बुबाकै दौरा-सुरुवालमा विवाह!

|

काठमाडौं : नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला नेपालका पहिला जननिर्वाचित प्रधानमन्त्री हुन्। उनले अंगीकार गरेको प्रजातान्त्रिक समाजवाद अहिले पनि नेपाली कांग्रेसले अनुसरण गर्दै आएको छ। उनको राजनीतिक यात्रा भारतबाट सुरु भएको हो, जतिबेला उनी भारतमा महात्मा गान्धीको नेतृत्वमा चलिरहेको स्वतन्त्रता आन्दोलनमा सहभागी भए। 

दाजु मातृकाप्रसाद कोइराला र उनलाई सन् १९३० मा तीन महिनासम्म बेलायती सरकारले भारतमै कैद गर्‍यो। सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको (अहिलेको नेपाली कांग्रेस) स्थापना गरे उनले। सन् १९४७ मा विराटनगरमा मजदुर आन्दोलन चर्काए। त्यस समयमा वीपीलाई तत्कालीन राज्य सत्ताले एक वर्ष कैद पनि गरेको थियो। 

नेपाली जनतामाथि वर्षौंदेखि दमन गर्ने जहानियाँ राणा शासन अन्त्यका लागि उनकै नेतृत्वमा २००७ सालमा आन्दोलन भएको थियो। उक्त अान्दोलनबाट प्रजातन्त्र स्थापना भयो। त्यसपछि बनेको सरकारमा उनी गृहमन्त्री पनि बने। 

वि.सं. २०१५ मा आमनिर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजय प्राप्त गर्‍यो, त्यो पनि दुई तिहाई र उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। तर उनको सत्ता लामो समय टिक्न सकेन। वि.सं. २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि उनको सरकार ढल्यो। उनीलगायत केही नेता पक्राउ गरी जेलमा हालिए भने कतिपय निर्वासित भए।

नेपाली राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलेका नेता कोइरालका तीन छोरा छन्। जेठा छोरा प्रकाश काेइरालालाई २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले वनमन्त्री बनाएका थिए। तर उनी अहिले राजनीतिबाट टाढा छन्। माइला छोरा श्रीहर्ष पनि राजनीतिमा छैनन्। उनी चिकित्सा क्षेत्रमै रमाइरहेका छन्। तर उनको उत्तराधिकारीका रूपमा कान्छा छोरा डा. शशांक कोइराला अहिले राजनीतिमा सक्रिय छन्। उनी नेपाली कांग्रेसका वर्तमान महामन्त्री हुन्। 

बुबाकै सिद्धान्तलाई अनुसरण गर्दै राजनीतिमा आएका शशांकले बुबालाई सधैँ सम्झिने गर्छन्। 'ठूलो मान्छे होइन, असल मान्छे बन्नू' भन्ने वीपीको वाणी सधैँ स्मरण गर्छन् उनी। ‘उहाँ अचम्मको हुनुहुन्थ्यो। हामीलाई सधैँ ठूलो मान्छे होइन, असल बन्नू भनिरहनुहुन्थ्यो। त्यो मलाई मात्र होइन, आम कार्यकर्तालाई नै भन्नुहुन्थ्यो’, उनले भने, ‘उहाँले सधैँ प्रयास गर्नुपर्छ। सफल असफल त पछिको कुरा हो। सफलता प्रयासमा भरपर्छ भन्नुहुन्थ्यो।’ 

वीपीको ३६औँ स्मृति दिवसका सन्दर्भमा थाहाखबरसँग कुरा गर्दै उनका कान्छा छोरासमेत रहेका कांग्रेस महामन्त्री डा. शशा‌ंक कोइरालाले वीपी बहुमुखी प्रतिभाका धनी रहेको बताए। ‘वीपी मल्टिडाइमेन्सनल नेता हुनुहुन्थ्यो’, उनले भने, ‘साहित्यमा पनि उहाँको नाम उस्तै छ। राजनीतिमा पनि उहाँका विचार अहिले पनि उच्च छन्।’

बनारसबाट नेपाल आउँदाको क्षण

२०१७ पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालीन संविधान तथा वीपीको सरकार भंग गरे। त्यसपछि वीपीले बिना मुद्दा आठ वर्ष जेल जीवन बिताउनुपर्‍यो। 

