विचार

समाजवादको सपना बोकेका वीपी र नेपाली राजनीति
SHARES

साउन ६, २०७५

    विश्वेश्वरप्रसाद कोइराला नेपालका भूतपूर्व प्रधानमन्त्रीभन्दा, नेपाली कांग्रेसको स्थापना गरी जनक्रान्तिबाट मुलुकमा जहानियाँ राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्ने एक क्रान्तिकारी नेताभन्दा पनि बढी नेपाली समाजलाई नयाँ बाटोमा डोहोर्‍याउने एउटा सामाजिक रूपान्तरणका अभियन्ताको रूपमा परिचित हुुनुहुन्छ- नेपाली माटोमा अनि विश्व प्रजातान्त्रिक मंमा समेत। जुन दिनदेखि उहाँ नेपाल र नेपाली समाजको मानवोचित सकारात्मक रूपान्तरणका लागि राजनीतिलाई माध्यम बनाएर सामाजिक सेवामा होमिनुभयो, त्यसपछि आजसम्म नेपाली राजनीतिको केन्द्रविन्दुमा रहनुभएको छ।

    भौतिक रूपमा उहाँको अवसान २०३९ साउन ६ गते भएको भए पनि आजसम्म नेपाली राजनीतिको बहसमा उहाँ हुनुहुन्छ र राजनीतिको पक्ष र विपक्षमा उहाँकै नीतिको चर्चा भएको छ। यो क्रम अझै कति दशकसम्म चलिरहला, अनुमान गर्न पनि गाह्रो छ। यसको खास कारण हो- जीवनपर्यन्त अविचल जनताको पक्षमा लागिरहनु, व्यक्तिको नैसर्गिक जन्मसिद्ध स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा डटेर दृढताका साथ लाग्नु र ती प्रजातान्त्रिक मूल्यले सिञ्चित नागरिकहरूको सचेत समूहबाट समाजको लागि गरिनुपर्ने कर्तव्यप्रतिको चेतना वितरण गर्न सक्ने क्षमताका लागिसमेत लागिरहनु। यसलाई क्रान्तिचेत भन्न मिल्छ क्यार! क्रान्तिचेतको त्यही एउटा फिलिंगोले मुलुकको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको संवर्द्धन गरिरहन सक्ने क्षमता राख्दोरहेछ। 

    उहाँको समाजवाद नबुझिने शब्दहरूको भण्डार थिएन। सहज अर्थको समाजवाद थियो- सबै नेपालीले खान, लाउन, ओखती गर्न, पढ्न पाऊन् र उनीहरूको मौलिक हकमा कतैबाट पनि अवरोध नआओस्। सानासाना उद्योगधन्धाको विकास गर्दै सम्पूर्ण नेपालीहरू उद्यमी होऊन् र उत्पादन वृद्धि गर्दै आफ्नो खुट्टामा टेकेर विश्व नागरिकको हैसियत प्राप्त गरून्। १५ वर्षभित्रमा कुनै पनि नेपाली खान, लाउन, पढ्न, ओखती गर्न आफैँ सक्षम होस् भन्ने समानतामा आधारित प्रजातन्त्रको अभ्यासमा लाग्ने उहाँको नमुना प्रजातन्त्रको आधारशिला बन्दै थियो। साम्यवादीहरूले भनेको समाजवादभन्दा नितान्त फरक उदार समाजवादको चाहना उहाँको थियो, जहाँ प्रजातन्त्रका सम्पूर्ण तत्त्वहरू विद्यमान हुने थिए। 

    उहाँको विशेषता थियो- जुन कुरामा उहाँको विश्वास हुन्थ्यो, त्यसलाई आफैँले अभ्यास गरेर मात्र अरूलाई त्यसका लागि उत्प्रेरित गर्नुहुन्थ्यो। उदाहरणका लागि राजनीतिमा प्रजातान्त्रिक समाजवाद र व्यक्तिगत रूपमा धर्मनिरपेक्षताको सिद्धान्त। उहाँले न त आफूलाई धार्मिक सापेक्षतामा उभ्याउनुभयो, न त कसैको धार्मिक स्वतन्त्रतामा कुनै नकारात्मक असर पुर्‍याउने अपराध नै गर्नुभयो। जनताको सार्वभौमिकताको सधैँ सम्मान गर्नुभयो बरु त्यस्तो सम्मान गर्नुपर्दा जेलको कालकोठरीमै किन बस्नु नपरोस्। प्रजातन्त्रको विपक्षमा कहिल्यै पनि कुनै सम्झौता गर्नुभएन र त आजसम्म उहाँ नेपाली राजनीतिको मियो नै रहन सक्नुभएको छ। 

