काममा सन्तोषजनक प्रगति : प्रजिअ तामाङ

|

सिन्धुपाल्चोक : गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणको काम नगर्ने ठेकेदारलाई कारवाही गरे पनि ठकेदारहरूको प्रवृत्तिमा सुधार आउँन नसकेको जनगुनासो व्याप्त छ। तर ठेकेदारकोे कारवाही कै कारणले निर्माण कार्य सुरू हुन नसकेका योजनाहरू सुरू भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

यसवर्षकाे वर्षात छिटो सुरू भएकोले असार मसान्तसम्म सम्पन्न भइसक्नुपर्ने विकास निर्माणको काम प्रभावित भएको छ। वर्षाले गाउँ जाने कच्ची सडक भत्किएपछि निर्माण कार्य प्रभावित भएको हो। तर प्रशासन कार्यालयले विकास निर्माणको काम तीब्र रूपले अगाडि बढाएको जनाए पनि ठेकेदारहरूको काममा प्रगति देखिएको छैन।

आव २०७४/०७५ मा जिल्लाका लागि केन्द्रीय सरकारबाट आएका विकासका काम धेरैले पूर्णता पाएका छैनन्। ठेकेदारले काम नगरेकै कारणले केन्द्रीय सरकारबाट रकम विनियोजन भएका ठूला विकास निर्माणका काम तोकिएको समयमा पूरा नभएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। ‘तोकिएकै समयमा काम पूरा नगर्ने ठेकेदारलाई पक्राउ र कतिलाई लिखित निर्देशन दिएपछि जिल्लाको विकास निर्माणले गति लिएको छ’ प्रजिअ तामाङले भने, ‘पछिल्लो समयमा विकास निर्माणको कामले सन्तोषजनक प्रगति देखा परेको छ।’

पूर्वाधार विकासको दर्जनभन्दा बढी काम सडकको दूरावस्थाले बीचैमा रोकिएको निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष नीलध्वज थापाले बताए। ‘ठेक्का ढिला लागेको र काम सुरू भएपछि वर्षातले कच्ची सडक भत्किएकोले निर्माण सामग्री ठाउँमा पुर्‍याउन सकिएको छैन,’ उनले भने। समय गुज्रेपछि काम गर्ने परिपाटी नहटाएसम्म विकास निर्माणले सही गति नलिने उनको भनाई छ। 

केन्द्रीय बजेटबाट निर्माणाधीन ६ वटा पुल, खाडीचौर मुडे सडक, ठूला सिँचाइ तथा खानेपानी आयोजना र सरकारी भवन पुनर्निर्माणको कामको प्रगति  ५० प्रतिशत मात्रै छ। कतिपय विकास निर्माणका काम सुरू नै भएको छैन। जिल्ला प्रशासनले काम नगर्ने निर्माण व्यवसायीलाई चेतावनीस्वरुप पक्रेर सामान्य कारवाही पनि गरेको छ। तर, निर्माण कार्यमा प्रगति नदेखिएको स्थानीयले बताउँदै आएका छ्न। 

सडकको दूरावस्थाले विकास निर्माणका काम प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन्। सडक निर्माणको काम गरिरहेको ठेकेदारहरूले पनि सरकारी नीति, मूल्य बृद्धि र भौगोलिक कठिनाइका कारण तोकिएको समयमा काम सक्न मुश्किल परेको बताउँछन्। कोदारी राजमार्ग, मेलम्ची तिपेनी सडकखण्ड, बलेफी जलबिरे, चौतारा नवलपुर र अरनिको राजमार्गबाट कच्ची सडक भएर जाने अधिकांश स्थानमा विकास निर्माण प्रभावित भएका छन्। 

कोदारी राजमार्गको किनारमा वर्षदिन लगाएर निर्माण भएको तटबन्ध नदीको बहावले धमाधम कटान गर्न थालेकोले भोटेकोसी गाउँपालिकाको विकास निर्माण प्रभावित भएको छ। करोडौं रकमका याेजनाहरू सडक, सिँचाइ, खानेपानी र पुलको काम बीचैमा रोकिएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.