|

काठमाडौं : तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै जुम्लादेखि हाल काठमाडौंमा १५औँ अनसन बसेका डा. केसीले हालसम्मकै रेकर्ड तोडेका छन्।

गत असार १६ गतेदेखि जुम्लाबाट सात बुँदे मागसहित डा. केसीले अनसन सुरु गरेको सोमबार २४ दिन पुगेको छ। २०७४ साउन ९ गतेदेखि ३१ गतेसम्म डा. केसीले २३ दिन लामो अनसन बसेका थिए।

यसअघि १४ पटकसम्म अनसन बस्दा डा. केसी सबैभन्दा बढी २३ दिनसमम्म अनसन बसेका थिए। केसीले पुरानो आफ्नो रेकर्ड यस पटक तोडेका छन्।

कुन अनसनमा कति दिन?

आफ्नो पहिलो अनसनदेखि नै चिकित्सा शिक्षाको सुधारको माग राख्दै आएका डा. केसीले पहिलो असनसन २०६९ असार २१ गते बसेका थिए, जुन चार दिनमै टुंगिएको थियो।

पहिलो अनसनमा पाँच बुँदे माग राख्दै वरिष्ठता र कार्यक्षमताका आधारमा मात्र पदाधिकारी नियुक्ति गर्नुपर्ने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मागलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूरा गर्ने वाचा गरे।

डा. कुमुदकुमार काफ्ले वरिष्ठताको आधारमा डिन नियुक्त भएपछि केसीले पाँचौँ दिनमा अनसन तोडेका थिए भने वरिष्ठताका आधारमा डिन नियुक्त गरिएका काफ्लेलाई त्रिविले नस्वीकारेपछि त्यही विषयमा केसी फेरि आक्रोशित थिए। काफ्लेको पदावधि सकिएको भोलिपल्टै ०६९ साउन २७ गते केसीले दोस्रो अनसन सुरु गरे।

दोस्रो पटकको अनसन सात दिनमा तोडियो। यस्तै, ०७० पुस २७ देखि तेस्रो अनसन बसेका डा. केसीले अनसनको १४ दिनपछि चार बुँदे सम्झौता गरेर अनसन स्थगित गरेका थिए भने ०७० माघ २५ मै चौथो अनसन बसेका केसीले अनसनको आठौँ दिनमा पाँच बुँदे सहमति गर्दै अनसन तोडेका थिए।

२०७० फागुन ८ गते १० बुँदे माग राख्दै पाँचौँ अनसन बसेका केसीले अनसनको ११औँ दिन फागुन १९ गते पाँच बुँदे सहमतिमा अनसन स्थगित गरेका थिए। ०७२ भदौ ७ गते एमबिबिएसमा तीन वर्षभित्र अधिकतम १०० सिट संख्या हुनुपर्नेलगायतका माग राख्दै छैठौँ अनसन बसेका केसीले १९ दिनमा अनसन तोडेका थिए।

यस्तै, ०७२ असोज २ गते सातौँ अनसन बसेका केसीले अनसनको १० दिनमा अनसन अन्त्य गरेका थिए। ०७३ असार १० गतेदेखि आठौँ अनसन बसेका डा. केसीले अनसनको १६ दिनपछि अनसन तोडेका थिए।

सबैभन्दा लामो अनसन एघारौँ

२०७२ असोज १२ गतेदेखि नवौँ अनसन बसेका केसीले दशैँलाई मध्यनजर राख्दै अनसनको १२औँ दिनपछि दशैँसम्मका लागि अनसन स्थगित गरेका थिए। ०७३ कार्तिक २८ गते तत्कालीन अख्तियार प्रमुख लोमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहित आठ बुँदे माग राख्दै दशौँ अनसन बसेका केसीले अनसनको १५ दिनभित्र एक उच्चस्तरीय अनुगमन समिति गठन गर्ने लगायतका सहमतिपछि मंसिर २२ गते अनसनको २२ दिनमा अनसन तोडेका थिए।

यस्तै, ०७४ साउन ९ गते विगतमा भएका सम्झौता पूरा गर्नुपर्नेलगायतका माग राख्दै अनसन बसेका केसीले २३ दिनपछि अनसन तोडेका थिए भने ०७४ असोज ९ गते संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित हुन लागेको भन्दै बाह्रौँ अनसन बसेका थिए। तर सरकारलाई १९ दिनको अल्टिमेटम दिएर अनसनको दुई दिनमा नै तोडेका थिए। केसीले ०७४ असोज १९ गते तेह्रौँ अनसन बसेका थिए, जुन अनसन १४औँ दिनपछि स्थगित भएको थियो। ०७४ पुस २९ गते १४औ पटकको अनसन तोडेका थिए।

१५औँ अनसनको २४औँ दिन स्वास्थ्य अवस्था नाजुक

२०६९ सालयता १५ पटकसम्म अनसन बसेका डा. केसीको १५औँ अनसनको २४ दिनसम्म आइपुग्दा स्वास्थ्य अवस्था भने निकै कमजोर बन्दै गएको छ। जुम्लामा पुगेर १५औँ अनसन सुरु गरेका केसीलाई उनलाई हेरिरहेको मेडिकल टिमले स्वास्थ्य अवस्था कमजोर रहेको र त्यहाँ उपचार गर्ने क्षमता नरहेको बताएपछि उनको जीवन रक्षाका लागि भन्दै २०औँ दिनमा उनलाई काठमाडौं ल्याइएको थियो।

आफूलाई अपहरणको शैलीमा काठमाडौं ल्याइएको भन्दै डा. केसीले हाल कुनै पनि उपचार सेवा लिन मानेका छैनन्, जसले गर्दा चार दिनयता उनको कुनै पनि स्वास्थ्य परीक्षण गरिएको छैन।

यसअघि गत असार ३२ गते सरकारले डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। सरकारले टोली गठन गरेलगत्तै डा. केसीको तर्फबाट डा. अभिषेकराज सिंहको संयोजकत्वमा तीन सदस्यीय टोली गठन भएको थियो र टोली गठन भएकै दिनबाट तीन चरणसम्म वार्ता भए पनि हाल वार्ता रोकिएको छ।

डा. केसी पक्षले सचिवस्तरको वार्ता टोलीलाई म्यान्डेट नभएको भन्दै मन्त्रीस्तरीय टोली हुनुपर्ने माग गरेको छ। सरकारले भने अहिलेकै टोलीसँग वार्ता गर्न दबाब दिँदै आएको छ। दुवै पक्षको अडानका कारण तत्काल सहमति हुने सम्भावना देखिएको छैन तर पनि यसबीचमा सरकारी पक्षसँग अनौपचारिक वार्ता भइरहेको केसीको तर्फबाट वार्तामा सहभागी हुँदै आएका एक सदस्य प्रीतम सुवेदीले बताए। उनले भने, 'पाँच दिनयता औपचारिक रूपमा कुनै पनि वार्ता भएको छैन तर अनौपचारिक रूपमा भने वार्ता भइरहेको छ। पछिल्लो पटक नेकपाका नेता तथा परराष्ट्रमन्त्री पदिप ज्ञवालीसँग अनौपचारिक छलफल भएको थियो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.