    अहिले नेपालको संविधानमा मुलुक समाजवाद उन्मुख भनेर भनेपछि अब सबै नेपालीहरूलाई संसदको दुई तिहाई मतको दम्भले समाजवादी बनाउने बाध्यकारी बहस सुरु भएको छ। नयाँ संविधान बनाउनेहरूमध्येका आफूलाई कम्युनिस्ट भन्नेहरूले समाजवादलाई साम्यवादसम्मको बाटो बनाउने नयाँ गोरेटोमा सबैलाई बाध्यकारी हिँड्नै पर्ने गरी अर्थ्याउन थालेका छन् भने नेपाली कांग्रेसका विचारमा समाजवाद प्रजातन्त्रलाई जनसमक्ष सामाजिक न्याय दिलाउने एउटा सामाजिक प्रक्रिया मात्र हुनसक्ने अनुमान गर्न सकिन्छ। संविधान बनाउँदा प्रस्तावनामा राख्ने बेलामा गरिनुपर्ने बहस र छलफल अहिले आएर हुन थालेको छ। तर समाजवादलाई सहज तरिकाले आफ्नो दल नेपाली कांग्रेसको विधानमा राख्ने काम भने वीपीले २०१२ सालमा नै गर्नुभएको थियो। त्यसलाई सायद भोलिको समयलाई आजै देख्ने राजनेताका रूपमा लिन सकिन्छ होला। उहाँको समाजवादमा प्रजातन्त्र अपरिहार्य तत्त्व थियो र नागरिक सार्वभौमसत्ता सम्पन्न शासनभन्दा सर्वोपरि हुन्थ्यो।

    २०३९ साउन ६ गते नेपाली राजनीतिका एक अथक प्रजातान्त्रिक योद्धा तथा नेपाली जनताका पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ६८ वर्षको उमेरमा यस संसारबाट बिदा हुनुभएको थियो। राजनीतिमा सामाजिक प्रजातन्त्रवादी र साहित्यमा प्रयोगवादी मनोविश्लेषक विपी मूलतः समाजको एक प्रगतिशील तथा गतिशील अभियन्ता हुनुहुन्थ्यो। उहाँको विचारमा उहाँलाई एउटा असल नेपाली भनी सम्झिए पुग्नेछ र आफूलाई एउटा सामान्य नेपालीको दर्जा मात्र चाहेको बताएर सामान्यभन्दा पनि सामान्य जनताको नेता हुने सौभाग्य पाउनुभएको छ। लोकतन्त्रप्रतिको अटल विश्वास र जनताको शक्तिप्रतिको अविचल आस्थाले वीपीलाई नेपाली माटोमा अमर बनाएको हो। संसदीय व्यवस्थालाई कसरी नेपाली माटोमा स्थायित्व दिन सकिन्छ भनेर लागिरहेकाले पनि होला, आजको नेपाल उहाँकै सपनाको वरिपरि घुमिरहेको छ।

    भन्न त रूपमा स्थायी सरकार पाएको छ नेपालले भनिन्छ तर सारमा नेपाल राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा यति धराप मोडमा आफ्नो इतिहासमा कहिल्यै पनि थिएन होला। मुलुकले अहिले सक्षम राजनेताको कमी महसुस गरिरहेको छ। पछिल्लो कालखण्डमा गिरिजाबाबुले समन्वय र राजनीतिक सुझबुझको परिचय दिँदै सशस्त्र हिंसामा व्यस्त तत्कालीन नेकपा माओवादीलाई शान्तिको मूलधारमा ल्याउने कोसिस गर्नुभएको थियो। आजको संविधानसभाबाट प्राप्त संविधानको जस जसले लिन खोजे पनि  त्यो संविधानसभाको पहिलो कल्पनाकार वीपी नै हुनुहुन्थ्यो तर नेपाली जनतालाई कुनै पनि प्रकारको असजिलो नहोस् भनी उहाँले २०१५ सालमा राजासँग सम्झौता गरी लोकतान्त्रिक संविधानमा चित्त बुझाउनुभयो र पहिलो आमनिर्वाचन गराउने विषयमा सहमति जनाउनुभयो। त्यो निर्वाचनमा अप्रत्याशित रूपमा नेपाली कांग्रेसले प्रचण्ड बहुमत ल्याएपछि लोकतन्त्रविरोधीहरूले २०१७ पुस १ गतेको तानबाना बुने र मुलुक एकतन्त्रीय निरङ्कुशतामा ३० वर्ष जकडियो। त्यसैबीचमा दुई पटक सशस्त्र संघर्षद्वारा पंचायतलाई चुनौती दिने काम भएको थियो।

