|

काठमाडौं : चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन्। 

केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो।  दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए। 

प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन्। 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो उहाँको माग पूरा गर्नुपर्ने बताए। अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताए। 

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए।  स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा केसीलाई काठमाडौँ ल्याएको थियो। हाल केसी  शिक्षण अस्पतालमा २३ औँ दिनको अनशनमा छन्। यो केसीको १५ औँ पटकको अनशन हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.