियतले पुष्पलालको सम्मान कसरी गर्नुहुन्छ ?
एकदम औपचारिक। साउन ६ गते वीपीको सम्झना हुन्छ, साउन ७ गते पुष्पलाललाई सम्झने चलनजस्तो बनेको छ। ६ र ७ गते श्राद्ध गर्ने दिन जस्तै भएका छन्। ती नेताले यसो भनेका थिए भनेर सम्झने दिन हुन् साउन ६ र ७ गते।
कसरी सम्झनुपर्छ जस्तो लाग्छ?
सम्झनु भनेको कुनै पनि ठूला नेताले केही काम गर्नुभएको छ भने उहाँहरूको देनअनुसार, भनाइअनुसार काम गर्ने हो। उहाँको नाममा अस्पताल बनाउनुपर्ने, सडक बनाउनुपर्ने भन्ने होइन। त्यस्ता कुरा अौपचारिक र आडम्बर हो। भारतमा हेर्नुभयो भने गान्धी, नेहरुबाहेक केही पनि छैन- अस्पताल, बाटो। त्यो गलत हो। ठूला नेताले देखाएको मार्गमा चल्ने हो। जनताको हित उनीहरूले सोचेअनुसार गर्ने हो। जनताको हित नहेर्ने अनि शालिक बनाएर के हुन्छ?
पारिवारिक रूपमा चाहिँ कसरी सम्झनुहुन्छ?
पारिवारिक हिसाबमा पुष्पलाल स्मृति दिवसमा परिवारका सबै चन्द्रागिरि जान्छौँ, माल्यार्पण गर्छौं अनि तिथिअनुसार श्राद्ध गर्छौं। पण्डित बोलाएर श्राद्ध गर्ने र दान दिने परम्परागत काम गर्छौं।
बुबासँगको सबैभन्दा स्मरणीय क्षण के सम्झनुहुन्छ?
बुबासँग धेरै कम समय मात्रै मैले बिताउन पाएँ। उहाँसँग बिताएका हरेक पल मेरा लागि स्मरणीय रहेका छन्।
के कुरा याद हुन्छ बुबाको?
त्यस्ता धेरै कुरा छन्। खासगरी बुबा आफू समस्यामा परेर पनि अरूको समस्या समधानमा लाग्नुहुन्थ्यो। अरूलाई भोको नांगो देख्न चाहनुभएन। यो विषयमा मैले विशेष याद गरेको हुन्छु।
प्नाय: नेताका छोरा नेता नै भएको देखिन्छ, तपाईं भने व्यवसायमा हुनुहुन्छ, किन राजनीतिमा लाग्नुभएन?
यस्तो प्रश्न कसैले नसोधोस् भन्ने चाहन्छु। मेरो मान्यता के छ भने भोको पेटमा राजनीति चल्दैन। भोको पेटले जसले राजनीति गर्छ, त्यहाँ चलखेल हुन्छ। म भोको थिएँ। ४०/४५ वर्ष पहिले म भोको थिएँ। मैले केही गरेको थिएन। विद्यार्थी काल र अलिअलि काम सुरु गर्दाखेरि मेरो हैसियत राजनीति गर्नेगरी थिएन। हाम्रो जस्तो मुलुक यत्रा ठूलो पहिचान बनाएका आमाबुबाको सन्तान राजनीतिमा जान त सक्ने थिएँ होला तर आर्थिक रूपमा हैसियत थिएन।
मैले केही हासिल नगरेसम्म राजनीतिमा लाग्नुहुँदैन भन्ने लाग्यो, त्यो गर्दागर्दै यो उमेर भइसक्यो। जब राजनीतिमा जान सक्ने भएँ तर अब जाँदा अरूलाई अन्याय हुन्छ। २०औँ वर्ष ३०औँ वर्ष मिहिनेत गरेर राजनीति गरेका व्यक्तिलाई म गएँ भने अन्याय हुन्छ। हाम्रो समाज नेतालाई बोकेर हिँड्ने समाज हो। थुप्रै नेताका छोरा राजनीतिमा छन् उहाँहरूलाई बिना दु:ख राजनीति गर्न पनि सहज छ। मलाई त्यो अन्याय गरेर फाइदा लिनु छैन। म अब पनि राजनीतिबाट टाढै रहन चाहन्छु।
राजनीति र व्यवसाय कुन गाह्रो जस्तो लाग्छ ?
विजनेस गर्न असाध्यै गाह्रो छ। नेपालमा सबैभन्दा गाह्रो काम विजनेस हो। हाम्रा कानुन नीतिहरू, शंकालु व्यवहार अत्यन्तै कठिन छन्। त्यो हेर्दा राजनीति सजिलो र सही जस्तो लाग्छ। मैले अहिले राजनीति गर्दा मेरो बाटो खुल्दै जाला जस्तो लाग्छ तर व्यापारमा गाह्रो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।