|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी शनिबार बिहान भारतको गोवा जाने भएका छन्। शनिबारदेखि दक्षिण गोवामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।

शनिबार बिहान ८ बजे प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली ध्वजाबाहक विमान नेपाल वायुसेवा निगम मार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने र दिल्लीबाट गोवा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा त्यसतर्फ जान लागेका हुन्। सम्मेलनमा उनी पर्यवेक्षकका रुपमा सहभागी हुनेछन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारी, शिष्टचार महापाल दिपक अधिकारी, स्वकीय सचिव प्रकाश दाहाल, स्वकीय उपसचिव मनोहरि तिमिल्सिना, निजी चिकित्सक डा.युवराज शर्मा लगायत १५ जना रहनेछन्। भ्रमण टोलीमा राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका एक-एक जना संवाददाता समेत समावेश गरिएको छ। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भारतको गोवामा शनिबार साँझ आधा घण्टा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचण्डले गोवा भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँगको भेटलाई मुख्य प्राथमिकतामा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताए। आचार्यका अनुसार भेटका क्रममा उनीहरुबीच दुई देशको आपसी हित तथा सम्बन्धलाई अझ प्रागाढ बनाउने विषयमा छलफल हुनेछ। प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिइसकेका छन्। भेटपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्ड गोवामा राखिएको बंगालका खाडीसम्वद्ध देशहरुको संगठन बिमस्टेकको बैठकमा पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिन पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन बिहीबार बिहानै चीनबाट प्रस्थान गरिसकेका छन्।

वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरुमा ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिंग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमासम्मेलनमा मूल सहभागी हुनेछन् ।

सम्मेलनमा आयोजक राष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, बङ्गलादेशकी राष्ट्रपति शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङ सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालाई पनि निम्त्याएका छन् भने गैह्रबिम्स्टेकका अन्य मित्रराष्ट्र प्रमुखहरू अफगानिस्तानका राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि सम्मेलनमा निमन्त्रणा गरिएको छ ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.