|

बागलुङ : प्लास्टकक एनिमिया अर्थात् शरीरले रगत उत्पादन नगर्ने समस्या भएका बागलुङका पत्रकार विजय राना आइतबार अत्यन्तै खुसी देखिए। शरीरको पीडालाई लुकाएर उनी मुहारमा चमक ल्याइरहेका थिए। सहयात्रीहरुले राहत बोकेर आफन्तको कोठामा बसेका रानालाई भेट्न पुग्दा उनको मनमा हर्षको सीमा थिएन।

‘साथीहरूले राहत बोकेर कोठामै आउनु भो, मेरो मन हर्षले थामिएन’ रानाले भने ‘अग्रजहरुसहित आएको टोलीलाई देखेर न त बोल्न सकेँ न त रुन नै।’ उनले अब आफ्नो उपचारमा समस्या नहुने भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए। ‘जीवनको उर्जाशील समय पत्रकारितामा बिताएँ, सामाजिक काम प्राथमिकतामा परे पैसा सञ्चय गर्न सकिएको थिएन’ रानाले भने ‘खर्चको अभावमा उपचार पाइँदैन कि भन्ने थियो, सहयोगीहरूका कारण अब उपचार पाउनेमा शंका रहेन।’ उनले पत्रकार महासंघलगायतका संस्थाले चलाएको सहयोग अभियानका कारण आफूलाई लागेको आधा रोग निको भएको बताए।
 
नेपाल पत्रकार महासंघ बागलुङको टोली रानालाई भेट्न आफूले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित रकम बोकेर काठमाडौं पुगेको थियो। देख्दा सामान्य लाग्ने तर जटिल समस्या बोकेका मध्यम वर्गीय परिवारका रानाको उपचारमा ठुलो रकम खर्च हुने भएपछि पत्रकार महासंघले रानाको उपचारको लागि सहयोग अभियान चलाएको थियो। जारी रहेको अभियानमा हालसम्म संकलित रकम बोकेर जिल्ला अध्यक्ष दिल शिरीष नेतृत्वको टोली काठमाडौं पुगेको हो।

टोलीले रानाको उपचारमा सहयोग गर्न चलाइएको अभियानमा संकलन भएको ६ लाख ३७ हजार ५०० रुपैयाँ आइतबार उनी बसेको काठमाडौंको सुन्धारास्थित कोठामा नै पुगेर बुझाएको छ। काठमाडौं पुगेको टोलीले नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिल नेपाललगायतका सम्बन्धित संस्थाबाट समेत सहयोग रकम संकलन गरेर रानालाई एकमुष्ठ बुझाएको छ।

‘बागलुङमा संकलन भएको रकम बोकेर आएका थियौं’ शाखा अध्यक्ष दिल शिरिषले भने ‘काठमाडौंमा रहँदा पनि अभियान जारी राखेका छौँ, रकम संकलन हुने क्रम जारी नै छ।’ शिरिषका अनुसार, सोमबार महासंघको टोलीले स्वास्थ्य मन्त्रीलाई भेटेर रानाको उपचारमा सहयोग गर्न आग्रह गर्ने छौँ।’ पहिलो चरणमा संकलित रकम बुझाइएको र अभियान जारी रहेकाले अब संकलन हुने रकम दोस्रो चरणमा बुझाउने योजना रहेको शिरिषले बताए।
 
रानाको उपचारका लागि सुरुमा १५ देखि २० लाख लाग्ने भनिए पनि १७ लाख रुपैयाँ खर्च भइसकेको छ। रानाले सातामा ८० हजार रुपैयाँको औषधी खानुपर्ने चिकित्सकहरूले बताएका छन्। उनको उपचारमा २७ लाखसम्म खर्च हुन सक्ने अस्पताल स्रोतले बताएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.