वि.सं. २०२५ मा उनी जेलुमक्त भए तर उनले नेपाल बस्न पाएनन्। उनलाई देश निकाला गरियो। त्यस समयमा उनी भारतको बनारस गएर बसे तर उनलाई अर्काको देशमा बसिरहन मनले मानेन। उनी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किए। नेपाल फर्कनुभन्दा अघि कांग्रेस नेता गणेशमानसिंह र उनीबीच निकै विवाद चलेको रहेछ। वीपी र सिंह एउटा घरमा बस्दा रहेछन्। वीपी देशमा बहुदलीय व्यवस्था ल्याउन आन्दोलन गर्न चाहन्थे तर गणेशमानले भने तत्काल नेपाल फर्कने अवस्था नरहेको बताउने गरेको वीपी पुत्र शशांकले बताए।

‘उहाँहरूबीच निकै लामो छलफल भएको थियो। गणेशमानजीले वीपीलाई नेपाल गएमा हामीलाई फाँसी दिन्छन् भन्नुहुन्थ्यो तर वीपी मान्न तयार हुनुहुन्नथ्यो’, उनले भने, ‘हामी पनि एउटै घरमा बस्ने भएकाले गणेशमानसँग नजिक थियौँ। उहाँ गए त्यो कोठा पनि खाली हुन्छ भनेर मचाहिँ जाने कि नजाने भनेर गणेशमानजीलाई सोधिरहन्थेँ।’ 

छ महिना लामो छलफलपछि गणेशमानले पनि वीपीसँगै नेपाल फर्कने निर्णय गरेछन्। ‘एक दिन गाणेशमानजीको कोठामा जाँदा उहाँ आफ्ना सामान तयार पार्दै हुनुहुँदोरहेछ’, उनले भने, ‘तपाईं नेपाल जाने हुनुभयो भनेर मैले सोधेँ। उहाँले वीपी मेरो नेता हो। उहाँको कुराहरूलाई शिरोधार्य गर्छु भन्नुभयो। नेता र कार्यकर्ताको सम्बन्ध त यस्तो पो हुनुपर्छ। अहिले त खै के भन्ने...!’

वीपी र अहिलेका नेता

नेपाली राजनीतिमा वीपीको नाम सधैँ आउने गर्छ। प्रजातान्त्रिक हुन् या कम्युनिस्ट, सबैले वीपीको योगदानको चर्चा गर्छन्। प्रजातन्त्र स्थापनका लागि वीपीको योगदान असामान्य छ। जीवनको अन्तिम क्षणसम्म संघर्ष गरेका नेता वीपीलाई अहिले केही नेताले आफ्नो आदर्श पनि मान्ने गरेका छन्। 

कांग्रेसका नेताहरू आफूहरू वीपीको मार्गमा हिँडिरहेको दाबी गर्दै आएका छन् तर उनका कान्छा छोरा तथा कांग्रेस महामन्त्री शशांक भने वीपी र अहिलेका नेताबीच आकाश-जमिनको फरक देख्छन्। 

‘अहिलेका नेताहरू सुख खोज्छन् तर वीपीले जीवनकालभरि कहिल्यै सुख खोज्नुभएन’, उनले भने, ‘अहिलेका नेता त मन्त्री/प्रधामन्त्री हुँदा ठूलाठूला घर जोडिहाल्न खोज्छन् तर उहाँले प्रधानमन्त्री हुँदा एउटा घरसम्म बनाउनुभएन। उल्टै प्रधानमन्त्री र मन्त्रीको तलबसमेत घटाउनुभयो।’

‘वीपीको भविष्यवाणी मिल्दै छ’

कांग्रेस संस्थापक नेता वीपीले आफ्ना कार्यकर्तालाई कहिल्यै कम्युनिस्टसँग सहकार्य नगर्नू भनेर बुझाउने गर्थे। यो विषयमा उनीसँग सहकार्य गरेका नेताहरू पनि जानकार छन्। आइतबार कांग्रेसले गरेको कार्यक्रममा पनि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएका थिए।

