|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति निन्दा एवं भर्त्सना गर्दै मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ। मन्त्री तामाङ नेपाली बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनमा जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मितामाथि ठेस पुग्न अभिव्यक्ति दिएको भन्दै राप्रपाले बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो।

सहप्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मितामाथि नै ठेस पुग्ने गरी कानुनमन्त्री शेरबहादुर तामाङको अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति प्रति राप्रपा निन्दा एवं भत्सर्ना गर्दछ। मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओली समक्ष राप्रपा माग गर्दछ।'

केही दिनअघि मन्त्री तामाङले नेपाली चेली बंगलादेशस्थित विभिन्न कलेलका प्राध्यापकहरूबाट बलात्कृत हुने गरेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि मन्त्री तामाङ चौतर्फि विरोध हुँदै आएको छ। साथै सोही प्रकृतिको अभिव्यक्ति दिने बिर्तामोडस्थित बि एन्ड सी हस्पिटलका सञ्चालक दुर्गा प्रसार्इंलार्इ पनि कानुनी दायरामा ल्याइ कडाभन्दा कडा सजाय दिन राप्रपाले माग गरेको छ।

'आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न पनि राप्रपा सरकारसँग जोडदार माग गर्दछ' विज्ञप्तिमा भनिएको छ।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.