    २०३३ पुस १६ गते वीपी, गणेशमानजीसहित राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल प्रवेश गर्नुभयो। मेलमिलापको राजनीतिक अभियानको त्यो सुरुवात विन्दु थियो। त्यसैले राष्ट्रियतासँगै प्रजातन्त्रको रक्षार्थ मेलमिलापको प्रवर्तकका रूपमा पनि वीपीलाई लिने गरिन्छ र जमेको पोखरीलाई गतिशील बनाई लोकतान्त्रिक राजनीतिक परिवर्तनका लागि बाध्यकारी परिस्थिति त्यसैबेलाबाट बनेको इतिहासले देखाउँछ। 

    संसदीय व्यवस्थालाई नेपाली माटोमा परिचित गराउने र त्यसको पक्षमा वकालत गर्ने व्यक्तिको रूपमा वीपीलाई जसरी लिइन्छ, त्यसैगरी प्रजातन्त्रका पक्षमा आफ्नो चट्टानी अडानका कारणले पनि उहाँ प्रसिद्ध हुनुहुन्छ। प्रजातन्त्रका विपक्षमा पनि सम्झौता गरेको भए जीवनपर्यन्त उहाँ प्रधानमन्त्री त हुनुहुन्थ्यो होला तर नेपाली र विश्वका प्रजातन्त्रवादीहरूले यो सम्मान दिँदैनथे, जुन आज मरणोपरान्त पनि उहाँले पाइरहनुभएको छ।

    उहाँको आस्था र कल्पनाको प्रजातन्त्र वा लोकतन्त्र यस्तो थियो, जहाँ उदार मानवअधिकारको रक्षाको छाताभित्र सबै अटाउँथे- राजा पनि, वामपन्थीहरू पनि र राजावादीहरू पनि। तर विदेशीका इसारामा हिँड्नेहरू र नेपाललाई अस्थिरताको चक्रव्यूहमा फसाउनेहरू भने त्यसमा अटाउने कुनै गुन्जायस थिएन। अटाएनन् पनि। तर समयको पदचाप नसुन्दा र राष्ट्रिय मेलमिलापलाई वीपीको असफलताको हीनता ग्रन्थीको उपज सम्झेर आफूलाई विष्णुको अवतार सम्झने अनि  जहिले पनि सैनिक बलका आधारमा आफूलाई बलियो सम्झने राजतन्त्रलाई अहिले लाग्दो हो- त्यसबेलामा त्यो सुकेको आवाजले बोल्ने बिरामी मानिसको सशक्त तर्क सुन्न सकेको भए र त्यो तर्कलाई व्याख्या गर्न सकेको भए आज नेपालको मुहार अर्कै हुने थियो र विकासको नयाँ नमुनाको रूपमा यो देश विश्वमंचमा दर्ता हुने थियो। जस्तो कि अहिले डेनमार्क, स्विडेन, नर्वे र जापान प्रस्तुत भएका छन्। राजतन्त्र असिना बिलाएजस्तो गरी सायद नेपालबाट अलप हुने थिएन। 

    नेपाल अहिले पनि राष्ट्रिय मेलमिलाप र अन्तर्राष्ट्रिय मेलमिलापको प्रतीक्षामा छ। वीपीले देखाउनुभएको बाटोमा नेपाल हिँड्न छाडेकाले पनि नेपालले लामो बाटो हिँड्नुपर्ने भएको छ। नेपाल इतिहासको त्यो संकटपूर्ण अवस्थाबाट गुज्रँदै छ, जहाँ अब कुनै पनि उपचारले कसरी राष्ट्रिय अविश्वासको रोगबाट मुक्ति पाउनसक्छ भन्ने निदान देखिन थालेको छैन। जब वीपी हुनुहुन्थ्यो, त्यसबेलामा वीपीको राष्ट्रिय मेलमिलापलाई उहाँको सशस्त्र संघर्षको समापन सम्झने गल्ती गर्नेहरू नै पछि जनयुद्धको हिंसात्मक बाटोतिर लागे र नयाँ राजनीतिक स्थिति विकासतर्फको अनिश्चित गन्तव्यतिर लागे, जसले मुलुकलाई अहिले पनि अनिश्चित भविष्यतर्फ डोहोर्‍याइरहेको छ र यदि स्थितिको आत्मालोचना गर्न ढिलो भएमा मुलुक अस्थिरता र अनिश्चयको गर्भतर्फ भासिने निश्चित देखिन्छ। अहिलेको अनिश्चितता भनेको नै अलोकतान्त्रिक शक्तिले आफूलाई लोकतान्त्रिक देखाउने तर व्यवहारमा सदैव अलोकतान्त्रिकता नै प्रदर्शन गर्नु नै हो भन्न अब हिच्किचाउनु पर्नेछैन। झन अहिले त आफूलाई कम्यनिस्ट भन्नेहरूका हातमा नै प्रजातन्त्र सुम्पिएको बेला छ। 