उनीहरूले वीपीले कम्युनिस्टलाई पहिल्यै चिनेको बताएका थिए। पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि कम्युनिस्टसँग सहकार्य गरेर पार्टी यो अवस्थामा आएको आरोप लाग्ने गरेको छ। स्थानीय तहको निर्वाचनमा बिना कारण तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई सहयोग गरेका कारण कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पराजय भोग्नुपरेको आरोप लाग्ने गरेको छ। 

कम्युनिस्टसँग मिल्दाको भविष्यवाणी पहिल्यै वीपीले गरेको महामन्त्री शशांकको दाबी छ। ‘उहाँले त्यसबेला गरेको भविष्यवाणी अहिले मिल्दै छ’, उनले भने, ‘उहाँले कम्युनिस्टसँग मिल्यो भने कांग्रेसको अस्तित्व समाप्त हुन्छ भन्नुभएको थियो। अहिले मिल्दै छ।’ कम्युनिस्टसँग मिल्दा पार्टी कमजोर अवस्थामा पुगेको उनको धारणा छ। ‘२०४६ सालमा मिलेर आन्दोलन गर्‍यो, त्यसको फाइदा कम्युनिस्टलाई पुग्यो। २०५१ मा उनीहरू सत्तामा आए, त्यसपछिका घटना त हामीले देखेकै छौँ। यस पटक पनि त यही भएको हो नि।’

साढे तीन सयमा शशांकको विहे!

वीपी आर्थिक रूपमा निकै पारदर्शी थिए। उनी नचाहिने खर्च कहिल्यै गर्दैनथे। पार्टीका कार्यकर्ता होस् या आफ्नै परिवारका सदस्य हुन्, कसैलाई पनि बिना काम उनी पैसा दिँदैनथे रे! उनका कान्छा छोरा शशांकको विवाह नै साढे तीन सय रुपैयाँमा गरिदिएका थिए रे वीपीले। ‘मेरो विवाह गर्दा २०३६ सालमा साढे तीन सयमा भएको थियो’, शशांकले भने, ‘विवाहमा आउनेलाई चिया र समोसा मात्र खवाएका थियौँ।’

शशांकलाई आफ्नो विवाह धुमधामका साथ गर्ने मन रहेछ तर वीपीले भने बिना काममा पैसा खर्च गर्न नहुने बताएछन्। ‘उहाँले मलाई विवाहमा मान्छे बोलाउनु भनेको प्रमाणका लागि हो भन्नुहुन्थ्यो’, उनले भने, ‘त्यही भएर खर्च गर्नुहुँदैन। म प्रमाणका लागि ठूल्ठूला मान्छे बोलाइदिन्छु भन्नुभएको थियो उहाँले।’

शशांकले विवाहको बेला दौरा-सुरुवाल पनि बुबाकै लगाएका रहेछन्। ‘मलाई कोट-पाइन्ट लगाउने मन थियो तर उहाँले दौरा-सुरुवाल लगा भन्नुभयो’, उनले भने, ‘तर मसँग दौरा-सुरुवाल थिएन। उहाँले मेरै लगा भन्नुभयो र बुबाको दौरा-सुरुवाल लगाएर बिहे गरेँ।’

छोरा शशांकको विवाहको निमन्त्रणा कार्ड पनि वीपीले आफ्नै हातले लेखेका थिए रे!  वीपी पैसाको मामिलामा निकै सतर्क थिए रे! आफ्नो परिवारका सदस्यलाई पनि आवश्यकताभन्दा बढी पैसा कहिल्यै नदिने गरेको शशांक बताउँछन्। 

‘म एक पटक बनारसबाट काठमाडौं आउने भएँ। बुबालाई भाडा मागेँ तर उहाँले ६० रुपैयाँ मात्र दिनुभयो। मैले मानिनँ र फालिदिएँ। उहाँले एक जना कार्यकर्तालाई बोलाएर कति लाग्छ भनेर सोध्नुभयो’, शशांकले भने, ‘ती कार्यकर्ताले ५५ रुपैयाँ ५० पैसा लाग्छ भन्नुभयो। मैले वीपीलाई कार्यकर्तालाई पो त्यति दिने त म त छोरा हुँ नि भनेँ तर उहाँले छोरा भएर पाँच रुपैयाँ बढी पाएको बताउनुभयो। त्यसपछि उहाँले कागजमा लेखेरै काठमाडौं आउने खर्च विवरण बुझाउनुभयो मलाई।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.