|

काठमाडौं : तीन महिना यता नेपाल प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)विहीन छ। तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालसँगै उनका ब्याची सबै एआइजीले चैत २७ मा अवकाश पाएपछि प्रहरी संगठन एआइजीविहीन भएको हो।

सर्वेन्द्र खनाल नेपाल प्रहरीको आइजीपी नियुक्त भएको तीन महिना बितिसक्दासमेत सरकारले एआइजीको पदपूर्ति गर्न सकेको छैन। खनाल आइजिपी भएयता सबै एआइजी पद रिक्त छन्। खनाल आइजिपी भएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) सम्मलाई बढुवा सिफारिस गरे पनि डिआइजीबाट एआइजीको बढुवा भने हुन सकेको छैन्।

केही महिनासम्म संघीयतामा रुपान्तरण हुँदा नेपाल प्रहरीको संरचना कस्तो हुने र एआइजीको संख्या कति रहने भन्ने बहस चलेको थियो। तर, सरकारले जेठ २६ गते प्रहरीमा प्राविधिकसहित चार जना एआइजी रहने निर्णय गरेसँगै त्यसको टुंगो लागेको थियो। सरकाले निर्णय गरेको एक महिना बितिसक्दासमेत एआइजी पद भने अझै रिक्त छ।

प्रहरी स्रोतका अनुसार यहि साताभित्र एआइजीको पदपूर्ति नभए नेपाल प्रहरी आउने कार्तिकसम्म एआइजीविहीन रहने छ। ‘साउन ७ गतेसम्म पुरानै कार्य सम्पादन मुल्यांकनका आधारमा बढुवा गर्न सकिने प्रावधान छ। त्यसपछि आर्थिक वर्ष ०७४/७५ को कार्य सम्पादनको मूल्याङको आधारमा बढुवा गर्नु पर्ने हुन्छ,’ स्रोतले भन्यो। नयाँ कार्य सम्पादन मूल्यांकन तयार हुन कातिकसम्म लाग्ने गर्दछ।

प्रहरी प्रधानकार्यालय भने एआइजीको पदपूर्ति गर्ने अधिकार सरकारसँग हुने भएकाले यसबारेमा थाहा नहुने बताउछन्। नेपाल प्रहरीमा यसअघि भने १५ जना एआइजी थिए। अब पाँच जना डिआइजीहरू पुस्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, सुरेशबिक्रम शाह र ठूले राईमध्ये तीन जना एआइजी हुने छन्। पाँच जनामध्ये सबैभन्दा प्रमुख दावेदारमा पुस्कर कार्की, मनोज नेउपाने र ठूले राई रहेको प्रहरी स्रोतको भनाइ छ। कार्की आइजिपीका समेत दावेदार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.