    वीपीलाई पछिल्लो कालखण्डमा  राष्ट्रियता  र प्रजातन्त्रलाई एउटै सिक्काका दुई पाटाका रूपमा विकास गर्ने  र त्यसको संवर्द्धनका लागि राष्ट्रिय मेलमिलापको प्रणेताका  रूपमा लिइन्छ। हुनत यो दिनलाई नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको महानिर्वाण दिवसको रूपमा लिइए पनि नेपालको धरतीबाट लोकतन्त्रका एक सच्चा पहरेदार, एक असल नेपालीको अस्त भएको थियो। त्यो नेपाली एक सच्चा राष्ट्रवादी, सच्चा समाजवादी, सच्चा लोकतन्त्रवादी र सच्चा मानवतावादी थियो। पछिल्लो अवस्थामा उहाँको एक मात्र चाहना नेपाली-नेपालीका बीचमा मेलमिलाप, नेपाली र नेपालका छिमेकीका बीचमा मेलमिलाप र नेपालको खस्कँदो राष्ट्रिय अस्तित्वलाई आधार बनाएर नेपालको अस्तित्व जोगाउन त्यस्तो निर्णय गरिएको थियो। त्यो निर्णय यति अचानक र संवेदनशील अवस्थामा भएको थियो कि यसलाई स्वीकार गर्न नेपाली कांग्रेसका थुप्रै अहिंसावादी नेताहरूलाई पनि लामो समय लागेको थियो। यसका प्रणेता नेपाली कांग्रेसका अध्यक्ष वीपी स्वयम् नै हुनुहुन्थ्यो। 

    त्यो नीतिको परिणाम आउन्जेलसम्म वीपी रहनु त भएन तर उहाँको जुन भविष्यवाणीका आधारमा मेलमिलापको आधारभूमि खडा भएको मानिएको थियो, त्यसको मर्मलाई कुल्चिँदा नेपालको राजनीतिमा आमूल परिवर्तन अवश्यम्भावी भएको तथ्य आज अर्थ्याउन सकिन्छ। वीपीको त्यो स्वाधीनताको शान्तिपूर्ण युद्ध कसैको विरुद्धमा थिएन तर नेपालको राष्ट्रियताको पक्षमा थियो, नेपालीहरूलाई सचेत गराउने विषयमा थियो र नेपाललाई कसरी एउटा निरङ्कुश शासनबाट प्रजातान्त्रिक प्रणालीमा रूपान्तरित गर्ने भन्ने व्यापक विषयमा केन्द्रित थियो। 

    वीपीलाई किन पनि सम्झने हो भने राजनीतिको एउटा पाटोसँगै साहित्यको अर्को पाटो पनि कोरिएको थियो उनमा। राजनीति, साहित्य, सामाजिक रूपान्तरण र दूरगामी सोचको राजनेताको रूपमा उहाँको पहिचान अझ बन्दै छ। संसदीय व्यवस्थालाई नेपाली माटोमा परिचित गराउने र त्यसको पक्षमा वकालत गर्ने व्यक्तिको रूपमा वीपीलाई जसरी लिइन्छ, त्यसैगरी प्रजातन्त्रका पक्षमा आफ्नो चट्टानी अडानका कारणले पनि उहाँ प्रसिद्ध हुनुहुन्छ। प्रजातन्त्रका विपक्षमा पनि सम्झौता गरेको भए जीवनपर्यन्त उहाँ प्रधानमन्त्री त हुनुहुन्थ्यो होला तर नेपाली र विश्वका प्रजातन्त्रवादीहरूले यो सम्मान दिँदैनथे, जुन आज मरणोपरान्त पनि उहाँले पाइरहनुभएको छ।

    सबैभन्दा बढी त नेपालीलाई स्वतन्त्र नेपाली, सजग नेपाली, सतर्क नेपाली र प्रजातान्त्रिक नेपाली बनाउन गर्नुभएको क्रान्तिका लागि सदैव, मेलमिलापको नीति प्रवर्द्धन गर्ने एउटा असल नेपालीका रूपमा सम्झिरहनेछ नेपालले। एउटा असल प्रजातान्त्रिक समाजवादी भनेर प्रजातान्त्रिक समाजवादी आन्दोलनले सम्झिरहनेछ उहाँलाई र एउटा यथार्थवादी मनोवैज्ञािनिक साहित्यकारको रूपमा पनि सम्झिरहनेछ नेपालले।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]