|

चितवन : रत्ननगर नगरपालिकाले यहाँका मुसहर र माझी समुदायका बालबालिकालाई उच्च शिक्षा पढाउने भएको छ। नगरभित्र रहेका मुसहर र माझी विद्यार्थीहरुले चाहेमा स्नातकोत्तरसम्म नगरपालिकाको आर्थिक सहयोगमा पढाउने निर्णय भएको नगरपालिका प्रमुख नारायण वनले जानकारी दिए। 

नगरसभाबाट पारित गरिएको भए पनि अहिलेसम्म मुसहर र माझीहरुले नगरपालिकाको उक्त सेवा लिन नसकेको वनको भनाइ छ। ‘भर्खरै एक दुईजना प्लस टुसम्म पुगेका रहेछन्,' उनले भने, 'अब उनीहरुको उच्च शिक्षालाई नगरपालिकाले आर्थिक भार बेहोरेर पढाउँछ।’

सो जानकारी पाएपछि झुवानी माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्दै गरेका अमिर माझी र रत्ननगर नगरपालिका–७ का सञ्जय माझी नगरपालिकामा बुझ्न आए। ‘माझी र मुसहरलाई फ्रि रे भनेको सुनेको थिएँ,' त्ननगर नगरपालिकाका प्रमुख वनको सामुन्य सञ्जयले लजाजँदै भने, 'अनि आएको।’ कक्षा ११ मा पढ्न थालेका सञ्जयलाई पनि उच्च शिक्षाका लागि पूर्ण सहयोग हुने नगरप्रमुख वनले आश्वासन दिएका छन्।

कक्षा ११ मा उनलाई अहिलेको छात्रवृत्तिमा परीक्षा दिन भनिएको छ। शिक्षक बनेर आफुजस्तै अन्य गरिबहरुलाई पढाउने इच्छा रहेको सञ्जयले बताए। यस्तै नगरपालिकाले कोचिङ कक्षाका लागि आर्थिक सहयोग, उच्च शिक्षा पढ्न हरेक  सुकम्बासीमा रहेका बालबालिकाहरुका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र बरालले सरकारी स्कुलमा शिक्षाको गुणस्तर नघटोस् भनेर सुत्केरी सट्टा शिक्षकको समेत व्यवस्था गर्न थालिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.