|

पर्वत : पछिल्ला तीन वर्षयता दुर्घटनाका घटनामा ६० प्रतिशतले कमी आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटका अनुसार पर्वतमा पछिल्लो तीन वर्षको तथ्यांक अनुसार हरेक वर्ष दुर्घटनाका साथै दुर्घटनामा परी मृत्यु र घाइते हुनेको संख्यामा कमी आएको छ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा पर्वतमा १२ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा सात जनाको मृत्यु, २३ जना गम्भीर घाइते र छ जना सामान्य घाइते भएका थिए। यस्तै, आर्थिक वर्ष २०७३÷०७४ मा भएका १० वटा दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने १६ जना गम्भीर र १८ जना सामान्य घाइते भएका थिए। आर्थिक वर्ष २०७४÷०७५ मा भएको छ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३४ जना गम्भीर र ११ जना साधारण घाइते भएका छन्।

दुर्घटना कम हुँदै जानमा ग्रामीण क्षेत्रमा पनि ट्राफिक प्रहरीको उपस्थिति रहनु, राजमार्ग र बजार क्षेत्रमा छड्के चेकजाँचलाई तीव्र पारिनु, आमा समूह, युवा क्लब, विद्यालयलगायतका सामाजिक समूहमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालनको प्रभाव भएको प्रहरी बताउँछ। यस्तै, बाटोको अवस्थाबारे हरेक दिन चालकहरूलाई बस छुट्ने स्थानमा जानकारी गराइनु, सवारीलाई क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, सवारीसाधनको अवस्था, कागजात, अनुमतिपत्र, मादक पदार्थ सेवन लगायतको चेकजाँच र सडकमा संकेत बोर्ड र सडक ऐना राखेकाले दुर्घटना कम हुँदै गएको ट्राफिक प्रहरी प्रमुख रानाभाटले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष ४८ लाख ५० हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त आर्थिक वर्षमा आठ हजार १३६ वटा सवारीसाधनलाई गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.